Tuesday, November 24, 2020

वर्तमान संबिधानवारे मेरो धारणा

- कमल थापा


हिन्दुराष्ट्र र राजसंस्थको एजेण्डा बोकेको कमल थापाले गणतन्त्र र धर्मनिरपेक्षता कायम गरेको वर्तमान नेपालको संबिधानलाई ‘उत्कृष्ट’ संबिधान भन्यो भन्ने आरोप मलाई अक्सर लाग्ने गरेको छ। वास्तविकता त्यो होईन। राष्ट्रिय अन्तर्राष्ट्रिय मंचहरूमा संबिधानवारे बोल्दा कहिल्यै पनि मैले ‘उत्कृष्ट’ शब्द प्रयोग गरेको छैन। बिश्वको कुनैपनि संबिधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हॅुदैन भन्ने मेरो स्पष्ट मान्यता छ। संबिधान आफैमा गतिशील र परिवर्तनिय दस्तावेज हो।हिन्दुराष्ट्र र राजसंस्था नसमेटिएको र अनाबश्यक संघियता कायम गरिएको कारणबाट मेरो नेतृत्वमा रहेको पार्टी राप्रपाले संबिधानवारे मतदान हुंदा विपक्षमा मत हालेको र संबिधानको परिधि भित्रबाटै जनताको अभिमत लिएर आफ्नो एजेण्डा स्थापित गर्न प्रतिबद्ध रहेको कुरा मैले देश बिदेशमा भन्दै आएको तथ्य स्पष्ट छ। यो यथार्थ अभिलेखबाट प्रमाणित छ।  वस्तुत: मैले वर्तमान  संबिधानमा समावेश भएका समावेशी र समानुपातिक व्यवस्था  तुलनात्मकरूपले बिश्वका अन्य कतिपय संबिधानहरू भन्दा अग्रगामी र प्रगतिशील छ भनेको हुं। यो भनाईमा म अहिले पनि दृढ छु। किनभने त्यो सत्य हो। साथै, वर्तमान संबिधानले जनताको मतबाट गणतन्त्र,संघियता र धर्मनिरपेक्षता परिवर्तन गर्ने अधिकार दिएको छ  । यो अधिकार हामीले संबिधानसभामा लडेर लिएको  हो । यहि अधिकारको धरातलमा उभिएर एकदिन हिन्दुराष्ट्र् र राजसंस्थासहितको लोकतन्त्र स्थापित गर्छौ र गर्न सक्छौ भन्ने आत्मबिश्वासका साथ नेपालको राजनीतिमा राप्रपा क्रियाशील छ। जसरी जनताको बहुदलिय जनवादको मान्यता अनुरूप तत्कालीन  एमालेले राजसंस्थासंग सहकार्य गरेको थियो तदनुरूप राप्रपाले सम्वर्द्धनवादको सिद्धान्त अनुरूप संबिधानसॅग सहकार्य गरेको हो। 


वर्तमान संबिधानवारे मेरो थप धारणा बुझ्न यसै साथ संलग्न लेख पढिदिनु हुन अनुरोध गर्दछु। 


 “चुनौती र सम्भावनाबीच नेपालको संविधान, २०७२”


-कमल थापा 


संविधानसभामा नेपालको संविधान ०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एक मात्र दल राप्रपा नेपाल थियो । आफ्ना आधारभूत मान्यता हिन्दूराष्ट्र र राजसंस्थाजस्ता विषय संविधानमा नसमेटिएका कारण राप्रपा नेपाल विपक्षमा खडा उभिएको थियो । आफ्नो असहमतिका बाबजुद ९० प्रतिशतभन्दा बढीको बहुमतबाट संविधान पारित भएपछि प्रजातान्त्रिक मूल्य–मान्यताअनुरूप आफ्नो फरक मत कायम राख्दै राप्रपा नेपालले संविधानलाई आलोचनात्मक समर्थन गर्ने निर्णय ग-यो ।


संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति अख्तियार ग-यो । राप्रपाको यस्तो नीतिको कतिपयले कठोर आलोचनासमेत गरेका छन् । तर, राप्रपाको यो नीति देश, जनता र पार्टीको बृहत्तर हितका पक्षमा छ । खेलको नियम मानेर खेलमा सहभागी हुने अनि परिणाम आफूअनुकूल नहुँदा विद्रोह गर्ने कार्य सर्वथा उपयुक्त होइन । यो हाम्रो कमजोरी होइन । जनताको सर्वोच्चता र आफ्नो सिद्धान्तप्रति आत्मविश्वासको अभिव्यक्ति हो ।


पृष्ठभूमि : संविधानसभा निर्वाचनमा राप्रपाको सहभागिता, संविधान निर्माणमा सकारात्मक भूमिका र प्रतिकूल परिणामलाई सहजरूपमा स्वीकार गर्ने निर्णयको विशिष्ट महत्व छ । यो तथ्य बुझ्न विगतका केही सन्दर्भको चर्चा प्रासंगिक हुनेछ । ०६२/६३ को आन्दोलन दरबार र आन्दोलनकारी दलबीच सम्झौता भएर टुंगिएको सर्वविदितै छ ।


नेपालको संविधान ०४७ मा टेकेर संविधानसभाको चुनाव गर्ने र संविधानसभाबाट नयाँ संविधान बनाउने सो सम्झौताको मर्म हो । तर, सम्झौताविपरीत संविधानसभाको निर्वाचनअगावै ४ जेठ ०६४ मा हिन्दूराष्ट्रको पहिचान समाप्त गरी धर्मनिरपेक्षता लादियो । ०४७ को संविधान खारेज गरी ०६३ माघमा अन्तरिम संविधान ल्याइयो ।


अन्तरिम संविधान संशोधन गरी क्रमशः संघीयतालाई संविधानको अंग बनाइयो तथा राजसंस्थालाई पाखा लगाएर प्रधानमन्त्रीलाई राष्ट्रप्रमुखको जिम्मेवारी दिइयो । त्यति मात्र होइन, संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गर्ने बाध्यकारी प्रावधान अन्तरिम संविधानमा राखियो । यो सबै कर्मकाण्ड संविधानसभाको चुनावअगावै सम्पन्न गरिए ।


आन्दोलनको रापतापमा यी सबै काम सम्पन्न भए । यो प्रसंग यहाँ यसकारण उल्लेख गरिएको हो कि संविधानसभा निर्वाचनअगावै राप्रपाको मूलभूत मान्यतालाई पराजित गरिसकिएको थियो । चुनावमा हारिन्छ र संविधानसभाबाट आफ्नो एजेन्डा स्थापित गर्न सकिन्न भन्ने थाहा हुँदाहुँदै पनि हामी चुनावको अभ्यासमा सहभागी भयौँ । त्यसको मूल कारण जनताको शक्तिमाथिको विश्वास र सशक्त एजेन्डा भएकाले अहिले नभए पनि भविष्यमा स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वास नै हो ।


फरक विचारबीचको प्रतिस्पर्धाले मात्र प्रजातन्त्र सुदृढ हुन्छ । नेपालको प्रजातान्त्रिक पद्धतिको विकासमा राप्रपाको यो नीतिले दूरगामी सकारात्मक महत्व राख्छ । तर, हाम्रो यस मान्यतालाई अवमूल्यन गर्दै यदाकदा संस्थापन पक्षले निषेध र अस्पृश्यताको मानसिकता र व्यवहार कायम राख्दा परिस्थिति जटिल बन्ने गरेको छ ।


हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्न नसके पनि संविधानको परिधिभित्र रहेर प्रजातान्त्रिक ढंगले नेपाली जनताको अभिमतबाट आफ्नो एजेन्डा स्थापित गर्नसक्ने संवैधानिक अधिकार सुनिश्चित गर्न भने हामी सफल भयौँ ।


०६४ को निर्वाचनबाट गठित पहिलो संविधानसभाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता मान्यता अपरिवर्तनीय हुने व्यवस्था गरेको थियो । तर, त्यसरी कुनै पनि विचार वा व्यवस्था अपरिवर्तनीय गरिनु जनताको सर्वोच्चता र लोकतान्त्रिक मान्यताविपरीत हुने हाम्रो अडान र प्रयासको परिणामस्वरूप अन्ततः राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताबाहेक अरू सबै विषय जनताको अभिमतका आधारमा परिवर्तन वा संशोधन गर्न सकिने संवैधानिक व्यवस्था कायम भएको छ । यो अधिकारको सुनिश्चितता हाम्रो आर्जन हो । यही अधिकारका कारण नै राप्रपा नेपालले नेपालको संविधान ०७२ मा हस्ताक्षर गरेको हो । फलस्वरूप यो संविधानमा हाम्रो समेत स्वामित्व कायम छ ।


संविधानको आत्मा : ०६२/६३ को परिवर्तनका संवाहक र मुख्य रूपले तत्कालीन माओवादी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई महान् उपलब्धिका रूपमा लिन्छन् । उनीहरू यी अवधारणालाई संविधानको आत्मा मान्छन् । तर, हाम्रो विश्लेषणमा यी अवधारणा केवल अवस्था र व्यवस्था मात्र हुन्, जुन परिवर्तनशील छन् । हाम्रो प्राचीन सनातन मान्यतामा परिवर्तन हुने विषय वा वस्तु आत्मा हुनै सक्दैन ।


शरीर परिवर्तनशील हो, तर आत्मा अजेय, अमर र अपरिवर्तनीय हुन्छ । त्यसर्थ, वर्तमान संविधानको आत्मा भनेको जनताको सर्वोच्चता, राष्ट्रिय सार्वभौमिकता र अखण्डता हुन् । विचारको स्वतन्त्रता, फरक विचार बोकेका कारण पार्टी प्रतिबन्धित नहुने प्रावधान, आवधिक निर्वाचन र संविधान संशोधनको सरल व्यवस्था यो संविधानका आधारस्तम्भ हुन् । यही शाश्वत यथार्थका कारण संविधानमा रहेका कतिपय मान्यताका कारण इतर विचार बोक्नेसमेत संविधानको परिधिभित्र अटाएका छन् । जनतामा विश्वास गर्ने राजनीतिक शक्तिले आफ्नो सिद्धान्त स्थापित गर्न अब जंगल पसेर बन्दुक बोक्नु वा सिमानामा बसेर आर्थिक नाकाबन्दी गर्नु आवश्यक छैन ।


