निष्ठावान राजनेता कीर्तिनिधि विष्ट
:: कमल थापा ::
•••
२०२१-०२२ सालतिरको कुरा हो; पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टका छोरा शारदा विष्ट मेरो स्कुल पढ्दाका सहपाठी मित्र हुनुहुन्थ्यो । हामी त्यस बेला सेन्ट जेभियर्स स्कुलमा कक्षा तीनका विद्यार्थी थियौं । एकदिन पकनाजोलस्थित शारदाको घरमा जाने सौभाग्य मलाई प्राप्त भएको थियो । शारदाको बुवा त्यसबखत उपप्रधानमन्त्री हुनुहुन्थ्यो र उहाँले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी बहन गर्नुभएको थियो । म शारदाको घर गएको त्यसै दिन उहाँ संयुक्त राष्ट्रसङ्घको बैठकमा भाग लिन अमेरिका प्रस्थान गर्ने तयारीमा हुनुहुन्थ्यो । सोही दिन मैले पहिलो पटक कीर्तिनिधि विष्टलाई देख्ने अवसर प्राप्त गरेको हो । अहिले पनि मेरो मन मस्तिक र आँखामा त्यस बेला देखेको विष्टको अनुहार झल्झल्ती ताजा भएर अडिएको छ । अग्लो, सुन्दर र सौम्य व्यक्तित्वका रूपमा मैले त्यस बेला उहाँलाई देखेको थिएँ ।
पछिल्ला दिनमा जब म विद्यार्थी राजनीतिमा क्रियाशील हुन थालेँ, कीर्तिनिधी विष्टसँग भेटघाट गर्ने, विचारको आदानप्रदान गर्ने धेरै अवसरहरू मैले प्राप्त गरेँ । उहाँको शालीन व्यक्तित्व, खरो स्वभाव, स्पष्ट अभिव्यक्ति एवं मर्यादित व्यवहारले हामी युवा बिद्यार्थीलाई सजिलै आकर्षित गर्ने गर्थ्यो ।
नेपालको राजनीतिक इतिहासले कीर्तिनिधि विष्टलाई एउटा इमान्दार, असल र राष्ट्रबादी नेताको रुपमा सदैव सम्झना र सम्मान गरिरहनेछ । विष्ट नैतिकता, इमान्दारिता र राष्ट्रियताको त्रिवेणी हुनुहुन्थ्यो ।
कीर्तिनिधि विष्टलाई धेरैले आदरपूर्वक ‘कीर्ति बाबु’ भनि सम्बोधन गर्थे र गरिरहेका छन् ।
आफ्नो लामो राजनीतिक जीवनको यात्रामा कीर्ति बाबुले सदैव नेपाल र नेपाली जनताको हीतलाई उच्च प्राथमिकतामा राख्नु भयो । सत्तामा रहँदा होस् वा सत्ता बाहिर रहेका बेला होस्, उहाँले सदैव नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र स्वाभिमानलाई सबल र सुदृढ तुल्याउन निरन्तर परिश्रम गरिरहनु भयो । उहाँको राजनीतिक जीवनको सम्भवतः सबैभन्दा महत्वपूर्ण, उत्कर्ष वा उपलब्धि २०२५ सालमा नेपालको उत्तरी सीमामा रहेका भारतीय ‘चेक पोस्ट’हरू हटाउनु र भारतीय सेनाहरुलाई फिर्ता पठाउनु थियो । २००८ सालदेखि नेपालको उत्तरी सिमानामा भारतीय सैनिक चेक पोष्टहरु रहने गरेका थिए । जब सन् १९४९ मा तिब्बतलाई चीनले आफ्नो नियन्त्रणमा लियो सोही बेलादेखि आफ्नो सुरक्षा स्वार्थलाई दृष्टिगत गर्दै मातृकाप्रसाद कोइराला नेतृत्वको तत्कालीन नेपाल सरकारको सहमतिमा भारतले नेपालको उत्तरी क्षेत्रमा सैनिक चेक पोस्टहरू राखेको थियो । केही बर्षको निम्ति भनि राखिएका ती चेक पोस्टहरू १७ बर्ष वितिसक्दा पनि हटेको थिएन र हट्न पनि मानिरहेको थिएन । त्यसै पृष्ठभूमिमा चेक पोस्ट हटाउनु र भारतीय सेनालाई फिर्ता पठाउनु नेपालका लागि अत्यन्तै कठीन र चुनौतिपूर्ण कार्य थियो । त्यसका लागि गम्भीर सुझबुझ, सुक्ष्म रणनीतिक कौशल, कुटनीतिक क्षमता र साहसको आवश्यकता थियो । यो जिम्मेवारीलाई युगपुरुष राजा श्री ५ महेन्द्रको बुद्धिमत्तापूर्ण नेतृत्वमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बिष्टले सफलतापूर्वक सम्पन्न गर्नु भएको थियो ।
