विश्वकप फुटबल: मेरा केही अविस्मरणीय संस्मरणहरू
अहिले संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आयोजनामा 'फिफा विश्वकप २०२६' भव्य रूपमा सञ्चालन भइरहेको छ। सिंगो विश्वको ध्यान यतिबेला विश्वकपतर्फ आकर्षित हुनु स्वाभाविकै हो। एक फुटबलप्रेमी भएका नाताले यो महाकुम्भप्रति मेरो पनि विशेष उत्सुकता र आकर्षण छ। अहिले पनि अनुकूल मिल्नासाथ म नियमित रूपमा विश्वकपका खेलहरू हेरिरहेको छु। यही माहोलका बीच, विश्वकप फुटबलसँग जोडिएका मेरा केही पुराना संस्मरणहरू यहाँ लिपिबद्ध गर्न मन लागेको छ।
बाल्यकालदेखि नै विश्वकपको निकै चर्चा सुन्ने गरे पनि सुरुका दिनमा खेल प्रत्यक्ष हेर्ने अवसर मिलेन। सन् १९७० को दशकको अन्त्यतिर भिडियो रेकर्ड गरिएका क्यासेटहरू नेपाल भित्रिन थालेपछि मात्र हामीले 'भिडियो डेक' मार्फत टेलिभिजनको पर्दामा रेकर्डेड खेलहरू हेर्न पायौँ। विश्वकपका पुराना खेलहरू मैले त्यसरी नै हेरेको थिएँ। त्यतिबेलासम्म नेपालमा टेलिभिजनको प्रसारण सुरु भइसकेको थिएन। तर, विश्वकपका खेलहरू प्रत्यक्ष (लाइभ) हेर्ने चाहना म र मेरा समकालीन साथीहरूमा तीव्र रूपमा जागृत भइसकेको थियो।
फलस्वरूप, सन् १९७८ मा अर्जेन्टिनामा भएको ११औँ विश्वकपका केही खेलहरू हामीले अनेक जुक्ति लगाएर प्रत्यक्ष हेर्न सफल भयौँ। त्यस बखत प्राविधिक ज्ञान भएका एकाध व्यक्तिहरूले मात्र घरको छानामा ठूलो छाता जस्तो 'डिस एन्टेना' जडान गरेर विदेशी च्यानलहरू समात्ने गर्थे। त्यस्ता व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौँको मैतीदेवी निवासी एकजना इन्जिनियरबारे जानकारी मिल्यो, जो रुसबाट पढेर फर्किएका थिए। उनीसँग सम्पर्क गरेर हामीले केही खेलहरू प्रत्यक्ष हेर्ने निधो गर्यौँ। फुटबलका चरम पारखी म, मेरा आदरणीय दाजु नेत्रबहादुर थापा (जो अहिले नेपाली सेनाको रथी पदबाट अवकाशप्राप्त भइसक्नुभएको छ) र मेरा अभिन्न मित्र एवं पूर्वमन्त्री दीपक बोहरा (जसको अहिले स्वर्गारोहण भइसकेको छ) राति अबेरसम्म नसुती मैतीदेवी पुग्ने गर्थ्यौँ। रात्रिको सन्नाटामा बसेर त्यसरी विश्वकपको प्रत्यक्ष प्रसारण हेरेको त्यो पल अहिले पनि मेरो मानसपटलमा मधुर स्मृतिका रूपमा ताजा छ।
भाग्यवश, सन् १९८२ को विश्वकप फाइनल खेल भने मैले स्पेनको राजधानी म्याड्रिडस्थित रङ्गशालामै उपस्थित भएर हेर्ने सुवर्ण अवसर पाएँ। विक्रम संवत् २०३४ साल असोजमा तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनीत भएपछि २०३५ साल चैतमा मलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्ष हुने सौभाग्य मिल्यो। त्यतिबेला म मात्र २३ वर्षको ठिटो थिएँ र फुटबलको उदाउँदो खेलाडीका रूपमा सक्रिय थिएँ। म संकटा क्लबबाट फुटबल खेल्थेँ। संकटाबाट खेल्ने क्रममै मैले काठमाडौँको प्रतिष्ठित 'ए' डिभिजन सहिद स्मारक लिग र त्रिभुवन च्यालेन्ज शिल्ड जित्ने अवसर पाएको थिएँ। त्यस्तै, राष्ट्रिय स्तरको 'नर ट्रफी' प्रतियोगितामा नारायणी अञ्चलको तर्फबाट खेलेर हामी प्रथम भएका थियौँ। त्यतिबेला म भर्खरै नेपालको राष्ट्रिय टोलीमा समेत छनोट भइसकेको थिएँ। तर, अप्रत्याशित रूपमा एन्फा अध्यक्षको गम्भीर जिम्मेवारी काँधमा आएपछि मैले बिस्तारै मैदानको सक्रिय खेल जीवनबाट सन्यास लिएँ।