यसो भनेर यो संविधान सर्वस्वीकार्य वा उत्कृष्ट छ भन्न खोजेको होइन । विश्वका कुनै पनि संविधान शतप्रतिशत पूर्ण हुँदैनन् । संविधान एक गतिशील दस्ताबेज हो । समय, काल र परिस्थितिअनुसार जनताको अभिमतबाट संविधानलाई परिमार्जित र परिस्कृत गर्दै लैजान सकिन्छ र सक्नु पनि पर्छ ।


सबल र कमजोर पक्ष : नेपालको वर्तमान संविधानमा थुप्रै कमी कमजोरी छन् । संविधानभित्र प्रशस्त विरोधाभास छन् । भाषागत त्रुटि अनगन्ती छन् । अनावश्यक, महत्वाकांक्षी र अव्यावहारिक विषय समेटिएका छन् । मौलिक हक र कर्तव्य तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वबारे अनावश्यक ढंगले लामो फेहरिस्त राखिएको छ । राष्ट्रलाई दीर्घकालीन रूपमा आघात पु-याउन सक्ने नागरिकतासम्बन्धी व्यवस्था कायम गरिएको छ । संविधानका कतिपय प्रावधानले जातीय र साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्न खोजेका छन् ।


राजनीतिक दलहरूले निहित स्वार्थपूर्तिका लागि संविधान र लोकतन्त्रलाई माध्यम बनाउने हो भने वर्तमान संविधान पनि तासको घरझैँ गल्र्यामगुर्लुम ढल्न कत्ति बेर लाग्दैन

 


समाजवादजस्तो पार्टी विशेषको विचारलाई संविधानको अंग बनाइएको छ । धर्मनिरपेक्षताको विवादास्पद र भ्रमपूर्ण स्पष्टीकरण राखिएको छ । परम्परागत संस्थालाई निषेध गर्ने प्रयास भएको छ । बहुसंख्यक जनताको भावनाको सम्मान भएको छैन । संविधानसभामा रहेका दलहरूको प्रतिष्ठा र तुष्टीकरणका कारण संविधान भद्दा बन्न पुगेको छ ।


यस्ता कैयौँ कमी–कमजोरी तथा त्रुटिका बाबजुद अस्थिरता र अराजकतापूर्ण लामो संक्रमणपश्चात् देशले संविधान प्राप्त गरेको तथ्यलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ । जेजस्तो भए पनि यो संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक मूल्य र मान्यता अंगीकार गरेको छ । समानुपातिक र समावेशी प्रतिनिधित्वका दृष्टिकोणबाट यो संविधान निःसन्देह प्रगतिशील छ । विभिन्न क्षेत्रमा महिला वर्गको प्रतिनिधित्वको दृष्टिकोणबाट विश्वका कुनै पनि संविधानभन्दा नेपालको संविधान अग्रगामी छ । इमानदार र उदार भावनाले काम गर्ने हो भने यो संविधान शान्ति, स्थायित्व र समृद्धिको प्रस्थानबिन्दु बन्न सक्छ ।


चुनौती र भावी कार्यदिशा : उपर्युक्त सकारात्मक यथार्थविपरीत राजनीतिक दलले निहित स्वार्थ परिपूर्तिका निमित्त संविधान र लोकतन्त्रलाई माध्यम बनाउने हो भने वर्तमान संविधान पनि तासको घरझैँ गल्र्यामगुर्लुम ढल्न कत्ति बेर लाग्दैन ।


संविधान जारी भएको चार वर्ष पूरा भएको छ । नयाँ संविधानबमोजिम चुनाव भएर सरकार गठन भएको पनि दुई वर्ष पूरा हुन लाग्दै छ । तर, यसबीच जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । त्यसको ठीकविपरीत भ्रष्टाचार, गरिबी, बेरोजगारी, धर्मपरिवर्तन, सर्वसत्तावाद, राष्ट्र विखण्डन र माओवादी विद्रोहको पुनरुत्थानजस्ता चुनौती र समस्या देखापरेका छन् । यी सबै कारणले गर्दा सरकार, दल र नेता मात्र होइन, समग्र राजनीतिप्रति नै जनताको असन्तुष्टि, आक्रोश र वितृष्णा तीव्र गतिले बढिरहेको छ ।


लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाउँदै गएको छ । बिस्तारै सर्वसत्तावादतर्फ देश अग्रसर भइरहेको आभास हुन्छ । यहाँ स्मरण गर्नु जरुरी छ कि ००७ सालमा प्रजातन्त्रको पहिलो बिहानी झुल्केको नेपालमा किन अझै स्थायी राजनीतिक प्रणाली र संविधान कायम हुन सकेको छैन ? मूलतः त्यसका तीन कारण छन् भन्ने पंक्तिकारलाई लाग्छ । पहिलो निषेधको मानसिकता, दोस्रो आर्थिक परिवर्तनको अभाव र तेस्रो बाह्य हस्तक्षेप ।


सात सालदेखि हरेक परिवर्तनपछि विजेता शक्तिले सबैलाई सँगै लिएर हिँड्नुको सट्टा आफ्नो वर्चस्व सुरक्षित गर्न अन्य शक्तिमाथि विभेद र निषेध गर्ने कार्य जारी रह्यो । फलस्वरूप परिवर्तन संस्थागत हुन सकेन । साथै, राजनीतिक परिवर्तनपश्चात् जनतालाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउने काम भएन । परिवर्तनको प्रतिफललाई सीमित वर्गले अपहरण गरे । जनताले परिवर्तनमा आफ्नो स्वामित्व र स्वार्थ स्थापित गर्न सकेन । यसैगरी नेपालका हरेक परिवर्तनमा बाह्य शक्तिको व्यापक प्रभाव र भूमिका रह्यो ।


परिवर्तनपश्चात् बाह्य शक्तिले आफ्नो स्वार्थ पूरा गर्न गराउन प्रयास ग-यो । जसलाई परिवर्तनकारी शक्तिले सहजै पूरा गरिदिन सक्ने अवस्था भएन । फलस्वरूप केही कालपछि बाह्य शक्ति फेरि नयाँ अस्थिरता सिर्जना गर्ने दिशातर्फ उद्यत भयो । यो चक्र विगत सात दशकदेखि चलिरहेको छ । अहिले पनि त्यसका प्रारम्भिक संकेत देखिन सुरु भइसक्यो । यो तितो यथार्थ महसुस गरी सबै राजनीतिक शक्तिले परिपक्वता र उदारता देखाउन ढिलो गर्नु हुँदैन ।


यस क्रममा संविधानकै परिधिभित्रबाट राजादेखि माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न, राजनीतिक मतभेद छाडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्तअनुरूप धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र कायम गर्नेतर्फ अब बहस आरम्भ गरिनुपर्छ । अन्यथा, संविधान जारी गर्ने वेलामा अवरोध सिर्जना गर्ने, संविधानमा आफ्नो स्थान नदेख्ने, संविधान च्यातेर सिमानामा नाकाबन्दी गर्ने सबै देशी, विदेशी शक्ति एक भएर संविधान र व्यवस्था मात्र होइन, देशलाई नै धरापमा पार्न सक्ने खतरा रहन्छ ।

Wednesday, November 11, 2020

"अब घडीको सुई पछाडी फर्काउन सकिन्न”

 "अब घडीको सुई पछाडी फर्काउन सकिन्न”

- कमल थापा


“व्यक्ति होइन बाटो परिवर्तन गर्नुपर्दछ, नेता होइन नीति परिवर्तन गर्नुपर्दछ" भन्ने धारणालाई कतिपयले नेकपाको आन्तरिक विवादमा के पि ओलीको बचावको पक्षमा दिईएको तर्कका रूपमा बुझे भने केहीले धमिलो वातावरणमा घडीको सुई पछि फर्काउन खोजिएको प्रयासकारूपमा अर्थ लगाए। वास्तवमा उपरोक्त दुवै निष्कर्ष सही होइनन्।

देशले हाल अवलम्बन गरेको मार्गचित्र र गन्तव्यवारे पुनर्विचार गर्नुपर्छ भन्ने धारणालाई ठीक ढंगले बुझ्न माओवादीको दश बर्षे हिंसात्मक विद्रोह, विद्रोहकालमा पश्चिमा मुलुकहरुको भूमिका, भारतको राजधानी नयाँ दिल्लीमा भएको बाह्र बुंदे समझदारी, २०६२/६३ को सडक आन्दोलन र आन्दोलन अन्त्यकालागि दरवार र आन्दोलनकारी शक्तिहरुका बिच भएको सम्झौताको अन्तर्यलाई बुझ्नु जरुरी छ। ती घटना र सन्दर्भको वस्तुपरक समिक्षा र बिश्लेषण गर्नु अनिवार्य हुन्छ।उपरोक्त घटनाक्रमहरु सतहमा जुन रूपमा देखा परे, गहिराइमा त्यसको नितान्त फरक यथार्थ रहेको छ।

विद्रोहको हिंसात्मक बाटो गलत भएता पनि प्रारम्भमा माओवादीले उठाएका कतिपय मागहरु राष्ट्रको वृहत्तर हित र जनजीविकाका सवालमा सकरात्मक थिए। तर, कालान्तरमा माओवादी बाटो र लक्ष्य दुवैमा दिग्भ्रमित भयो। बन्दुकको भरमा काठमाडौं कब्जा गर्न नसकिने सत्य स्पष्ट भएपछि माओवादीले क्रमशः दरवार, संसदवादी राजनीतिक दलहरू र बिदेशी शक्तिहरुसँग सांठगांठ वा समझदारी गरेर विद्रोहलाई सुरक्षित अवतरण गर्ने रणनीतिक प्रयास गर्‍यो।

