Sunday, June 13, 2021

राप्रपाको वर्तमान चुनौति र भावि कार्यदिशा

 राप्रपाको वर्तमान चुनौति र भावि कार्यदिशा

- कमल थापा

यदाकदा देखिने ‘भाईरस’ प्रवृत्तिबाट पार्टीलाई जोगाउन सक्यौ भने राजसंस्थासहितको लोकतन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई देशको अग्रणी शक्ति बनाउन समय लाग्दैन । गणतन्त्र,संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट समाप्त हुनु अबश्यंभावि छ । विगतका घटनाक्रम यो यथार्थको प्रमाण हो ।


२०६२/६३ को आन्दोलन पछि दरवार र आन्दोलनकारी शक्तिका बिचमा भएको समझदारी विपरित बाह्र बुंदे सम्झौताको आधारमा षडयन्त्रपूर्वक राजसंस्थालाई पाखा लगाउने र हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने काम गरियो । 


त्यसवखत प्रायः सबै राजनीतिक दलहरू, नागरिक समाज र बुद्धिजिवि वर्ग गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा एकोहोरिएका थिए । देशले भोग्नु परेका सबै समस्याहरूको अचुक रामवाण औषधि गणतन्त्र र धर्मनिरपेक्षता हो भन्ने मनोवैज्ञानिक भ्रमले नेपाली समाज प्रभावित भएको थियो । 


वितगमा राजासँगै काम गरेका र राजाको निगाहबाट विभिन्न सुविधा र लाभको पद पाएका व्यक्तिहरू समेत जनताको चाहना र समयको माग भन्दै गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा खडा हुन पुगे ।


उपरोक्त परिस्थितिमा बाह्र बुंदे सम्झौताको बाटो गलत छ, परिवर्तनको नाममा  लादिएका अवधारणा त्रुटिपूर्ण छन् भन्ने मान्यतामा खडा हुने एउटै मात्र दल राप्रपा नेपाल मात्र थियो । हामीले राष्ट्रियता,प्रजातन्त्र र उदारवादको बृहत चिन्तनमा आधारित ‘सम्बर्द्धनवाद’को बैचारिक दर्शनको जगमा वैकल्पिक शक्ति निर्माण गर्ने प्रयास गर््यौ । राजसंस्थासहितको प्रजातन्त्र र सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्रको वैकल्पिक अवधारणालाई मुख्य एजेण्डाकारूपमा अघि बढायौ ।


राजनीतिक लाभ वा पदको आशा नराखि सिद्धान्तनिष्ठ राजनीति गर्न चाहने निस्वार्थभाव भएका कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरूको अथक परिश्रमको परिणामस्वरूप छोटो समयमा नै राप्रपा देशको एक प्रमुख शक्तिकारूपमा देखिन थाल्यो । 


संविधानसभाको दोस्रो निर्वाचन पछि राप्रपा नेपालको चौथो ठूलो शक्ति बन्यो । राप्रपा नेपाल र सो पार्टीले लिएको बिचारलाई हेर्ने नेपाली समाजको दृष्टिकोणमा गुणात्मक परिवर्तन भयो । अन्तर्राष्ट्रिय समुदायले पनि राप्रपा नेपाललाई ‘नोटिस’मा लिन थाले ।


सदन र सडकमा राप्रपा नेपालको अथक संघर्ष र प्रयासका वावजुद हामीले संविधानमा राजसंस्था र हिन्दुराष्ट्र लेखाउन सकेनौँ । छ सय एक जनाको संविधानसभामा पच्चिस जना सभासदको प्रयास अरण्यरोदन सावित भयो । बिचार बलियो भए पनि संख्याको कमीले गर्दा हामी पराजित भयौँ ।


संविधान जारी भए पछि हामीले प्रजातान्त्रिक मान्यता अनुरूप संविधानलाई आलोचनात्मक समर्थन गर्दै संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने रणनीति अवलम्बन गर््यौँ ।


यो रणनीति अनुरूप अघि बढदा चुनावमा राम्रो परिणाम ल्याउनु आबश्यक थियो । त्यसको निम्ति पार्टी बलियो बनाउनु पर्छ भन्ने सोच अनुरूप हामीले दुईवटा कार्यनीति लियौँ । 


पहिलो- सरकारमा सहभागी हुने, दोस्रो- समान बिचारधारा भएका पार्टीसँग एकता गर्ने । यी दुवै काम हामीले गर््यौ, तर परिणाम सुखद भएन । यो कार्यनीति प्रत्युपादक ठहरियो । 


राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टी सरकारमा गएको हाम्रा सहयोगी, शुभचिन्तक र मतदाताहरूलाई चित्त बुझेन । कमजोर बैचारिक प्रतिवद्धताको धरातलमा गरिएको पार्टी एकता टिकाउ हुन सकेन । यस वाहेक हाम्रा अरू पनि केही गल्ति भए । फलस्वरूप निर्वाचनमा नराम्रोसमग पराजित भयौँ ।


