Monday, August 8, 2022

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद

 राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद


-कमल थापा

१) सर्वप्रथमत: राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगेकोमा धन्यवाद दिन चाहन्छु । जानेर वा नजानेर भएपनि उक्त निवेदनले राप्रपा नेपालको दाविलाई धेरै ठूलो सहयोग पुगेको छ । तर, सो निवेदनमा व्यक्त दुराशयले भने अलि खिन्न बनाएको छ । वास्तवमा राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिचार र मान्यतामा धेरै समानता छ । केही विषयमा मतभेद छ, तर त्यो पनि कालान्तरमा निराकरण हुने विषय हो । विगतमा तत्कालिन राप्रपाका सबै हस्तिहरु गणतन्त्रको पक्षमा रहँदा हामीले राजासहितको प्रजातन्त्रको एजेण्डा बोकेका थियौँ । पछि सबै त्यही बिचारमा समाहित हुन आउनु भयो । राजा वा राजसंस्था हामीले परिकल्पना गरे अनुसारको साझा अभिभावक बन्न नसक्ने र एउटा पार्टीको पनि एकपक्षको पक्षपोषणमा उत्रिए पछि देशको धरातलिय यथार्थ र जनभावनाको सम्मान गर्दै हाम्रो मान्यतामा हामीले केही परिमार्जन गरेका हौँ । विगतमा झै हाम्रै बैचारिक लाईनमा सबै आउनु पर्ने यथार्थ घाम झै छर्लङ्ग छ । त्यसर्थ केही प्रारम्भिक तिक्तताका वावजुद भविष्यमा दुवै पार्टी बिच सहकार्यको संभावना सदैव जिवित छ । देशमा बलियो राष्ट्रवादी शक्ति बनाउने सन्दर्भमा त्यो आबश्यक पनि छ । यो वास्तविकतालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्तमान नेतृत्वले शायद बुझ्न सकेको छैन । नत्र राप्रपा नेपालको “गाई” चिन्ह पाउँ भन्ने मागमा अवरोध खडा गर्ने हेतुले सर्वोच्च अदालतमा आउने थिएन ।

२) राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा पेश गरेको निवेदनले म माथी पार्टी फुटाएको भनि लाग्दै आएको आरोप गलत थियो भन्ने साबित गरि दिएको छ । उक्त निवेदनमा स्वयं राष्ट्रिय प्रजातन्त्र पार्टीले आधिकारिकरूपमा “कमल थापा पार्टी अध्यक्षमा पराजित भएपछि विधिवत दल विभाजन नभई निज कमल थापा एकल व्यक्तिले राप्रपा पार्टी परित्याग गरी लाक्पा तामाङ अध्यक्ष रहेको राप्रपा नेपालमा प्रवेश गरेको” भनि अदालत समक्ष लिखित जानकारी दिएबाट पार्टी विभाजनको आरोपबाट मैले मुक्ति पाएको छु । यसमा सामान्य 'करेक्सन' गर्न चाहन्छु। वास्तवमा पार्टी अध्यक्षमा पराजित भएपछि होईन, हाम्रो मूलभूत मान्यतामा आघात पुगेपछि र त्यसलाई पार्टी भित्रै बसेर सुधार गर्ने संभावना नदेखे पछि तथा पार्टी भित्र गलत प्रवृत्ति हावी भएपछि महाधिवेशन सम्पन्न भएको करिव ३ महिना पछि मात्र मैंले अत्यन्त भारि मनले पार्टी परित्याग गरेको हो।


३) यसैगरी “जहाँ कमल थापा, त्यहाँ गाई” भन्ने मानसिकताबाट प्रेरित भएर कमल थापाले “गाई” चिन्ह माग गरेको भनि राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्वोच्च अदालतमा निवेदन दिएबाट विगतमा कमल थापाले “गाई बेच्यो” भन्ने आरोपबाट समेत मैले मुक्ति पाएको छु । वास्तवमा “गाई” चिन्ह नछोड्ने र “हलो” चिन्ह नलिने हो भने पार्टी विभाजन हुन्छ भन्ने त्राश देखाई मलाई एक्लो पारेर “गाई” छोड्न वाध्य पार्नेहरु नै अहिले सर्वोच्च अदालतमा “गाई” आफ्नो पार्टीको पर्यायवाची भएको भन्दै अदालतमा वकालत गर्न आउँदा म आश्चर्यचकित र रणभुल्लमा परेको छु ।