प्रजातन्त्र र दलहरूलाई निषेध गरेर माओवादीलाई सत्ता हस्तान्तरण गर्न दरवार तयार नभए पछि माओवादीले संसदवादी दलहरूसँग सम्वन्ध विस्तार गर्ने प्रयास गर्‍यो। तर, भित्र भित्रै मिठा कुरा गरेपनि २०४७ को संबिधान विस्थापित गरेर माओवादीसँग सहकार्य गर्न शुरूमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले हिम्मत गर्न सकेनन्।

यसैबिच माओवादीले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरु तथा युरोपियन युनियन आवद्ध केही मुलुकहरुसँग गहिरो सम्बन्ध विकास गरे। केही पश्चिमा मुलुकहरुको नेपालमा धेरै अघिदेखि निहित स्वार्थ रहंदै आएको थियो। पंचायतकालमा नै नेपालमा धर्म परिवर्तनको माध्यमद्वारा सामाजिक सांस्कृतिक प्रभाव विस्तारको योजना पश्चिमा मुलुकहरुले बनाएका थिए। बहुदलीय व्यवस्था पुनःस्थापना पछि सो योजना अझै सक्रिय र व्यापक तुल्याईयो। साथै, आफ्नो अभिष्ट पुरा गर्न पश्चिमा मुलुकहरुले यसै अवधिमा जातीय विभाजन र विवादको विजारोपण पनि गरे। संघियताको अवधारणा समेत यसै सन्दर्भमा पहिलोपटक पश्चिमा मुलुकहरुले नेपालमा प्रवेश गराएका हुन्। उल्लेखित मान्यताको पक्षमा ठूलो आर्थिक राजनीतिक लगानीको युग शुरु भयो। त्यसबेला धर्म परिवर्तन, साम्प्रदायिक विभाजन र संघीयताको एजेण्डा बोक्न नेपालका कुनै राजनीतिक दल तयार थिएनन्। फलस्वरूप पश्चिमा मुलुकहरुले नागरिक समाज, बुद्धिजीवी वर्ग र आम संचारमाध्यमहरूलाई उल्लेखित उद्देश्य पूरा गर्ने क्रममा दिल खुलेर प्रयोग गरे।

यसैबिच सुरक्षित अवतरणको खोजीमा सबै ढोका र विकल्प खुला राखेर हिंडिरहेका माओवादी पश्चिमा मुलुकहरुको एजेण्डाको 'भारी' बोक्न तयार भयो। उदार प्रजातान्त्रिक मूल्य मान्यतालाई आदर्श मान्ने पश्चिमा शक्ति र कथित जनवादको आवरणमा सर्वसत्तावादी अवधारणाका पक्षधर माओवादीका बिचमा अभूतपूर्व समझदारी बन्यो। मानव अधिकार र मानवीय मूल्यका प्रवक्ता पश्चिमा मुलुकहरु एवं राजनीतिक उद्देश्यका निम्ति हिंसालाई माध्यम बनाएका र कतिपय अवस्थामा मानवता विरोधी गतिविधिमा संलग्न माओवादी जस्ता दुई विपरीत शक्तिबिच विचित्र एक्यवद्धता कायम भयो।

अर्कोतर्फ शुरुमा राजा र राजनीतिक दलहरुसँग सम्वन्ध बढाउन उद्यत माओवादीले अन्ततः जुन बाह्य शक्तिको 'विस्तारवादी' नीति विरुद्ध हतियार उठाएको थियो, सोही बिदेशी शक्ति भारतसँग आन्तरिक लगनगाँठो कस्न समेत तयार भयो। अनि नेपाल सरकारले भन्दा अगावै माओवादीलाई आतंककारी घोषणा गर्ने भारत सरकार नेपालका माओवादीलाई संरक्षण, प्रोत्साहन र प्रशिक्षण लगायतका सहयोग गर्न तयार भयो। भारतको जासुसी संस्था 'रअ'संग त्यही बेलादेखि माओवादी नेतृत्वको सम्वन्ध जोडियो।

राजा ज्ञानेन्द्रबाट २०६२ साल माघ १९ गतेको कदम चालिए पछि नेपाली राजनीतिको समिकरण र सन्तुलनमा आधारभूत रूपमा नै परिवर्तन भयो। २०११ साल फागुनमा राजा महेन्द्रको राज्यारोहण संगै राजसंस्थालाई नेपालमा भारतीय स्वार्थ प्रवर्द्धनको निम्ति सबैभन्दा वाधक शक्ति ठान्ने तत्कालीन भारतीय संस्थापन पक्षको एक शक्तिले माघ १९ को राजाको कदम तथा 'सार्क' राष्ट्रहरूको ढाका शिखर सम्मेलनमा चिनलाई 'सार्क' मा पर्यवेक्षक बनाउने राजाको प्रस्ताव पश्चात नेपालको राजसंस्थालाई 'पाठ' पढाउने अठोट गर्‍यो। दुई विपरीत गन्तव्यमा हिँडेका नेपालका राजनीतिक शक्तिहरूका बिचमा भारतको प्रत्यक्ष सहयोग, संलग्नता र प्रायोजनमा भएको बाह्र बुंदे समझदारी त्यही घटनाक्रम, नीति र अठोटको परिणाम थियो।

राजाको कदमको परिणामस्वरूप सत्ता राजनीतिबाट बाहिरिएका संसदवादी दलहरूले राजाको नियत र कदम माथि बिश्वास गर्न चाहेनन्। तिन बर्ष भित्र दिगो शान्तिको स्थापना र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने राजाको निर्णयलाई सहयोग गर्न राजनीतिक दलहरु तयार भएनन्। बरु बिदेशी शक्तिको योजना र भरोसा अनुसार संसदिय व्यवस्था विरुद्ध हतियार उठाएको माओवादीसँग सहकार्य गर्न राजि भए। संसदीय प्रजातन्त्र विरुद्ध हतियार उठाएको, कंग्रेस/एमालेलाई वर्गशत्रु ठान्ने र आफैले आतंककारी घोषणा गरेको माओवादीसँग सहकार्य गर्न बाह्य शक्तिको दवाव, प्रभाव र प्रेरणाले अन्ततः संसदीय प्रजातन्त्रका संवाहक नेपालका राजनीतिक दलहरू तयार भए।

बाह्र बुंदे समझदारीलाई पश्चिमा मुलुकहरुले आफ्नो दीर्घकालीन स्वार्थ पुरा गर्ने अनुकूल वातावरणको रूपमा स्वागत र आत्मसात गरें ।

यस प्रकार देशी विदेशी शक्तिहरूका जायज नाजायज गठवन्धनको परिणामस्वरूप नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई एक्लो पारियो। भारतीय स्वार्थ सम्वर्द्धनको 'वाधक' तथा धर्मपरिवर्तनद्वारा सांस्कृतिक प्रभाव विस्तार गर्न चाहने पश्चिमा मुलुकहरुको योजनामा अवरोध ठानिएको नेपाली राजसंस्थालाई पाखा लगाउने वातावरण सिर्जना गरियो। बाह्य शक्तिहरूको यो तानावानामा नेपालका राजनीतिक दलहरू समाहित भए। विगतमा राजसंस्थाबाट भएका केही निर्णयहरूबाट चिन्तित र अत्तालिएका दलहरूले बिदेशीको चलखेल र योजनालाई बोक्न तयार भएको मात्र होइन, त्यस्तो षडयन्त्रलाई ढाकछोप गर्दै बाह्र बुंदे समझदारी र त्यसपछिको सडक आन्दोलनलाई 'लोकतन्त्र' प्राप्तिको निम्ति आफैले गरेको ऐतिहासिक संघर्षका रूपमा आत्मरति लिने गरेका छन्। त्यस्तो दावी स्वभाविक हो । सर्वसाधारणको नजरबाट सतहमा देखिएकाको पनि त्यही हो। तर, उपरोक्त घटनाक्रमहरुको नेतृत्वतहमा प्रत्यक्ष संलग्न भएका र परोक्षरूपले तर आधिकारिक जानकारी राखेकाहरूलाई उल्लेखित सम्पूर्ण सन्दर्भमा बिदेशीहरूको आर्थिक, राजनीतिक र व्यवहारिक योजना, सहयोग र लगानीवारे राम्रो जानकारी छ।
जुनसुकै पृष्ठभूमिमा भएको भएपनि अन्ततः २०६२/६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिहरु बिच सम्झौता भएर टुंगिएको थियो। संबैधानिक राजसंस्थालाई कायम राख्दै २०४७ को संबिधानको जगमा जननिर्वाचित संबिधानसभाबाट नयाँ संविधान निर्माण गर्ने उक्त सम्झौताको 'स्पिरिट' रहेको थियो। सम्झौताको भावना अनुरुप राजाबाट आन्दोलनकारी शक्तिलाई सत्ता हस्तान्तरण र ६ बर्ष अघि तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा बिघटित प्रतिनिधि सभा पुनःस्थापना भयो। तर, सम्झौता विपरित आन्दोलनकारी शक्तिहरूले हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने र संबिधान सभाको चुनाव अगावै राजसंस्थालाई पाखा लगाउने काम गरियो।