धेरै बर्ष अघि नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाले- ‘’ पार्टी सत्तामा गएपछि सिद्धान्त कमजोर हुन्छ र पार्टी सुकिला मुकिलाको कब्जामा पुग्छ’’ भनेको म सम्झन्छु । वास्तवमा बिपिको यो भनाई राप्रपा नेपालमा पनि चरितार्थ भयो । 

विगतमा विना स्वार्थ पार्टीमा लागेका कतिपय साथीहरू पार्टी सत्तामा पुगेपछि लोभी पापी, स्वार्थी र सुविधाभोगी हुन पुगे । जीवनमा कहिल्यै वडा अध्यक्षको चुनाव नजितेका र जित्ने संभावना पनि नभएकाहरूलाई तत्कालिन परिस्थितिमा सांसद, मन्त्रि बनाईयो । आखिर तिनीहरूले नै पार्टीलाई घात् गरे ।


चुनावमा अत्यन्त निराशाजनक परिणाम आएपछि विगतका त्रुटी र कमजोरीबाट पाठ सिकेर हामी अघि बढ्नु पर्थ्यो । तर, त्यसको ठीक विपरित पहिले जे गल्ती गरेका थियौँ, फेरी त्यही दोहर््यायौँ । 


दोस्रोपटक भएको पार्टी एकिकरण पछि एकताको भावना र उदेश्य अनुरूप हामीले अपेक्षाकृत गति लिन सकेका छैनौँ । जसरी भए पनि एकता गर्नु पर्छ भन्ने दवावमा हामीले अस्वभाविक र अव्यवहारिक प्रावधान कायम गरेका छौँ । तिनवटा घोडाले तानेको रथले कदापि गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । तिव्र गति लिन नसके पनि सामान्य गतिमा हिंडला भन्ने अपेक्षा गरेका थियौँ । 


एकातिर अहिले कांग्रेस र कम्युनिष्ट प्रति आमजनतामा व्यापक वितृष्णा छ, जनताले विकल्प खोजिरहेको छ । तर, बैचारिक एवं सांगठानिकरूपमा कांग्रेस र कम्युनिष्टको विकल्प बन्न सक्ने क्षमता भएको राप्रपा हाल अनिर्णयको बन्दी भएको छ । 


अर्कोतर्फ देश चुनावको संघारमा पुग्न लागेको छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा छ । अदालतले विघटन सदर गरे आगामि २०७८ साल मंसिरमा संसदको चुनाव हुन्छ । अदालतले संसद पुनःस्थापना गरे पनि स्थानिय तहको चुनाव फागुनमा हुँदैछ । अहिलेको गतिहिन अवस्थामा चुनावमा कसरी जाने? स्थानिय चुनावमा राम्रो गर्न सकेनौ भने त्यसको नकारात्मक प्रभाव संघ र प्रदेशको चुनावमा पर्छ । मलाई सम्झँदा पनि कहाली लाग्छ । यदाकदा देखिने मेरो छटपटाहट त्यसैको परिणाम हो ।


त्यसर्थ, राप्रपाको निम्ति अबको कार्यदिशा देहाय बमोजिम हुनुपर्छः

क) राप्रपाले अब सत्ताकेन्द्रित होईन, बिचार र सिद्धान्त केन्द्रित राजनीतिमा आफुलाई समर्पित गर्नुपर्छ । कुनै भवितव्य आईलागेर सरकारमा जान पाईन्छ कि भन्ने मनस्थितिबाट मुक्त हुनुपर्छ ।

(ख) पार्टी एकता अक्षुग्ण तुल्याउनु पर्छ । 

(ग) कोरोना महामारीको प्रकोप कम हुने वित्तिकै पार्टीको महाधिवेशन सम्पन्न गर्नु पर्छ । 

(घ) अहिले देखि नै स्थानिय तहको चुनावको तयारी गर्नु पर्छ ।

जस्तोसुकै अवस्था र पृष्ठभूमीमा पार्टी एकिकरण भएको भएता पनि अब कुनै पनि हालतमा एकतालाई जोगाएर राख्नु पर्छ । यसवारे म पूर्णरूपले सचेत छु । 


पार्टी एकताको निम्ति नैतिक वन्धन कायम गर्न एकता घोषणासभामा मैले आफूले पनि गिता छोएर कसम खाएका छु तथा अन्य दुई अध्यक्षहरूलाई पनि  कसम खान लगाएको छु । पार्टी एकता भाँडिएला भन्ने डरले राप्रपाको लोकप्रिय चिन्ह ‘गाई’ पनि हामीले छोडन वाध्य भएका छौँ । 


अब पार्टी एकता कायम रहने वारे म ढुक्क छु । ढिलो चाँडो राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना हुने वारे पनि म बिश्वस्त छु । पार्टीमा यदाकदा देखिने ‘भाईरस’ बाट जोगिने र विद्यमान निस्क्रियताबाट मुक्त हुने विषय मेरो अहिलेको चिन्ता हो ।