४) राप्रपाको तर्फबाट पेश गरिएको निवेदनका विभिन्न प्रकरणमा बहुदलिय व्यवस्था पुनःस्थापना पछि “गाई” चिन्ह कुन कुन पार्टीले प्रयोग गरेको थियो भन्ने विषय उल्लेख छ । यही विषय रिट निवेदकका रुपमा हामीले पेश गरेको निवेदन र संलग्न दस्तावेजमा उल्लेख भएका छन् । त्यसले विगतमा “गाई” चिन्ह प्रयोग भएको र त्यसले राष्ट्रिय चिन्हको सम्मान र संरक्षणमा कुनै वाधा व्यवधान नपरेको हाम्रो दाविलाई थप पुष्टि गरेको छ ।


५) “गाई” चिन्ह र राप्रपा पर्यायवाची भन्ने दाविको कुनै कानुनी आधार छैन । साथै, “गाई” चिन्ह राप्रपाको पहिचानसँग गाँसिएको हो भने सो चिन्ह छोडेर/परिवर्तन गरेर “हलो” किन लिएको भन्ने प्रश्न स्वभाविकरुपमा उठछ । लामो समयसम्म “गाई” चिन्ह प्रयोग गरेको आधारमा राप्रपाको पहिचानसँग गाँसिएको तर्क गर्ने हो भने बहुदलीय व्यवस्था पछि हालसम्मको कुरा गर्ने हो भने राप्रपा (थापा) को उन्नाईस महिना (२०४७-४८) र तत्कालिन राप्रपा नेपालसँग गाँसिएर एकिकृत राप्रपा भएको कुल पाँच वर्ष (२०७३-७७) वाहेक करिव २६ वर्ष राप्रपाले “हलो” चुनाव चिन्ह प्रयोग गर्दै आएको छ । त्यति लामो समय प्रयोग गरेको चिन्हको तुलनामा केही वर्ष प्रयोग गरेको चिन्हसँग पहिचान गाँसिएको तर्क अनौठो छ ।


६) कुनै कालखण्डमा एक दलले प्रयोग गरेको चिन्ह कालान्तर सम्म कसैलाई प्रयोग गर्न दिनु हुँदैन भन्ने दावि हास्यास्पद छ । दुई वा दुई भन्दा बढी दलहरु गाभिएर एउटै दल भएको अवस्थामा पुरानो दलले प्रयोग गरेको चिन्ह कानुनतः एकवर्ष “फ्रिज” हुन्छ । त्यसपछि त्यो चिन्ह अन्य पार्टी वा स्वतन्त्र उमेदवारले प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । कुनै पार्टीले एक समयमा प्रयोग गरेर छोडेको चिन्ह अन्य पार्टीले प्रयोग गर्न कानुनले निषेध गरेको छैन । वास्तवमा एउटा पार्टीले छोडेको चिन्ह अन्य दलहरूले प्रयोग गरेको थुप्रै उदाहरण छन् । राप्रपा नेपालले हाल अस्थायि रुपमा प्रयोग गरी रहेको चिन्ह “तीर” पनि तत्कालिन राष्ट्रिय जनता पार्टीको थियो । स्वयं निवेदकले पेश गरेको निवदेनमा नै २०७३ सालमा राप्रपाले छोडेको “हलो” पशुपती शमसेर राणाको नेतृत्वमा २०७४ भाद्र २२ मा गठित राप्रपा(प्रजातान्त्रिक) र प्रकाश चन्द्र लोहनीको नेतृत्वमा २०७३ चैत १९ मा गठित राप्रपा(राष्ट्रवादी)ले “हलो” चिन्ह लिएको तथ्य उल्लेख छ । केही समय अघि मात्र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ती पार्टीले प्रयोग गरेको “आँखा” चिन्ह निजले छोडेपछि नेपाल समाजवादी पार्टीले लिएको र अहिले फेरी स्वयं डा. बाबुराम भट्टराई र महेन्द्र यादव अध्यक्ष भएको पार्टीले “आँखा” चिन्ह लिएको तथ्य सार्वजनिक भएको छ ।