उपरोक्त पृष्ठभूमिमा नेपाली जनताले राम्रोसँग पत्तै नपाउने गरी योजनाबद्ध रुपमा नयाँ नेपालको नयाँ 'न्यारेटिभ' स्थापित गर्ने प्रयास पनि आरम्भ भयो। उक्त 'न्यारेटिभ' ले नेपालको ईतिहास, परम्परागत मूल्य मान्यता, संस्था र संरचनावारे सदियौं देखि कायम रहंदै आएको व्याख्या, बिश्लेषण र सम्मानलाई विस्थापित गर्ने कार्य संगठित रूपमा अघि बढायो। नयाँ 'न्यारेटिभ' अन्तर्गत नेपालको राष्ट्रिय एकिकरणलाई विस्तारवादी षड्यन्त्र, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई निरंकुश विस्तारवादी, एकात्मक शासन व्यवस्थालाई बिकास विरोधी र विभेदकारी, सनातन धर्म र परम्परालाई पुरातनवादी अन्धविश्वास तथा सम्पूर्ण विगतलाई कालरात्रिका रूपमा चित्रित गर्ने भरमग्दुर प्रयास भयो। नेपाली भाषा र संस्कृति विरुद्ध घृणा पैदा गर्ने काम भए।
देशले भोग्नु परेका भोक,रोग, गरिबी, अशिक्षा र पछ्यौटेपनको एक मात्र कारण राजसंस्था हो भन्ने धारणा व्यापक तुल्याईयो। राजसंस्थाको चरित्र र व्यक्तित्वलाई 'राक्षसीकरण' गर्ने धृष्टता गरियो। नेपालको गौरवशाली ईतिहास र राष्ट्रिय स्वाभिमानलाई गिराउने काम भयो। २००७ सालको क्रान्ति र २०४६ सालको आन्दोलनको महत्वलाई अवमूल्यन गरी २०६३ को परिवर्तनलाई देवत्वकरण गरियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मात्र होइन आदीकवि भानुभक्त र महाकवि लक्ष्मीप्रसाद देवकोटाहरूको शालिक तोडफोड गरियो। प्रजातन्त्र स्थापनामा राजा त्रिभुवनको भूमिकालाई अवमूल्यन गरियो। नेपालको स्वतन्त्रता र स्वाभिमानलाई सुदृढ तुल्याउने राजा महेन्द्रको ऐतिहासिक योगदानलाई 'महेन्द्रीय राष्ट्रवाद' को संज्ञा दिएर अपव्याख्या र कलंकित गर्ने काम भयो। अर्कोतर्फ रातारात हिसांत्मक विद्रोह र अपराधिक घटनाको गौरव गाथा तयार गरियो।
उपरोक्त गतिविधिहरू आन्दोलनको रापतापमा भएका छिटफुट घटनाहरू होईनन्।
नयाँ नेपालको नयाँ 'न्यारेटिभ' निर्माण र स्थापित गर्ने नीति अन्तर्गत भएका योजनाबद्ध कार्यहरु हुन्। निश्चय पनि सडकमा आन्दोलन गरिरहेका अधिकांश व्यक्तिहरू स्वस्फूर्त रुपमा क्रियाशील रहेको अनुभूत गर्छन्, अहिले पनि त्यस्तो दावी गर्छन्। तर, उनीहरू पर्दा पछाडि योजनाबद्ध र संगठितरुपले क्रियाशील देशी विदेशी शक्तिहरूका अनुहार र नियतसंग परिचित थिएनन्। यस 'गिरोह' ले ठूलो लगानीमा एक प्रकारको 'बौद्धिक आतंक' नै खडा गरी उल्लेखित मान्यताहरू नेपाली जनताको मनमस्तिष्कमा घुसाउने प्रयास गरे । धेरै हदसम्म सफल पनि भए।

यसरी सिर्जना र स्थापित गर्न खोजिएको नयाँ 'न्यारेटिभ' लाई सिद्धान्त, बिचार र एजेण्डाको आवरण दिनु आवश्यक थियो। यसैको परिणाम हो- नेपालमा संघियता, गणतन्त्र र धर्मनिरपेक्षताको प्रादुर्भाव।
त्यसर्थ, व्यक्ति होइन बाटो परिवर्तन गर्नुपर्दछ र नेता होइन नीति परिवर्तन गर्नुपर्दछ भन्ने धारणालाई उपरोक्त घटनाक्रमहरू तथा अदृश्य प्रयासहरूको आलोकमा हेर्नुपर्छ भनिएको हो ।

नेपाली जनताले नयाँ नेपालको नयाँ 'न्यारेटिभ' सुनेको पनि १४ बर्ष पुरा भएको छ। कुनै पनि घटना र विचारको सत्य तथ्य बुझ्न १४ बर्ष को समय पर्याप्त हुन्छ। २०६३ को परिवर्तनपछि हामी कहाँ जान हिँडेका थियौं र अहिले कहाँ आइपुग्यौं, अहिले सबै स्पष्ट भएको छ। प्रत्येक नेपालीले कुनै राजनीतिक दलको कार्यकर्ता भएर होइन, स्वाभिमानी नेपाली नागरिकको हैसियतमा यस प्रश्नको जवाफ खोज्नुपर्छ। विगतमा सतहमा नदेखिएका र लुकाइएका बिदेशी शक्तिहरूको चलखेल पनि अब विस्तारै उदांगो भैरहेका छन्।

आगामी मार्गचित्र र गन्तव्यवारे पुनर्विचार गर्दा स्पष्ट हुनु जरुरी छ कि घडीको सुईलाई पछाडी फर्काउन सकिन्न।त्यो संभव छैन र आवश्यक पनि छैन। अहिलेको आवश्यकता परिवर्तनकारी र परम्परागत मूल्य मान्यता, शक्ति, संस्था र बिचार बिचको 'सिनर्जी' हो।

२०६३ पछि एकपक्षीय रुपमा प्रतिपादन र स्थापित गर्न खोजिएको नयाँ 'न्यारेटिभ' का त्रुटि र कमीकमजोरी सच्याईनु पर्छ। विगतका सबल पक्षहरु र वर्तमानका आदर्शलाई समेटेर नेपालको वास्तविक पहिचान निर्माण गर्नुपर्छ।

एजेण्डागत आधारमा भन्ने हो भने धार्मिक स्वतन्त्रता र समानतालाई संस्थागत गर्दै सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गर्न सकिन्छ। लोकतन्त्रकै मान्यताको परिधि भित्र रहने संवैधानिक राजसंस्था कायम गर्न सकिन्छ। राष्ट्रले धान्न नसक्ने प्रदेशको संरचना हटाएर केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा शक्तिशाली स्थानीय सरकार बनाउन सकिन्छ। यो बिचार प्रतिगमन होईन नेपालको वृहत्तर हितको पक्षमा रहेको अग्रगामी र प्रगतिशील अवधारणा हो। सबै नेपाली अटाउने साझा र मध्यमार्गी विकल्प र बाटो हो। यसै सन्दर्भमा सर्वस्वीकार्य र उपयुक्त 'सम्वर्द्धनवाद' को बाटो तथा सबल र समृद्ध नेपालको गन्तव्यवारे अब सबै तहमा बहस शुरु हुनुपर्छ। व्यक्ति,दल र सरकार परिवर्तन होइन, राष्ट्रनिर्माणको बाटो र गन्तव्यवारे पुनर्विचार अब साझा एजेण्डा बन्नु पर्छ ।
(२०७७ कार्तिक २६ को "नयां पत्रिका"मा प‍काशित)

राप्रपा एकता किन?

 राप्रपा एकता किन?


कमल थापा

पटकपटक फुट र जुटको श्रृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकिकृत भएको छ। नेपालको राष्ट्रिय राजनीतिमा परम्परागत मुल्य मान्यताको जगमा खडा भएको राप्रपाको एकिकरण पश्चात स्वभावतः सामान्य भएपनि केही तरंगहरु देखा परेका छन्। एकताको पृष्ठभूमि तथा भविष्यको संभावनावारे थुप्रै आशंका र आकलनहरु देखिएका छन्। कतिपयले 'पुर्वपंच' र 'राजावादी'हरुको एकतामा पुर्व राजा ज्ञानेन्द्रको हात रहेको विश्वास गरेका छन् भने केहीले हिन्दुराष्ट्रको एजेण्डा बोक्ने दलको एकिकरणमा छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको प्रेरणा रहेको अनुमान गरेका छन्। यसैगरी विगतको पृष्ठभूमिलाई दृष्टिगत गर्दै राप्रपा एकता दिगो नरहने आशंका समेत गरिएका छन्। पार्टीको बैचारिक चिन्तनका वारेमा समेत अनेक प्रकारका टिकाटिप्पणीहरु भएका छन्।

पार्टी एकतामा विभिन्न शक्तिहरुको भूमिका
राष्ट्रियता र प्रजातन्त्रका पक्षधर, हिन्दुराष्ट्रका हिमायती र राजसंस्थाप्रति आस्थाराख्ने व्यक्ति,समुह र शक्तिहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकृत होस् भन्ने चाहना र सदभाव राख्नु अस्वाभाविक होइन।तर, राप्रपाको एकिकरणमा कुनै देशी बिदेशी शक्तिहरुको प्रत्यक्ष एवं परोक्ष भूमिका रहेको छैन। वास्तवमा राप्रपाको एकता पार्टीलाई मायागर्ने कार्यकर्ता, सहयोगी र शुभभचिन्तकहरुको निरन्तरको दवावको परिणाम हो। विगतमा राप्रपा एकिकृत भएर चुनावमा जांदा संधै जनताबाट उत्साहवर्द्धक समर्थन प्राप्त गरेको छ। पटकपटकको विभाजनले पार्टी, कार्यकर्ता र पार्टीले अवलम्बन गरेको बिचारको भविष्य माथि नै गंभीर प्रश्नचिन्ह खडा भएको तथ्य सर्वविदित छ। यो तितो अनुभव बोकेका पार्टी कार्यकर्ताहरूले कुनैपनि शर्तमा पार्टी एक होस् भन्ने चाहना राखेका थिए। पार्टी विभाजन कार्यकर्ताहरुबाट भएको होइन । नेताहरुको संकिर्ण स्वार्थको कारणबाट भएको हुंदा, पार्टी एकता नभए पार्टी परित्याग गर्न बाध्य हुने धारणा आमकार्यकर्ता पंक्तिबाट आईरहेको थियो। वास्तवमा पार्टी विभाजन पछि धेरै कार्यकर्ता पलायन समेत भएका छन्।
अर्को तर्फ हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको एजेन्डा बोकेको एकमात्र दल राप्रपा गत संसदिय चुनावमा तिन प्रतिशत मत पनि प्राप्त गर्न नसकेर राष्ट्रिय पार्टी बन्न बाट वंचित रह्यो। सनातन धर्ममा विश्वास राख्ने ९४ प्रतिशत जनता भएको देशमा उक्त एजेण्डा बोक्ने एउटै मात्र दलले प्राप्त गरेको मत अत्यन्त निराशाजनक र बिडम्बनापूर्ण रहेको छ। यद्यपि विभिन्न निकायहरुबाट भएका सर्वेक्षणले अझैपनि हिन्दुराष्ट्रको पक्षमा बहुसंख्यक नेपाली जनता रहेको देखाएको छ। राप्रपाको यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी विभाजन प्रमुख कारण रहेको देखिन्छ। यस तथ्यले पार्टी एकताको पक्षमा दवाव सिर्जना गरेको छ।
यसका अतिरिक्त विगत बाह्र वर्षको राजनीतिक अभ्यासको क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी पटकपटक असफल प्रमाणित भएको तथा जनआकांक्षा अनुरुप कामगर्न नसकेको कारणले गर्दा कंग्रेस कम्युनिष्ट वाहेक अर्को एउटा शक्ति भैदिए हुन्थ्यो भन्ने आमजनताको भावनाले समेत पार्टी एकिकरणलाई प्रोत्साहित गरेको हो। पुर्व राजा वा अन्य शक्तिको सदभाव हुनसक्छ तर त्यो मुल कारक होईन।