आफ्नो जीवनको अन्तिम घडिसम्म कीर्ति बाबुले राष्ट्रियताको संरक्षण र सम्बर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई अत्यन्त सन्तुलित र मर्यादित ढङ्गबाट सञ्चालित हुनु पर्ने यथार्थलाई उहाँले सदैव जोड दिइरहनु भयो । राष्ट्रियताका विषयमा कसैसँग नझुक्ने तर सबैसँग सद्भाव र मित्रतापूर्ण सम्बन्ध कायम राख्नु पर्ने उहाँको स्पष्ट धारणा थियो । अन्तर्राष्ट्रिय अभियानका रूपमा मात्र होइन छिमेकी मुलुकहरूसँगको सम्बन्धमा समेत सदैव असंग्लनतालाई नेपाली परराष्ट्र नीतिको आधारस्तम्भ हुनुपर्ने उहाँको मान्यता थियो । प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको हैसियतमा अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपालको नाम र प्रतिष्ठा अभिवृद्धिमा उहाँको अतुलनीय योगदान रहेको छ । विशेषतः छिमेकी मित्रराष्ट्र चिनसँग मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ तुल्याउन तथा नयाँ उचाइमा पुर्याउन उहाँको योगदान अविस्मरणिय छ ।
नैतिकता र इमान्दारिता कीर्ति बाबुको राजनीतिक जिवनको आदर्श रहेको थियो । लामो क्रियाशील जीवनकालमा उहाँको नैतिक चरित्र सदैव उच्च रहीरह्यो । उहाँको नैतिकतामा प्रश्न उठाउने सक्ने अवस्था कहिल्यै देखा परेन । राजनीति पेसा वा व्यवसाय होइन; राजनीति भनेको देश र जनताको सेवा गर्ने माध्यम हो भन्ने मान्यतालाई उहाँले सदैव परिपलना गर्नुभयो । साथै उहाँको जीवनको विशेषतामा नै ‘नैतिकता’ भन्ने मनोविज्ञान गाँसिएको थियो । उदाहरणका लागि भन्ने हो भने— देशको मुख्य प्रशासकीय भवन सिंहदरवार आगो लागेर क्षतिग्रस्त भएपछि उहाँले नैतिकताकै आधार उठाएर प्रधानमन्त्रीको पदबाट राजिनामा दिनु भएको थियो । वास्तवमा नै उहाँले नेपाली राजनीतिमा बिरलै देखिने नैतिक आदर्शको उच्चतम उदाहरण कायम गर्नुभयो । सिंहदरवार आगलागीमा बिष्टको प्रत्यक्ष वा परोक्ष भूमिका पनि थिएन र लापर्वाही पनि थिएन । स्वयं राजा वीरेन्द्रले राजिनामा दिनु नपर्ने सल्लाह दिंदा समेत उहाँले आफू प्रधानमन्त्री रहेको बेला त्यति ठूलो राष्ट्रिय क्षति हुँदा पदमा बसिरहन उपयुक्त नभएको धारणा राख्दै पदत्याग गर्नुभएको थियो ।
कीर्ति बाबु एक निष्ठावान राजनेता हुनु हुन्थ्यो । राजसंस्थाप्रति उहाँको अगाध आस्था र विश्वास थियो । राजाहरूबाट समेत उहाँले संधै विश्वास प्राप्त गर्नुभयो । उहाँले राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रसँग अत्यन्त निकट रहेर काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो । राजाहरूकै विश्वासको परिणामस्वरुप उहाँले पटकपटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा रहेर देश र जनताको सेवा गर्ने शौभाग्य पाउनु भयो ।
राजसंस्था प्रतिको कीर्ति बाबुको निशर्त आस्थाको ज्वलन्त उदाहरण २०६१ सालमा राजा ज्ञानेन्द्रको नेतृत्वमा गठित मन्त्रिपरिषदमा उहाँको सहभागिता नै हो । आफन्तहरुसँगको अनौपचारिक कुराकानीका आधारमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने राजाको कदमप्रति कीर्ति बाबुचाहिँ आफू सन्तुष्ट नरहेको बताउनुभएको थियो । तर, जब राजाबाट मन्त्रिपरिषदमा सहभागी भै सहयोग गर्न कीर्ति बाबुलाई आग्रह भएपछि उहाँले नाई भन्न सक्नु भएन । गृहयुद्धको सङ्घारमा रहेको देशमा शान्ति स्थापना गर्ने तथा पटकपटकको प्रयासबाटसमेत चुनाव हुन नसकेको अवस्थामा चुनाव सम्पन्न गरी जनताको नासोको रूपमा रहेको प्रजातन्त्र जनतालाई सुम्पने असल नियतका साथ राजा ज्ञानेन्द्रद्वारा चालिएको कदममा कीर्ति बाबुले साथ दिनु भएको थियो ।
कीर्ति बाबुलाई मैले सदैव एक अभिभावक तथा प्रेरणादायी व्यक्तित्वका रूपमा पाएको थिएँ । राष्ट्रियताको पक्षमा निर्भीकताका साथ क्रियाशील रहन उहाँले मलाई निरन्तर प्रोत्साहन दिइरहनु हुन्थ्यो । खासगरी २०६२-६३ को परिवर्तनपछि राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा उभिदा उहाँले मलाई स्याबासी र हौसला प्रदान गर्नुभएको म कदापि बिर्सन सक्दिन । आफ्नो सिद्धान्तबाट कहिल्यै विचलित नहुन उहाँले मलाई निरन्तर प्रेरणा दिई रहनु भयो ।
कीर्ति बाबुजस्ता असल, निर्भीक र इमान्दार राजनेता हाम्रो मुलुकका लागि चीरप्रतीक्षा रहरिहने छ ।