६) पहिले हाम्रो पार्टीको चिन्ह थियो, त्यसैले त्यो अरुलाई दिनु हुन्न भन्ने मान्यता स्थापित हुने हो भने भविष्यमा यस्ता थुप्रै मुद्दाहरु आउँछन् । माधव नेपाल जीको पार्टीले पनि “सूर्य” चिन्ह नेकपा(एमाले) लाई दिनु हुन्न भनि माग गर्ने बाटो खुल्छ ।


८) “जहाँ कमल थापा, त्यहाँ “गाई” भन्ने भनाई केवल राजनीतिक नारा जस्तो भयो । यसको जवाफ त राजनीतिक पक्षबाट मात्र हुनसक्छ । सर्वोच्च अदालतबाट यसको निराकरण हुन सक्दैन ।


९) राप्रपाको झण्डमा रहेको “गाई” रहेकोले राप्रपा नेपाललाई दिन मिल्दैन भन्ने तर्कको पनि कुनै कानुनी आधार नै छैन । विभिन्न पार्टीहरुले एउटै झण्डा प्रयोग गरेको र निर्वाचन आयोगले मान्यता दिएको उदाहरण छ । नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीहरुको झण्डा एकै प्रकारको छ । राप्रपा नेपालको “गाई” चिन्ह हुँदा राप्रपाले चाहेमा “गाई” अंकित झण्डा प्रयोग गर्न नपाउने कुनै कारण छैन । कतिपय कम्युनिष्ट पार्टीहरुको झण्डामा प्रयोग भएको “हँसिया हथौडा” नेकपा(माओवादी केन्द्र) को चुनाव चिन्ह रहेको तथ्य स्पष्ट छ ।


१०) निवेदकको दावि नितान्त मनोगत र राजनीतिक कुण्ठाले भरिएको छ । निवेदनको झटारो फ्याँकेर अदालती प्रक्रिया लम्ब्याउन सकिनछ कि भन्ने दुराशय देखिन्छ । सो निवेदनको कुनै कानुनी आधार र तर्क छैन । बरु “गाई” चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णय कानुन सम्मत थिएन भन्ने पुष्ठि भएको छ ।

Wednesday, August 3, 2022

"ईडनबरामा नेपाली विरताको सम्मान"




 "ईडनबरामा नेपाली विरताको सम्मान"

-कमल थापा

केही दिनदेखि बेलायत भ्रमणमा रहेको छु। यसैबिच हिजो स्कटल्याण्डको राजधानी ईडनबरा स्थित प्रख्यात “ईडनबरा क्यासल” हेर्ने अवसर प्राप्त भयो। उक्त क्यासल भित्र रहेका विभिन्न ऐतिहासिक सामाग्रि र स्तम्भहरु मध्य एक महत्वपूर्ण आकर्षण ‘युद्ध संग्रहालय’ पनि रहेछ। 

ब्रिटिश साम्राज्यसँग सन् १८१४ देखि १८१६ सम्म नेपालले युद्ध लडेको कारण उक्त युद्ध संग्रहालयमा नेपाल वारे केही सामग्री छन् कि भन्ने उत्सुकताको कारण म स्वभाविकरुपले संग्रहालय तर्फ आकर्षित भएँ। 

हामी नेपालीको निम्ति अंग्रेजसँगको सो युद्धको ऐतिहासिक महत्व रहेको छ । सो युद्ध नेपाली ईतिहासको अविस्मरणीय घटना हो । यही युद्धको परिणामस्वरुप नेपालले करिव एकतिहाइ आफ्नो भूभाग गुमाउनु परेको तितो सत्य स्वाभिमानी नेपालीको मनमस्तिष्कमा अंकित रहने गरेको छ ।