तेस्रो धारको उदय
राप्रपाको एकिकरणबाट देशले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति प्राप्त गरेको छ। कंग्रेस कम्युनिष्ट पार्टीहरुबाट वाक्क दिक्क भएका जनताले भोट हाल्ने र भरोसा गर्न सकिने विकल्प पाएका छन्। साथै, यस एकिकरणबाट नेपालको राजनीतिमा तेस्रो बैचारिक धार र त्यसलाई प्रतिनिधित्व गर्ने 'नयाँ शक्ति'को उदय पनि भएको छ। यहाँ नयाँ शक्ति शब्दको प्रयोग सोचिविचारी गरिएको हो। राप्रपाको ईतिहास करिव तिन दशकको भएपनि यसपटकको एकिकरणको क्रममा कायम गरिएको मान्यता,अवधारणा र संकल्पलाई दृष्टिगत गर्ने होभने राप्रपा नयाँ शक्तिको रुपमा स्थापित हुन उद्यत रहेको स्पष्ट बुझ्न सकिन्छ।
२००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि हालसम्मको बहुदलीय प्रजातान्त्रिक अभ्यासको क्रममा नेपालको राजनीतिमा वामपन्थी र वामपन्थी झुकाव राख्ने विचारधारा र शक्ति निरन्तर हावि रहंदै आएको छ। प्रजातन्त्र प्राप्त हुनु अगाडीका आन्दोलन र क्रान्तीको मुख्य लक्ष्य र बिषयवस्तु स्वभावतः कसरि प्रजातन्त्र प्राप्त गर्ने भन्नेमा केन्द्रित थियो। जब प्रजातन्त्र प्राप्त भयो त्यसवखत राजनीतिक दलहरुमा राष्ट्रनिर्माणको स्पष्ट खाका, दर्शन र मार्गचित्र थिएन। फलस्वरुप ति दलका नेताहरुले पार्टीको आदर्श र नीति कायम गर्ने सन्दर्भमा नेपालको धरातलिय यथार्थका आधारमा मौलिक चिन्तन र राजनीतिक प्रणाली बिकास गर्नुको साटो भारतीय राजनितिक दलहरुको अनुसरण गर्ने सजिलो बाटो छाने। तत्कालीन समयमा भारतका दलहरु पनि पश्चिमा मुलुकमा प्रचलित सिद्धान्त र विचारबाट अत्यधिक प्रभावित रहेका थिए। युरोप र पश्चिमका अधिकांश मुलुकहरुमा त्यसबेला समाजवाद,पुंजिवाद, मार्क्सवाद जस्ता विचारहरुको बोलबाला थियो। बेलायत र युरोपका कतिपय देशहरुमा औद्योगिक क्रान्तिले सिर्जना गरेको गरिबी र असमानताको पृष्ठभूमिमा समाजवादी विचारधारा प्रवल रुपमा देखा परेको थियो। सन् १८४८ मा मार्क्स र एंगेल्सले 'कम्यनिष्ट मेनिफेस्टो' लेखे पछि बैज्ञानिक समाजवाद चर्चाको शिखरमा पुग्यो र अन्तत: साम्यवादको प्रयोग शुरुहुन थाल्यो। यि घटनाक्रमहरुबाट भारतीय राजनीतिक दलहरु अत्यन्त प्रभावित थिए। फलस्वरुप ब्रिटिश साम्राज्यवाद बिरुद्धको स्वतन्त्रता संग्रामको अग्रणी शक्ति भारतीय कंग्रेसले समाजवादको बैचारिक दर्शनलाई प्रयोगमा ल्यायो, जसलाई ‘नेहरुभियन समाजवाद’ भनेर चिनिन्थ्यो । आफ्ना स्वर्गिय पिता जवाहरलाल नेहरुको विरासतलाई निरन्तरता दिन तत्कालिन प्रधानमन्त्री ईन्दिरा गान्धीले सन् १९७६ मा समाजवादलाई संबिधानमा नै समावेश गरि दिईन् । नेहरु नेतृत्वको समाजवादको विकल्पमा साम्यवाद मुख्यरुपमा देखा पर्‍यो। नेहरुले अबलम्बन गरेको समाजवाद धेरै हदसम्म मार्क्सवादी चिन्तन बाट प्रभावित रहेको थियो।यहि परिवेशमा नेपालका राजनीतिक दलहरुले पनि भारतको बैचारिक एवं राजनीतिक प्रणालीको अन्धानुकरण गरे। नेपाली कंग्रेसले जवाहरलाल नेहरु, जयप्रकाश नारायण र राम मनोहर लोहियाको पदचिन्ह आत्मसात गर्‍यो। नेपाल कम्युनिष्ट पार्टीले पूर्णरुपमा भारतीय कम्युनिष्ट पार्टीको बैचारिक पथ अबलम्बन गर्‍यो। करिव ६० वर्ष लामो अभ्यासपछि उपरोक्त मान्यताहरुको औचित्य र महत्व माथि अहिले गंभीर प्रश्नचिन्ह खडा भएको छ। समाजवाद, मार्क्सवाद र साम्यवादको युग अन्त्य हुनलागेको स्पष्ट देखिन्छ। भारतमा कम्युनिष्ट पार्टी राजनीतिक मानचित्रबाट हराउन थालेको छ भने भारतीय कंग्रेस आफ्नो अस्तित्व रक्षाको अन्तिम संघर्षमा रहेको आभाष हुन्छ । यसै पृष्ठभूमिमा भारतीय दलहरुको बैचारिक अनुकरणबाट संपोषित नेपालका कंग्रेस र कम्युनिष्ट पार्टीहरुको राजनीतिक एवं बैचारिक उपादेयता क्रमशः कमजोर हुंदै गैरहेको बुझ्न कठीन छैन। बैचारिक उपयोगिता शिथिल हुंदै गैरहेको हुंदा नेपालका दुवै प्रमुख दलहरु राजनीतिक रुपमा असुरक्षित देखिन्छन्। यहि असुरक्षाको कारण कंग्रेस र कम्युनिष्ट दुवैमा तिव्र बैचारिक विचलन, गुटबन्दी र भ्रष्ट प्रवृत्ति हावी हुँदै गएको हो ‌।
विगत दुई दशकमा देश र जनताले आमुल परिवर्तनको आशामा धेरै ठूलो मुल्य चुकाएको छ। तर, दुर्भाग्यवश यस अवधिमा जनताले सकारात्मक परिवर्तनको अनुभव गर्न पाएका छैनन्। उपरोक्त पृष्ठभूमिमा कंग्रेस र कम्युनिष्ट पार्टीहरुको विकल्पमा जनताले तेस्रो राजनीतिक शक्तिको आवश्यकता महसुस गरेका हुन्। यस्तो आवश्यकता परिपूर्ति गर्ने होडमा अहिले अन्य केही राजनीतिक दलहरु पनि देखिएका छन्। माओवादी, नयाँ शक्ति हुंदै उपेन्द्र यादव संग सहकार्य गर्न पुगेका डा.बाबुराम भट्टराई देखि रविन्द्र मिश्रले नेतृत्व गरेको दलहरु आफुलाई कंग्रेस र कम्युनिष्ट पार्टीको विकल्प हौं भन्ने दावी गरिरहेका छन्। दावीगर्न पाउने सबैको अधिकार हो। कुनै दलको आकांक्षालाई अवमुल्यन गर्नु उपयुक्त पनि हुंदैन।तर, कंग्रेस र कम्युनिष्ट पार्टीको पदचिन्हमा हिंडेर वा उनीहरु कै एजेण्डा बोकेर कंग्रेस र कम्युनिष्ट पार्टीको विकल्प हुन सकिदैन भन्ने यथार्थ घाम झैं छर्लङ्ग छ।