शुरूमा राप्रपा नेपालमा त्यति धेरै विकृतिहरू थिएनन् । सबै सिद्धान्तको लडाईमा होमिएका थिए । त्यो अस्तित्व जोगाउने संघर्षको बेला थियो । कार्यकर्ता नेता सबै समर्पित भएर लागेका थिए । जब पार्टी ठूलो हुँदै गयो, विकृति बढ्दै गए तथा ‘भाईरस’को विगविगि पनि त्यही अनुपातमा बढ्न थाल्यो । 


पार्टी ठूलो हुँदै जाँदा विभिन्न स्वभाव, चरित्र र स्वार्थका व्यक्तिहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपामा हाल बैचारिक अर्थात राजसंस्था र हिन्दुराष्ट्र प्रति आस्थाको हिसाबले तिन धारका व्यक्तिहरू छन् । पहिलो धारमा - राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा राप्रपाको भोट बैंक हो भन्ने मात्र मान्यता राख्नेहरु छन् । यसधारका व्यक्तिहरूमा राजसंस्था र व्यक्तिगतरूपमा राजा प्रति गहिरो आस्था, बिश्वास र सम्मान छैन । हिन्दुत्वको बैचारिक गहिराईको अध्ययन वा बुझाई छैन । सामान्य कर्मकाण्ड वाहेक हिन्दु संस्कार र परम्पराको पालना समेत गर्दैनन् । विगतमा गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिएका र सगर्व मतदान समेत गरेका नेताहरू, जो भोट बैंकको आशामा राप्रपामा आएका छन्, उनीहरू यस धारमा पर्छन् । उनीहरू राजसंस्था र हिन्दुराष्ट्र आए पनि ठीक, नआए पनि ठीक भोट आउन्जेल यो एजेण्डा छोड्नु हुन्न भन्ने धारणा राख्छन् ।


दोस्रो धारमा - आफूलाई राजा भन्दा बढी राजावादी ठान्ने र कर्मकाण्डी हिन्दुवादीहरू पर्छन् । उनीहरूका निम्ति राजसंस्था र हिन्दुराष्ट्र बैचारिक वा सैद्धान्तिक विषय नै होईन । उनीहरू राप्रपालाई राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना समितिकोरूपमा सिमित गर्न चाहन्छन् । 


तेस्रो धारमा - राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्वर्द्धनवाद’ को महत्वपूर्ण बैचारिक आधारस्तम्भकोरूपमा राजसंस्था र हिन्दुराष्ट्रलाई आत्मसात गर्छन् । राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्रको मान्यतालाई सबल र समृद्ध नेपाल निर्माणको अपरिहार्य आधार हो भन्नेहरू यस धारमा पर्छन । उनीहरू सम्वर्द्धनवादको बैचारिक धरातलमा देशको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरण गर्नु पर्छ भन्ने सैद्धान्तिक मान्यता राख्छन् । राजसंस्था प्रजातान्त्रिक व्यवस्था कै एक अंग हो तथा हिन्दुत्व हाम्रो परिवार, समाज र राज्यव्यवस्थाको आधारस्तम्भ हो भन्ने बिश्वास गर्छन् ।


पहिलो धार नितान्त अवसरवादी धार हो । दोस्रो धारले राजा र हिन्दुराष्ट्रको पुनःस्थापनालाई मात्र आफ्नो अभिष्ट मान्दछ, त्यसपछि के गर्ने भन्ने सोचाई छैन । तेस्रो धारको निम्ति राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको जगमा सबल र समृद्ध नेपाल निर्माण मुख्य ध्येय हो ।


उपरोक्त पृष्ठभूमीमा राप्रपाको आत्मा तेस्रो धार हो भन्ने बुझ्नुपर्छ । यद्यपि सबै बिचारगत भङ्गाला राप्रपाको मुलधार कै अंगहरू हुन् । उनीहरू सबैलाई एकतावद्ध गरेर लैजानु पर्छ । यदाकदा पहिलो र दोस्रो धारका पक्षधरहरूले कहिले मिलेर वा कहिले एक्ला एक्लै राप्रपाको आत्मा र राष्ट्रिय लक्ष्यलाई कमजोर एवं विचलित पार्न खोज्छन् । 


पार्टी भित्रको यो बैचारिक अन्तर्द्वन्दबाट जोगिएर अघि बढ्न सक्दा मात्र राष्ट्रिय राजनीतिमा राप्रपाको अलग पहिचान कायम हुनसक्छ । राजसंस्था र हिन्दुराष्ट्रलाई भोट बैंक ठान्ने तथा पार्टीलाई केवल राजा र हिन्दुराष्ट्रको पुनःस्थापन समिति बनाउन खोज्नेहरूलाई पार्टीको मूल आत्मामा समाहित गरेर उनीहरूलाई समेत सैद्धान्तिकरण गर्नु राप्रपा भित्रको वर्तमान चुनौति हो ।