राष्ट्रनिर्माता श्री ५ पृथ्विनारायण शाहको नेतृत्वमा शुरु भएको नेपाल एकिकरण अभियान फैलिँदै जाँदा कालान्तरमा नेपालको पश्चिम सिमाना  हालको भारतीय भूमी कुमाउ, गढवाल सहित सतलज नदीसम्म पुगेको थियो। सन् १८०९ सम्ममा नेपालको सिमा पूर्वमा टिस्टा र पश्चिममा सतलज सम्म फैलिएको थियो। पश्चिम तर्फको एकिकरण अभियानको नेतृत्व अमरसिंह थापाले गरेका थिए । 

तिव्र गतिमा नेपाल राज्यको विस्तार हुँदै गएको देखेपछि तत्कालीन ब्रिटिश साम्राज्यले सन् १८१४ मा बुटवल स्युराजको सानो भूभागको सामान्य विवादलाई वहाना बनाएर नेपालसँग युद्ध शुरू गरेको थियो। ‌मुलुकको सार्वभौमिकता र स्वतन्त्रता रक्षाका निम्ति अंग्रेजले थोपरेको युद्ध लड्नु वाहेक नेपालसँग अर्को विकल्प थिएन। करिव दुई वर्ष लामो युद्धकालमा नेपालले ब्रिटिश साम्राज्यसँग डटेर सामना गर्‍यो।

नेपाली फौजको तुलनामा अंग्रेजी फौज संख्यामा पनि धेरै बढी र आधुनिक हातहतियारले समेत सुसज्जित रहेको थियो। तर, नेपाली पक्षको रणकौशल तुलनात्मकरुपले उच्च स्तरको रहेको तथ्यलाई त्यसबेला शत्रुपक्षले पनि उदाहरणीय ठानेको पाइन्छ । सन् १८१४ मा शुरुभएको युद्ध १८१५ मार्चदेखि चरमोत्कर्षमा पुगेको थियो । उक्त घमासान युद्धको क्रममा नेपालको पश्चिमी सिमा क्षेत्रमा १८१५ अप्रिलमा नेपाली सेनाका एक बहादुर सेनापति हस्तिदल शाहीले वीरगति प्राप्त गरे । त्यस लगत्तै मलाउँको किल्लाको रक्षाका निम्ति तैनाथ त्रिहत्तर वर्षका सरदार भक्ती थापाले अद्वितीय साहस र विरता प्रदर्शन गर्दै सहादत प्राप्त गरे । भक्ति थापा  देउथलको युद्धमा लड्दा लड्दै छातीमा गोलीलागी दिवंगत भएका थिए ।

यिनै भक्ति थापा संलग्न युद्धको सन्दर्भलाई उल्लेख गर्दै अंग्रेजी सेनाका कमाण्डर डेभिड अक्टरलोनीले नेपाली सेनाको विरता र साहसको मुक्तकण्ठले प्रशंसा गरेको विषय ईडनबरा स्थित “युद्ध संग्राहलय”मा उल्लेख रहेको पाँउदा मन रोमांचित भयो । बहादुर नेपाली पुर्खाहरु प्रतिको सम्मानले मन प्रफुल्लित भयो । उक्त संग्राहलयमा नेपाली विरताको प्रशंसासहित गोर्खाली विरताको प्रतिक खुकुरी पनि सँगै राखिएको थियो ।