अबको विकल्प राप्रपा सुशाशन र सम्बृद्धि प्राथमिकता
उपरोक्त वास्तविकताको धरातलमा राप्रपामा मात्र वर्तमान अवस्थामा नेपाली कंग्रेस र कम्युनिष्ट पार्टीको विकल्प बन्ने बैचारिक एवं सांगठनिक चरित्र र क्षमता रहेको छ भन्दा शायद गलत हुनेछैन । अनुभवले खारिएका र लामो राजनीतिक यात्राका वावजुद भ्रष्टाचार र अनियमितताको कुनै दाग नगलागेका र ईतिहासको अग्नीपरिक्षामा उतिर्ण भएका नेतृत्व राप्रपामा रहेकाे छ । राप्रपा र राप्रपा (संयुक्त) बिच एकता हुंदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको वृहत चिन्तनमा आधारित सम्बर्द्धनवाद एकिकृत राप्रपाको बैचारिक दर्शन हुने समझदारी भएको छ। सम्बर्द्धनवादको अवधारणा नेपालको राजनीतिक क्षितिजमा नविनतम प्रयोग हो । क्रान्तिकारी परिवर्तन र परम्परागत मुल्य मान्यता बिच सामन्जस्यताको मध्यमार्गी बिचार हो । हिन्दुराष्ट्र र राजसंस्थाको मुख्य एजेण्डा बोकेको हुंदा राप्रपा राजनीतिकरुपमा पछि फर्कन खोजेकाे भ्रम कतिलाई परेको छ । वास्तवमा राप्रपाले २०६३ साल अघिको राजनीतिक व्यवस्था र संस्थाकाे पुनर्स्थापना गर्न खोजेकाे होईन । परिवर्तनकारी शक्तिहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झ‍ाैताको शासकिय स्वरुप, राज्य संरचना र सांस्कृतिक व्यवस्था कायम गर्न खोजेको हो । कसैलाई पनि निषेध नगर्ने, सबै अटाउने र सबै मिलेर देश बनाउने संस्कार र पद्दति निर्माण गर्न खोजेको हो । एकिकृत राप्रपाले सुशासन र सम्बृद्धिलाई प्राथमिक कार्यनीति बनाएको छ । आर्थीक परिवर्तन विनाको राजनीतिक परिवर्तन टिकाउ नहुने हुंदा भ्रष्टचार निवारण, रोजगारीको सिर्जना र सर्वसाधारण जनताको जीवनस्तरमा गुणात्मक सुधार राप्रपाको भावि कार्यदिशा हो । यस पृष्ठभूमीमा राप्रपा पुरानो बिचार, प्रवृत्ति र कार्यशैली बोकेको दल होइन, नवीन सोच र प्रतिबद्धता ग्रहण गरेको 'नयाँ शक्ति' हो भन्दा सर्वथा अतिशयोक्ति हुनेछैन। त्यसर्थ, नेपालको राजनीतिमा अबको विकल्प राप्रपा हो ।

सम्बर्द्धनवाद के हो?
सम्बर्द्धनवाद मुलतः ‘मध्य-दक्षिणपन्थी’( center right) बैचारिक अवधारणा हो। यो अवधारणा परिवर्तन विरोधी होइन, निरन्तरता सहितको परिवर्तनको पक्षधर हो। सम्बर्द्धनवादले वैदिक सनातन मुल्य मान्यतालाई आफ्नो विचारको श्रोतका रुपमा लिएको छ। भौतिक र आध्यात्मिक पक्षको समन्वयात्मक उत्थानबाट मात्र राष्ट्रको सर्वोपरि हित हुन्छ तथा शरिर,आत्मा,मन र चेतनाको एकात्मक बिकास नै प्रत्येक व्यक्तिको आत्मोन्नतिको आधार हो भन्ने सिद्धान्त यो अवधारणाको मुख्य विशेषता हो। नागरिक स्वतन्त्रता, समावेशिता र मानवीय मूल्य प्रतिको प्रतिबद्धता यस बिचारधाराको आधारशिला हुन्। राष्ट्रियतालाई सर्वोपरि साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार र उदार अर्थतन्त्रलाई आर्थिक सम्बृद्धिको अनिवार्य शर्तका रुपमा सम्बर्द्धनवादले अंगिकार गरेको छ। कंग्रेस र कम्युनिष्ट पार्टीहरु समाजवाद र साम्यवादको वकालत गर्छन् तर व्यवहारमा राज्यनियन्त्रित पुंजिवादी अर्थतन्त्रलाई कार्यान्वन गर्छन् । राप्रपामा यस्तो विरोधाभाष, द्विविधा र अन्याैल छैन । राप्रपा आर्थीक उदारवादमा बिश्वास गर्छ तथा अर्थतन्त्रमा बजार र नीजिक्षेत्रको महत्वपूर्ण भूमिकालाई सुनिश्चित गर्दछ । यिनै बैचारिक धरातलमा उभिएर राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र,राजसंस्था सहितको लोकतन्त्र र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली नेपालको निमित्त उपयुक्त हुन्छ भनेको हो। उपर्युक्त अवधारणाको कारण राप्रपा राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोक्ने पार्टीका रुपमा स्थापित भएको छ। कंग्रेस र कम्युनिष्टको बिचार र बाटो असफल प्रमाणित भएको सन्दर्भमा राप्रपाको सम्बर्द्धनवाद राष्ट्रनिर्माणको बैचारिक मेरुदण्ड हुनसक्छ।

राप्रपा पुर्व पंचहरुको पार्टी होइन
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात २०४७ साल जेठ १५ गते विगतमा पंचायतमा संगै काम गरेका नेताहरुको अग्रसरतामा राप्रपाको स्थापना भएको हो। साथै, विगतका कतिपय सकारात्मक पक्ष र उपलव्धीहरुलाई राप्रपाले अवलम्बन गरेको छ। तर, राप्रपा पंचायतको उत्तराधिकारी वा पुर्वपंचहरुको स्वामित्व रहेको पार्टी भने होइन। पंचायती व्यवस्था अन्त हुंदा जन्म नै नभएका युवाहरु तथा पंचायत बिरुद्धको आन्दोलनमा सहभागी भएका धेरै व्यक्तिहरु अहिले राप्रपामा संलग्न रहेका छन्। पंचायतको अनुहार नै नदेखेकाहरुलाई पंचायतको विरासत बोकाउनु अन्याय र अतिशयोक्ति हुन्छ। प्रजातन्त्र प्रति निष्ठावान तथा जनताको सर्वोच्चता,संविधान र बहुलवादलाई आत्मसात गर्ने राष्ट्रवादी प्रजातान्त्रिक शक्ति वास्तवमा राप्रपाको सहि पहिचान हो। फरक बिचार र मार्गचित्रका वावजुद राप्रपा संबिधान र लोकतन्त्र प्रति प्रतिबद्ध छ। संविधानको कतिपय प्रावधानहरु प्रति असहमत रहेता पनि राप्रपाले संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्ने नीति लिएको छ। संविधानको परिधिभित्र रहेर जनताको अभिमतबाट प्रजातान्त्रिकढंगबाट आफ्ना मान्यताहरु स्थापित गर्ने राप्रपाको रणनीतिक उदेश्य हो।

अब राप्रपा कहिल्यै फुट्दैन
देशमा हाल विद्यमान परिस्थिति, भूराजनीतिक अवस्था र जनताको चाहनालाई दृष्टिगत गरेर देशलाई एउटा बलियो र भरपर्दो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने उद्देश्यका साथ राप्रपाको एकिकरण भएको हो । पार्टी एकताको निर्णय संगै यो एकता कति दिन टिक्ने हो भन्ने आशंका समेत गरिएको छ । एउटै बिचार, एउटै उदेश्य, एउटै पृष्ठभूमी र एकै दिन जन्म भएको भएता पनि स्थापनाकालमा नै दुई अलग दलहरुको रुपमा अस्तित्वमा आएको राप्रपा विगतमा छ पटक फुटने र छ पटक जुटने काम भैसकेको हुंदा उक्त आशंकालाइ स्वभाविक ठान्नु पर्दछ ।तर, यसपटकको एकता दिगो रहने केही आधारभूत कारणहरु रहेका छन् । कार्यकर्ताहरुको चाहना, देशको आबश्यकता र सिद्धान्तको ‌औचित्य माथिको खतरालाई दृष्टिगर्दा अब पार्टी फुटाउने हिम्मत शायद कसैले गर्ने छैन । साथै, पार्टी फुटाएर त्यसलाई चलाउने र व्यवस्थित गर्ने क्षमता, उमेर र वातावरण पनि कुनै नेतालाई उपलव्ध छैन । फेरि यसपटक पार्टी एकताको घोषणासभामा नेताहरुले हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ ‘गिता’ छोएर कसम खाएकोले गर्दा समेत अबको एकता स्थायि हुनेमा भर गर्न सकिन्छ ।
(२०७६ चैत)

Friday, November 6, 2020

“ कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ। टाढा टाढा सम्म गन्हाउँछ“

 


एउटा पुरानो सम्झना

“ कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ। टाढा टाढा सम्म गन्हाउँछ“

- कमल थापा 


“कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ" धेरै बर्ष अघि  एक  कम्युनिष्ट मित्रले भनेका उक्त भनाई  बारम्बार मेरो सम्झनामा आईरहन्छ। 


प्रसंग ४३ बर्ष अघिको हो। २०३४ आश्विन महिनामा म भर्खरै तत्कालीन "गाउँफर्क राष्ट्रिय अभियान"  नारायणी अंचलको सदस्य सचिवमा मनोनित भएको थिएँ। मैले आफ्नो जिम्मेवारी सम्हालेको केही महिना पछि गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय अध्यक्ष बिश्ववन्धु थापा जिल्ला भ्रमणको सिलसिलामा हेटौंडा आईपुग्नु भयो। दिनभरीको औपचारिक भेटघाट र बैठक सकिएपछि हेटौंडा स्थित 'पि डब्लु डी'को अतिथि गृहमा उहाँको रात्री भोजन र आवासको व्यवस्था मिलाईएको थियो।


 त्यसबेलाको प्रचलन अनुसार अतिथि सत्कारको जिम्मेवारी हेटौंडा नगरपालिकाले लिएको थियो।राममबहादुर खड्का नगरपालिकाको प्रधानपञ्च हुनुहुन्थ्यो। चलन अनुसार बरिष्ठ अतिथिहरू जिल्ला भ्रमणमा आउंदा अतिथिसंगै बसेर स्थानीय नेता र जिल्लाका कार्यालय प्रमुखहरू पनि खानपिनमा सहभागी हुन्थे। बिश्ववन्धु थापाले भने शयनकक्षमा नै आफूले खाना खाने जानकारी दिनुभयो। फेरि उहाँ शाकाहारी र कहिल्यै मदिरा सेवन नगर्ने हुनुहुंदो रहेछ। आयोजकलाई अप्ठ्यारो भयो। नगरपालिकाले २०/२५ जनालाई भोजनकोलागि आमन्त्रित गरिसकेको थियो। जेहोस् अतिथिको चाहना बमोजिम उहाँ कै कोठामा खाना पठाई दिएर स्थानीय अतिथिहरूले बाहिर हलमा त्यसबेलाको सबैभन्दा ठूलो राप्ती होटलबाट मगाइएको खाना र पेयपदार्थ सेवन गरे। 

 

भोलिपल्ट बिहान अध्यक्ष बिश्ववन्धु थापालाई विदाई गर्न गेस्टहाउसमा सबै भेला भए। गाडी चढ्नु अघि थापाले प्रधानपञ्चलाई खोजे। प्रधानपञ्च खड्का हस्यांगफस्यांग गर्दै आईपुगे। थापाले सोध्नु भयो-"हिजोको खानाको कति पैसा होला"?

