Monday, January 18, 2021

सभामा सुन्तला बाड्ने भूमीजंग र कर्णको 'फ्यान' कृष्ण: सफल उद्यमीको कथा


सभामा सुन्तला बाड्ने भूमीजंग र कर्णको 'फ्यान' कृष्ण: सफल उद्यमीको कथा


- कमल थापा



स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारबाट सिद्धार्थ राजमार्ग अन्तर्गत करिव ३० मिनेट मोटरमा यात्रा गरेपछि आईपुग्ने ठाउँ हो- करेनडांडा। यही करेनडांडामा भूमीजंग केसीको कृषि फार्म रहेको छ। ८५ बसन्त पार गरेका केसीले करिव तीन दशक अगाडि व्यवसायिकरूपमा कृषि पेशा शुरू गरेका हुन्। ५३ रोपनी जग्गामा फैलिएको उनको फार्ममा दुई हजारभन्दा बढी सुन्तलाका बोटहरू छन्। घर नजिकैको  भिरालो डांडामा रहेको उनको फार्म सुन्तलाको सिजनमा पहेंलो जंगल जस्तो देखिन्छ। बर्षको ३५/४० लाखको त उनी सुन्तला मात्र बिक्री गर्छन्। सुन्तलाको अतिरिक्त उनको फार्ममा कफी, कागती, अनार लगायत थुप्रै जातका फलफूल रहेका छन्। 





 केही बर्ष अघि सम्म उनको बारीको कफी जापानमा समेत निर्यात हुने गरेको थियो। तर,आजकल उनले कफी बेच्न कतै जानु परेको छैन। उनका कान्छा छोरा कृष्ण केसीले घर नजिकै एक क्याफे खोलेका छन्। सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने प्रायः सबैको ध्यान आकर्षित गर्ने गरेको छ- कृष्णको 'रोडसाईड क्याफे'ले। बिशेष गरी कफी पारखी हरूको लोकप्रिय गन्तव्य बनेको छ-रोडसाईड क्याफे। काठमाडौंबाट पश्चीमा मुलुकका राजदूतहरु पनि यदाकदा उनको क्याफेमा कफी पिउन आएको सगर्व उल्लेख गर्छन् कृष्ण केसी।

कृष्ण केसी कफी व्यापारी र क्याफे संचालक मात्र होइनन्, कफी उनको भावनात्मक लगावको विषय वा 'प्याशन' पनि हो। केही बर्ष बेलायत प्रवासमा रहंदा कफी प्रति उनको अभिरुचि बढदै गएको हो। त्यही अभिरुचि बोकेर कृष्ण नेपाल फर्के। नेपाल फर्कन उनलाई अभिप्रेरित गर्ने व्यक्ति हुन् पर्यटन व्यवसायी तथा प्रेरक उद्यमी कर्ण शाक्य। बेलायतमा रहंदा वा त्यस अघि कृष्णले कर्णलाई भेटेका थिएनन्। कृष्णलाई कर्णसंगको चिनाजानी गरायो- कर्ण शाक्यको लोकप्रिय पुस्तक 'सोच' ले। उक्त पुस्तक कृष्णले एक आफन्त मार्फत बेलायतमा रहंदा पढ्ने अवसर पाए। सो पुस्तक नै कृष्णलाई स्वदेश फर्कन शक्तिशाली प्रेरणाको श्रोत बन्यो। नेपाल फर्के पछि उनी कर्ण शाक्य भेट्न शाक्य निवास हात्तीसार पुगे। कर्णसंगको पहिलो भेटले कृष्णलाई देशमै बसेर काम गर्न थप प्रोत्साहन गर्‍यो। कर्णले कृष्णलाई आफ्ना थप पुस्तकहरू पनि पढ्न दिए। कर्णसंगको संगत र पुस्तक अध्ययन पछि कृष्ण कर्णको 'फ्यान' भए। आजकल कर्णलाई उनी आफ्नो गुरू मान्दछन्।

कर्ण कै प्रेरणाको प्रतिफल हो- रोडसाईड क्याफे। आफ्नो गुरु प्रतिको सम्मान वा गुरु दक्षिणा स्वरुप कृष्णले कर्णको नाममा कफीको ब्राण्ड नै बनाएका छन्।रोडसाईड क्याफेमा पाईने सबै भन्दा बढी महंगो कफी हो-'कर्ण कफी'। कर्ण कफी एक कपको चार सय रुपैयाँ पर्दछ। 

क्याफेमा कृष्ण कफीको व्यापार मात्र गर्दैनन्, कफीका वारे 'रिसर्च' र प्रयोग पनि गर्छन्। आईरिस कफीमा विभिन्न प्रकारका वाईन मिसाएर उनले आफ्नै नयाँ ब्राण्ड पनि तयार गरेका छन्। कफीमा हाल्न उनले विभिन्न फलफूलका वाईनहरू आफैले बनाएका छन्।

कफी सम्वन्धि अध्ययन र क्याफे संचालन संगै केही बर्ष अघि स्याङ्जा जिल्लाको सोरेक भन्ने ठाउँमा कृष्णले व्यवसायिक प्याराग्लाईडिङ पनि शुरु गरेका छन्। उनी आफै प्याराग्लाईडिङको शिद्धहस्त पाईलट पनि हुन्। 

कान्छा छोराको उद्यमबाट पिता भूमीजंग केसी खूसी नहुने कुरै भएन।तर, व्यापार व्यवसाय भन्दा कृष्णको ध्यान अध्ययन अन्वेषणको रमाइलोमा बढी रमाएको देख्दा कतै व्यवसाय डुब्ने र छोरा बरालिने हो कि भन्ने चिन्ता उहाँमा रहेको देखिन्छ। तीन छोराहरू मध्य दुई अमेरिकामा स्थायी बसोबास गरी सकेका र एउटी छोरी पनि बेलायत मै घरजम गरेर बसेको हुंदा कृष्ण देश भित्र र आफ्नै घर आंगन र काखपोल्टामा बसेको पाउंदा उनी आनन्दित छन्। सुर्यास्तको घाम भैसकेको आफ्नो र जीवन संगिनीको जीवनमा कृष्ण माथि उनको ठूलो भरोसा छ।

यिनै भूमीजंग केसी राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा जिल्लाको अध्यक्ष हुन्। ८५ बर्षको उमेरमा पनि पार्टीको काममा उनको सक्रियता प्रशंसनिय र उदाहरणीय छ। पार्टीको भेला वा सभामा उपस्थित सबैलाई बारीको सुन्तला खाजा ख्वाउन उनी कहिले काँही एकाध क्विन्टल सुन्तला बोकेर पुतलीबजार आएको मैले देखेको छु। देशलाई हृदयदेखि मायाँ गर्ने भूमी पुत्र भूमीजंग केसी एक सफल उद्यमी र ईमान्दार व्यक्ति हुन्। देशको बिकास गर्ने हो भने प्रत्येक नेपालीले कुनै न कुनै उद्यम गर्नैपर्छ, जनता धनी भए देश समृद्ध हुन्छ भन्ने भूमीजंग केसीको मान्यता सबैका लागि अनुकरणीय छ।