अक्टोरलोनी रणकौशलमा पारङ्गत एक विर अंग्रेजी योद्धा थिए। आफ्नो विजय पश्चात उनले नेपाली सेनाको साहस, विरता र युद्ध कौशलको खुलेर प्रशंसा गरे। भक्ति थापा नेतृत्वको फौजले देखाएको रणकौशलको उनले मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, विर गोर्खालीहरुलाई अंग्रेजी सेनामा सामेल गराउन पाए भारतमा एकछत्र राज गरिरहेको “ईष्ट ईण्डिया कम्पनी”  लाई बल पुग्नुका साथै विश्वमा ब्रिटिश साम्राज्यको अकण्टक राज्य कायम हुने सोचाई समेत बनाए। फलस्वरूप युद्ध बन्दी बनाईएका गोर्खालीहरुलाई आफ्नो सेनामा प्रवेश गर्न उनले अभिप्रेरित गरे। साथै, भविष्यमा स्थायीरुपमा ब्रिटिश साम्राज्यको सेनामा गोर्खा भर्ती गर्न आफ्नो सरकारलाई सुझाव समेत दिए। अक्टोरलोनीले पछि बेलायती सेनामा महारथी दर्जा पनि प्राप्त गरे।

 उनै अक्टोरलोनीको सुझावलाई कार्यान्वयन गर्दै त्यसबेलाको “ईष्ट ईण्डिया कम्पनी” र पछि गएर ब्रिटिश सेनामा नेपाली नागरिकहरु भर्ना हुने परम्परा शुरु भएको हो। अनेकौ आरोह अवरोह र विवादका वावजुद दुई सय वर्ष भन्दा लामो समयदेखि यो परम्परा अविच्छिन्नरुपमा अहिले पनि जारी रहेको छ। करिव चार हजारको संख्यामा हाल पनि नेपाली युवकहरुले ब्रिटिश सेनामा काम गरिरहेका छन् । सुगौली सन्धि सँगै कायम भएको नेपाल र संयुक्त अधिराज्य विचको दौत्य सम्बन्धले पनि दुईसय वर्ष पुरा गरेको छ।

यसप्रकार संयुक्त अधिराज्यको स्वतन्त्रता र अखण्डताको रक्षाका निम्ति नेपाली नागरिकहरुले रगत पसिना बगाउने र ज्यान नै समेत गुमाउने गरि भैरहेको कार्य प्रति कतिपय जागरुक नेपालीहरूमा असंतोष र आक्रोश रहँदै आएको छ। कतिपयले आफ्नो देशका युवाहरुलाई ‘भाडाका सिपाही’को रुपमा पठाउने यो परम्पराको कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको बेईज्जत भएको समेत ठानेका छन्। निश्चय पनि यो राष्ट्रिय वहसको गंभीर विषय हो। 

पहिलो विश्वयुद्धमा नव्वे हजार र दोस्रो विश्वयुद्धमा एकलाख बिस हजार नेपालीहरु बेलायती सेनाको तर्फबाट सहभागी भएका थिए। नेपाल आफै दुवै विश्वयुद्धमा संलग्न थिएन, तर ति दुई युद्धमा गरेर चालिस हजार भन्दा बढी नेपालीले जीवन आहुति दिए। हजारौ घाईते र अपाङ्ग भए। 

यसरी संयुक्त अधिराज्यको निम्ति नेपाली नागरिकहरुले पुर्‍याएको योगदानको बदलामा ब्रिटिश सेनामा कार्यरत सैनिकहरुले अझै पनि पूर्ण न्यायोचित व्यवहार पाएका छैनन्। धेरै लामो समयसम्म एकै प्रकारको कामका वावजुद बेलायती र नेपालीका विचमा तलव, भत्ता र सुविधामा विभेद कायम थियो। हाल धेरै सुधार भएता पनि अझै बेलायती सेनामा कार्यरत नेपालीहरु आफ्नो न्यायोचित समान हक र अधिकारका निम्ति संघर्षरत रहेका छन्।

अर्कोतर्फ नेपालसँगको सम्बन्धलाई बेलायतले कुनै विशेष महत्व र प्राथमिकता दिएको पाईंदैन।सम्बन्ध नितान्त औपचारिकतामा सिमित रहेको छ । विगतमा भौतिक पुर्वधारको क्षेत्रमा केही योगदान रहेता पनि अहिले आएर नेपालको आर्थिक विकासमा संयुक्त अधिराज्यको भुमिका नगण्य रहेको छ। नेपाल र संयुक्त अधिराज्य बिचको व्यापारको आयातन पनि साह्रै सानो छ ।