खड्का अकमक्क परे।हात जोडेर भने-"सबै नगरपंचायतले व्यवस्था मिलाएको छ"

थापाले मानेनन्।

"मेरो खाना खर्च किन नगरपंचायतले तिर्ने? भन्नुहोस् कति हो?"


अलमलिएका खड्काले भने- "दुई सय रुपैयाँ"

थापाले खल्तिबाट आफू, ड्राइभर र गार्डको गरेर छ सय रुपैयाँ दिए। खड्काले हात थापे।यस अघि यस्तो घटनाको अनुभव कसैले गरेका थिएनन्।


जिल्ला भ्रमणबाट काठमाडौं पुगेको दुई हप्ता पछि बिश्ववन्धु थापाले पदबाट राजीनामा दिए। बिजया दशमीको दिन बि पि कोइरालाको घर गएको आरोपमा केही अतिवादी पंचहरूले उहाँको निकै बिरोध गरेपछि नैतिकताको आधारमा उहाँले राजिनामा दिनुभएको थियो। त्यसपछि कमलराज रेग्मी राजाबाट गाउँफर्क राष्ट्रिय अभियानको केन्द्रीय अध्यक्ष पदमा नियुक्त हुनुभयो। रेग्मी कम्युनिष्ट पार्टीका नेता हुनुहुन्थ्यो र पछि पंचायतमा प्रवेश गर्नु भएको हो ।


नयाँ अध्यक्षको रुपमा उहाँले पनि जिल्ला भ्रमण शुरू गर्नुभयो र एकदिन हेटौंडा आईपुग्नु भयो। परम्परा र प्रचलन अनुसार हेटौंडा नगरपंचायतले आतिथ्यको जिम्मेवारी लियो। केही महिना अघि बिश्ववन्धु थापाको व्यवहारबाट चकित रहेका नगरपंचायतका प्रधानपञ्च रामबहादुर खड्का यसपटक बढी नै सतर्क थिए।तर, रेग्मीको व्यवहार भने ठीक विपरीत देखियो। उहाँले हेटौंडा आईपुगे देखि खानपिन र आवास वारे बिशेष अभिरूचि देखाउनु भयो। खानापिन होटलमा नै व्यवस्था गर्न सल्लाह दिनु भयो। आफ्नो रूचि अनुसारको 'मेन्यु'  र 'ड्राई फ्रुट' को लिष्ट पनि दिनु भयो।


 निर्धारित समयमा खानपिन शुरू भयो।त्यसैबिच एक जटिल समस्या आइलाग्यो। नगरपंचायतले होटल राप्तीमा उपलब्ध भए अनुसारको ब्राण्डको मदिरा ' सर्भ' गर्‍यो। तर, मूख्य अतिथि रेग्मीले त्यो 'ब्राण्ड' आफूलाई नचल्ने भएकोले आफ्नो चाहना अनुसारको मदिरा जहाँबाट भएपनि खोजेर ल्याउन निर्देशन दिनुभयो। अन्यथा, रात्री भोजन नै बहिष्कार हुने संकेत देखियो। आफ्नो चाहना अनुसारको'ब्राण्ड'वारे समय मै प्रधानपञ्चलाई जानकारी नदिएकोमा रेग्मीले 'पि ए' लाई सार्वजनिकरूपमा हकारे। प्रधानपञ्च खड्का हैरान भए। चारैतिर कर्मचारी दौडाए। अन्ततः नगरपंचायतका कर्मचारीले खड्काको ईज्जत जोगाई दिए । तोकिएको 'ब्राण्ड' फेला पर्‍यो। ढिलो शुरू भएकोले झण्डै मध्यरात सम्म खानपिन जारी रह्यो। 

 

 भोलिपल्ट बिहान अध्यक्ष कमलराज रेग्मीको विदाईको निम्ति सबै गेस्टहाउसमा जम्मा भए। बिश्ववन्धु थापाले छ सय रुपैयाँ भिडाएर गएको घटनाबाट चिन्तित प्रधानपञ्च खड्का केही अलमलमा थिए। तर, कुनै असहज परिस्थिति आएन। अध्यक्ष रेग्मी प्रफुल्ल मुद्रामा हेटौंडाबाट विदा हुनुभयो।

 

 हिजोको खानपिनको बेला देखिएको असहज अवस्था मेरो मनमस्तिष्कमा घुमिरहेको थियो। नजिकै उपस्थित म भन्दा पाका र  पुरानो साथी भनेर कमलराज रेग्मीसंग भेट्न आएका साम्यवादी पृष्ठभूमिका मित्रलाई सोधें- "कम्युनिष्टहरू बैचारिकरूपले प्रतिबद्ध, त्यागी, तपस्वी, आफ्नो आदर्शको निम्ति मर्न मार्न तयार हुन्छन् भन्ने बुझेको थिएँ। तर, कमलराजजीको हिजोको व्यवहार मलाई अनौठो लाग्यो"

 

 ति मित्रले सहजरुपमा भन्नुभयो- " तपाईंले असजिलो मान्नु पर्दैन। कमलराज रेग्मी अब कम्युनिष्ट हुनुहुन्न।छोडी सक्नु भयो। फेरि बुझि राख्नोस्, कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ। टाढा टाढा सम्म गन्हाउँछ" ।

 

 गाउँफर्क राष्ट्रिय अभियान नारायणी अञ्चल सदस्यचिवको हैसियतमा बिश्ववन्धु थापा र कमलराज रेग्मी दुवैको उपरोक्त जिल्ला भ्रमणको बेला म प्रत्यक्ष उपस्थित थिएं। दुई अलग राजनीतिक पृष्ठभूमिबाट आएका दुई अध्यक्षहरूको आचरण र व्यवहारवारे मलाई संधै कौतुहलता रहने गरेको छ। 

 तर, मेरा कम्युनिष्ट मित्रको- 'कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ' भन्भने भनाई मलाई अहिले झन सान्दर्भिक लागेको छ। समकालीन 'कम्युनिष्ट कमरेडहरू' को व्यवहार, चरित्र र आचरणले उक्त भनाईलाई चरितार्थ गरिरहेको छ।

Monday, November 2, 2020

“एकपटक फेरि नेपाली जनताले मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी भएको छ”

-कमल थापा

नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभाको निर्वाचन भएको करिव ३ वर्ष पुरा हुन लागिरहेको छ । एक दशक लामो हिंसात्मक द्वन्द र त्यसपछि अर्को दशवर्ष लामो अस्थिरता र अराजकतापूर्ण संक्रमणको पीडा भोगेका जनताले नयाँ संविधानअनुसार निर्वाचन सम्पन्न भएपछि तथा जनादेश अनुसार नयाँ सरकार गठन भएपछि देशमा दिगो शान्तिको स्थापना हुने, प्रजातन्त्र बलियो हुने, राजनीतिक स्थिरता कायम रहने र देश आर्थिक समृद्धिको दिशा तर्फ उन्मुख हुने आशा गरेका थिए। 

यही आशा र बिश्वासका साथ उत्साहप्रद ढंगबाट चुनावमा सहभागी भएका नेपाली जनता फेरि निराश हुन बाध्य भएका छन् । राजनीतिक स्थिरताको निमित्त जनताले नेपाल कम्युनिष्ट पार्टीलाई अत्यधिक बहुमतले विजयी गराएका थिए। झण्डै दुईतिहाइ बहुमतका साथ नेकपाको नेतृत्वमा शक्तिशाली सरकार गठन भएको थियो।तर, दुर्भाग्यवश गत ३ वर्षको अवधिमा जनताले कुनैपनि क्षेत्रमा सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएनन्।


 कोरोना भाइरसको अत्यन्तै खतरनाक र डरलाग्दो महामारीबाट विश्व समुदाय अहिले  पिडित रहेकोछ । नेपाल पनि यो महामारीबाट प्रभावित र पिडित रहेको छ । निश्चय पनि यो महामारी कुनै राजनीतिक दल वा सरकारले खडा गरेको समस्या होइन । तर महामारीबाट पिडित रहेको अवस्थामा स्वाभावत: आफूले निर्वाचित गरेको सरकार, राजनीतिक दल एवं नेताहरुमाथि जनताले ठूलो आडभरोसा राखेका हुन्छन्। तर नेकपा नेतृत्वको वर्तमान सरकारले कोरोना महामारीबाट पीडित नेपाली जनतालाई राहतको अनुभूति दिन सकेन । 'सरकार छ, सरकारले हेर्छ, चिन्ता गर्नुपर्दैन'  भन्ने भरोसा सरकारले दिन सकेन। कोरोना नियन्त्रणमा सरकार पूर्णरुपले असफल सावित भएको छ। सरकारको उपस्थिति जनताले महसुस गर्न पाएका छैनन् । 

 

 अर्कोतर्फ महिलाविरुद्धको हिंसा केही बर्षयता नेपालमा व्यापक हुँदै गैराखेको छ । सरकारले यो समस्याको समाधानमा पनि प्रभावकारी उपस्थिति देखाउन सकेन। कन्चनपुर, महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार  र हत्याका अपराधीहरुलाई सरकारले अझै कानुनको कठघरामा उभ्याउन सकेको छैन । 

 

नेपालमा भ्रष्टाचार अहिले डरलाग्दो महारोगकोरुपमा देखा परेको छ। लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरुले व्यापारी र कर्मचारीहरूको ‘त्रिकोणात्मक गठबन्धन’ तयार गरेर हरेक क्षेत्रमा ब्रह्मलुट गरिराखेका छन् । स्थानीय तहदेखि केन्द्रसम्म अनियन्त्रितरूपले अनियमिता र भ्रष्टाचार व्यापक भएको छ । भ्रष्टाचार र ब्रह्मलुटलाई नियन्त्रण गर्ने, अनुसन्धान गर्ने, कारवाही गर्ने निकायहरू नै सरकारको लाचार छायाँ बन्न पुगेका छन्।