यसैबीच, एन्फा अध्यक्षको हैसियतमा म एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यकारी समिति सदस्यमा समेत निर्वाचित भएँ। यी दुई जिम्मेवारीका कारण मलाई एसिया र विश्वका विभिन्न मुलुकमा हुने फुटबल गतिविधिमा सहभागी हुने अवसर मिल्दै गयो। यसै सिलसिलामा सन् १९८२ मा स्पेनमा १२औँ विश्वकप आयोजना भयो। सोही प्रतियोगिताको दौरान आयोजित 'फिफा कङ्ग्रेस' मा भाग लिने अवसर मैले पाएँ।
विश्वकप आफैँमा एउटा महापर्व हो। स्पेनका विभिन्न सहरहरू उत्सवमय बनेका थिए। फाइनल खेल म्याड्रिडको प्रसिद्ध रङ्गशालामा तय भएको थियो। खेल सुरु हुनुभन्दा केही घण्टा अघिदेखि नै पूरा म्याड्रिड सहर फुटबलको रङमा रंगिएको थियो। सडकहरू दुलही झैँ सिँगारिएका थिए। रङ्गीचङ्गी पहिरनमा सजिएका, विभिन्न बाजागाजासहित फाइनलमा पुगेका टोलीका झण्डा र ब्यानर बोकेका समर्थकहरूको विशाल सागर जताततै देखिन्थ्यो। फिफाका प्रतिनिधि भएकाले हामी खेल सुरु हुनु एक घण्टा अगावै रङ्गशाला छिर्नुपर्ने नियम थियो, तर सर्वसाधारण दर्शकहरू त तीन-चार घण्टा अघिदेखि नै भित्र बसेर उत्सव मनाइरहेका थिए। रङ्गशालाभित्रको त्यो अभूतपूर्व माहोल, लाखौँ दर्शकको गगनभेदी गर्जन र रङ्गीन वातावरणको कम्पन मेरो मनमस्तिष्कमा आज पनि उत्तिकै ताजा छ।
त्यस ऐतिहासिक फाइनलमा विश्व फुटबलका दुई महाशक्ति– पश्चिम जर्मनी र इटाली आमनेसामने थिए। खेलमा जर्मनीले उत्कृष्ट प्रदर्शन गरेता पनि नतिजा इटालीको पक्षमा गयो। सो खेलमा इटालीका 'पाउलो रोसी' चम्किलो ताराका रूपमा उदाए। फाइनलको पहिलो गोल उनैले गरेका थिए। अन्ततः जर्मनीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै इटालीले विश्वकपको उपाधि चुम्यो।
सन् १९८२ को विश्वकप फाइनल रङ्गशालामै हेरे पनि सन् १९८६ को मेक्सिको विश्वकप (१३औँ संस्करण) भने मैले काठमाडौँमा साथीहरूकै माझ टेलिभिजनको पर्दामा हेरेँ। त्यतिबेला नेपालमा भर्खरै 'नेपाल टेलिभिजन' को स्थापना भएको थियो। स्थापनाको छोटो अवधिमै नेपाल टेलिभिजनले उक्त विश्वकपको प्रत्यक्ष प्रसारण गरेर नेपाली खेलकुद इतिहासमा एउटा ठूलो कीर्तिमान कायम गरेको थियो।
यस पटकको सन् २०२६ को विश्वकप फुटबल इतिहासमै पहिलो पटक तीनवटा राष्ट्रहरूले संयुक्त रूपमा आयोजना गरिरहेका छन्। सहभागिताको हिसाबले पनि पहिलो पटक ४८ मुलुकहरू यसमा भिड्दै छन् र खेलका केही नियमहरूमा परिमार्जन समेत गरिएको छ। यी सबै विशेषताका कारण यस पटकको विश्वकप अझ बढी रोचक र अविस्मरणीय रहने पक्का छ।
यस विश्वकपमा मेरो व्यक्तिगत मनपर्ने (फेभरेट) टोली पोर्चुगल हो। क्रिस्टियानो रोनाल्डोको प्रशंसक (फ्यान) भएकाले उनको खेल जीवनमा एक पटक विश्वकपको ट्रफी उचालेको हेर्ने मेरो तीव्र चाहना छ। यसबाहेक, म इङ्गल्याण्ड र जर्मनीको पनि समर्थक हुँ। एसियाली मुलुकहरू मैदानमा उत्रिँदा भने मेरो स्वाभाविक समर्थन एसियाली राष्ट्रहरूतर्फ नै हुनेछ। यद्यपि, हालसम्मको खेल प्रदर्शन र सम्भावनाका आधारमा विश्लेषण गर्ने हो भने फ्रान्स, अर्जेन्टिना, ब्राजिल र स्पेन निकै उत्कृष्ट एवं बलिया दाबेदार देखिएका छन्।