 

यद्यपि, राज्य संयन्त्र माथि आफ्नो कब्जा जमाएर निहित राजनीतिक स्वार्थ परिपूर्ति गर्ने प्रवृत्ति नेपाली राजनीतिमा विगत केही वर्षदेखि निरन्तर चलिआएको छ । तर, यस कार्यलाई नियन्त्रण गर्नुको सट्टा  राज्यसंयन्त्रलाई प्रभावित गर्ने, नियन्त्रण गर्ने र दुरुपयोग गर्ने कार्य वर्तमान सरकारको कार्यकालमा अझ बढी योजनाबद्ध र संस्थागतरुपमा भइरहेको छ । संवैधानिक निकायहरु हुन् वा प्रशासनिक संयन्त्र, कुटनैतिक क्षेत्र होस् वा शैक्षिक क्षेत्र, न्यायपालिका होस् वा सुरक्षा अंग, प्रायः सबै ठाउँहरुमा पार्टी समर्थित व्यक्तिहरू भर्तीगर्ने र उनीहरूको माध्यमबाट निहित  स्वार्थ पुरा गर्न प्रोत्साहित गर्ने  'सर्वसत्तावादी' प्रवृत्तिको नेपालको इतिहासमा अहिले सर्वाधिक हावि भइरहेको स्पष्ट देख्न सकिन्छ। 


२०६३ सालमा बाह्य शक्तिको दवाव र प्रभावमा नेपालको सनातन हिन्दु राष्ट्रको पहिचानलाई समाप्त गरेपछि धर्मनिरपेक्षताको आडमा निरन्तर योजनाबद्ध र संगठितरुपले धर्मपरिवर्तन गराउने कार्य भइरहेको तथ्य सर्व विदितै छ । संगठितरूपमा नेपालको धार्मिक सांस्कृतिक क्षेत्रमाथि अतिक्रमण भइरहेको छ । 


अर्कोतर्फ, नेपालको परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ, हचुवापन हावि भएको छ। भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो।तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ। नेकपा नेतृत्वको वर्तमान सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको अवस्था छ।


यसप्रकार नयाँ संविधान जारी भएपछिको झण्डै आधा दशकको अवधि राष्ट्रिय हितको दृष्टिले निराशाजनक र प्रत्युत्पादक हुनपुगेको छ। राजनीतिक,आर्थिक, सामाजिक सांस्कृतिक सबै क्षेत्र अहिले अस्तव्यस्त हुन पुगेका छन् । 


विद्यमान संकटबाट राष्ट्रलाइ मुक्त तुल्याउन अग्रणी भूमिका निर्वाह गर्नुपर्ने सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विगत तीन वर्षदेखि निरन्तर सत्ताकेन्द्रित फोहोरी प्रतिस्पर्धामा संलग्न रहेको छ । नेकपाका आन्तरिक विवाद र संघर्षका घिनलाग्दा घटनाक्रमहरू  विगत तीन वर्षदेखि राष्ट्रिय राजनीतिमा अविच्छिन्न मञ्चन हुँदै आइराखेका छन्।


अर्कोतर्फ, प्रजातान्त्रिक व्यवस्थामा वैकल्पिक सरकारकोरुपमा रहेर सरकारलाई नियन्त्रणमा राख्ने र सरकारलाई जवाफदेही तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस समेत लाचार र  'किं कर्तव्य विमुढ' को अवस्थामा रहेको छ । वास्तवमा मुलुकमा विद्यमान विकृति र विसंगतिको निमित्त जसरी सत्तारुढ दल नेकपा जिम्मेवार रहेको छ, त्यसैगरी त्यस्ता विकृति र विसंगतिहरु नियन्त्रण गर्न असफल भएर मात्र होइन, स्वयं आफू पनि त्यस्ता कार्यहरूमा सहभागी भएको कारण नेपाली कांग्रेसले आफ्नो संवैधानिक राजनीतिक जिम्मेवारी निर्वाह गर्न सकेको छैन । भ्रष्टाचार र ब्रम्हलूट गर्ने कार्यदेखि राज्यसत्ता माथि कब्जा गर्ने कार्यमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल  दुवैले साझेदारी, भागवण्डा र सहमति कायम गरेका छन्। 


यस पृष्ठभूमिमा स्वाभाविक रूपले आमजनताको मन मष्तिक एउटा 'यक्षप्रश्न'  बारम्बार उठ्ने गर्दछ - आखिर किन यस्तो भइरहेको छ ? केही यी समस्याहरूको समाधान छैन ? के संकट, विकृति र विसंगति नेपाली जनताको नियति हो ?

नेपाली जनताको उक्त चिन्ता र चासो स्वभाविक छ । पटक-पटकका क्रान्ति, आन्दोलन, विद्रोह पछि आमूल परिवर्तनको सपना देखाएर सत्तामा पुगेका संवाहकहरू नै अन्ततः विकृति, संकट र ब्रह्मलुटका मूख्य पात्र बन्ने गरेका छन्।


आखिर किन यस्तो प्रवृत्ति दोहरी रहन्छ?


 जनताको सशक्त बहुमत प्राप्त गरेर सत्तारुढ भएको नेकपा विवाद र विभाजनको संघारमा पुग्न लागेको वर्तमान घडीमा उक्त प्रश्न फेरी एकपटक जनताको मन मष्तिष्कमा उठ्न थालेको छ। तर, उक्त प्रश्नको जवाफ खोज्दा सतहमा होईन, गहिराइमा पुगेर घटनाक्रमको समीक्षा र बिश्लेषण गर्नु उपयुक्त हुनेछ। कुनै पनि दलको विभाजनलाई उपयुक्त वा राम्रो मान्न सकिदैन। नेकपा पनि नफुटोस्। आफ्नो अकर्मण्यता,अलोकप्रियता र असफलताको बोझले दलदलमा भासिएको नेकपालाई उनीहरूको बिश्वास र भरोसा नभएको भगवानले मात्र अब जोगाउन सक्छन्।

 

यहाँ प्रश्न नेकपा वा नेपाली कंग्रेसको होईन। प्रश्न हरेक आमूल परिवर्तन पछि संगै गांसिएर आउने असफलता र प्रतिक्रान्तिसंग सम्वन्धित छ । वास्तवमा २००७ सालदेखि २०६२/६३ सम्म नेपालमा भएका सबै परिवर्तनका सुत्रधार र प्रायोजक वाह्य शक्ति, त्यसमा पनि मुख्य रूपले छिमेकी भारत रहंदै आएको वारे कुनै विवाद छैन्। परिवर्तन पछि ती सुत्रधार वा प्रायोजकहरूले परिवर्तित सन्दर्भमा आफ्नो भूमिका वा योगदानको मूल्य असुल्न गरेको प्रयास एवं राष्ट्रिय आकांक्षा बिचको द्वन्दले पनि परिवर्तनलाई संस्थागत हुनबाट नकरात्मक ढंगले प्रभावित गर्ने गरेको तथ्य अस्वीकार गर्न सकिन्न ।


यसका अतिरिक्त २०६२/६३ को परिवर्तनको सन्दर्भमा भने केही फरकरूपमा पनि चिन्तन मनन हुनु जरुरी छ। नेपालमा २०६२/६३ मा भएको सडक संघर्षको आधार वा भावभूमि  तत्कालीन भारतीय शासकवर्गको प्रत्यक्ष सहयोग संलग्नता र प्रायोजनमा दुई विपरीत गन्तव्यमा हिँडेका शक्तिहरू बिच नयाँदिल्लीमा भएको बाह्र बुंदे समझदारी थियो।हुनत सो बाह्र बुंदे समझदारी हुनु केही बर्ष अगाडीदेखि युरोपियन युनियन सम्बद्ध केही राष्ट्रहरूले धर्मनिरपेक्षता, गणतन्त्र र कथित 'पहिचानमा आधारित' संघीयताको पक्षमा माओवादी लगायत अन्य राजनीतिक शक्तिहरू, नागरिक समाज र बुद्धिजीवी वर्ग र आम संचारमाध्यममा आर्थिक  र राजनीतिक लगानी गर्दै आएको तथ्य समेत स्पष्ट छ। 


उपरोक्त यथार्थबाट सुस्पष्ट हुन्छ-  पहिलो, २०६२/६३ को आन्दोलनको सुत्रधार र प्रायोजक भारतीय शासकवर्गका साथै पश्चिमा मुलुकहरु पनि थिए। 

दोस्रो, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको मौलिक एजेण्डा थिएन ।


 तेस्रो, माओवादी र संसदवादी दलहरूबीचको समझदारी अस्वभाविक र अप्राकृतिक थियो।

 

 उपरोक्त यथार्थको आलोकमा देशले हाल भोग्नुपरेको संकट र विकृतिको दिगो समाधान खोज्ने साहस गरिनुपर्छ। अन्यथा, तत्काल देखिएका लक्षणहरूको उपचारबाट मात्र  समस्याको दीर्घकालीन समाधान हुंदैन । 

 

 समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा  सरकार परिवर्तनबाट मात्र संभव छैन। निश्चय पनि व्यक्ति,दल र सरकार दोषी हुन्। तर, मार्गचित्र, अवधारणा र नीतिमा सुधार नगरेसम्म 'कस्मेटिक' परिवर्तनको कुनै अर्थ रहँदैन। 

 

केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै अमुक दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँन सक्दैन ।


विगत चौध वर्षको राजनीतिक अभ्यासलाई दृष्टिगत गर्दै एकपटक फेरि नेपाली जनताले मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी भएको छ ।

बिदेशीको दवाव र प्रभावमा बाह्रवुंदे समझदारी अनुरूप तयार गरिएको परिवर्तनको मार्गचित्रवारे पुनर्विचार गर्ने राष्ट्रिय सोच विद्यमान संकट समाधानको प्रस्थान विन्दु हुनसक्छ। साथै, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यतावारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्ने वारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ। 

२०७७ कार्तिक १७ सोमवार