त्यति मात्र होइन, बेलायतीहरुले नेपाल प्रवेशको निम्ति विमानस्थलमा नै ‘भिसा अर्थात प्रवेशाज्ञा’ पाउन सक्छन्,तर बेलायत भ्रमण गर्न चाहने नेपालीहरुले त्यस्तो सुविधाको कुरा त परै जाओस् काठमाडौँबाट ‘प्रवेशाज्ञा’ पाउन पनि सक्दैनन्। ‘प्रवेशाज्ञा’को लागि नेपालीको राहदानी दिल्ली वा टर्की पठाईन्छ। लामो समयको प्रतिक्षा पछि मात्र ‘भिसा’ पाउने वा नपाउने ठेगान लाग्छ। 

अक्टोरलोनीले नेपालीहरु प्रति देखाएको सम्मान तथा नेपाली युवाहरुले बेलायती महारानीको सेवा र संयुक्त अधिराज्यको सार्वाभौमिकताको रक्षाको निम्ति गरेको योगदान अहिले ग्लानि र उपहासमा परिणत भएजस्तो देखिन्छ। ईडनबराको संग्रहालय भ्रमणको बेला मलाई यस्तै अनुभूति भयो। 

नेपाल र संयुक्त अधिराज्यका बिचको सम्बन्धलाई सदृढ तुल्याउन तथा समयानुकुल नयाँ उचाईमा पुराउन दुवै देशका सरकार तथा निजि क्षेत्रले समेत विशेष ध्यान दिनु आबश्यक छ ।

२०७९ साउन १९
३ अगष्ट २०२२
न्युक्यासल, बेलायत

Tuesday, August 2, 2022

सनातन हिन्दुराष्ट्र किन ?

 सनातन हिन्दुराष्ट्र किन ?

- कमल थापा

२०६३ सालको राजनीतिक परिवर्तनको पहिलो प्रहार नेपालको हिन्दुराष्ट्रको पहिचान माथि भएको थियो । माओवादीको दश बर्षे (२०५२-२०६२) सशस्त्र हिसांत्मक द्वन्दकालमा सनातन धर्म संस्कृति र परम्परा विरुद्ध गतिविधि भएता पनि हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने विषय सशक्तरुपमा उठेको थिएन । २०६२ चैत र २०६३ बैशाखमा भएको उन्नाईस दिने जनआन्दोलनको दौरानमा समेत हिन्दुराष्ट्र बिरुद्ध कहिँ कतै आवाज उठेको थिएन ।

तर, सात राजनीतिक दल र माओवादीको संयुक्त आन्दोलन पश्चात राजासँगको सम्झौता अनुरुप पुनःर्स्थापित प्रतिनिधिसभाले २०६३ साल जेठ ४ गते जारी गरेको विवादास्पद घोषणा मार्फत नेपाल अधिराज्यको संविधानमा भएको व्यवस्थालाई उल्टाउँदै धर्मनिरपेक्षता लाद्ने काम गरियो । यो कार्य जनताको अभिमत विपरित थियो । संविधानको भावना र प्रक्रियाको ठाडो उल्लंघन थियो ।

आफ्नो निहित राजनीतिक अभिष्ट र स्वार्थ परिपूर्ति गर्न चाहने नेपालका उग्रवामपंथी शक्ति तथा नेपालमा धार्मिक साँस्कृतिक प्रभाव विस्तार गर्न चाहने केही पश्चीमा राष्ट्रहरुको संयुक्त षडयन्त्रको परिणामस्वरुप हिन्दुराष्ट्र समाप्त पारी “धर्मनिरपेक्षता” कायम गरिएको हो । यस कार्यमा नेपाली कंग्रेस लाचार साक्षी र सहकर्मी हुन पुगेको थियो ।

त्यस वखत आन्दोलनको रापताप र अन्यौलपूर्ण घडिमा यस कार्यको ठूलो विरोध र प्रतिवाद हुन सकेन । केही सामाजिक अभियन्ता र धार्मिक व्यक्तित्वहरुले झिनो स्वरमा यस कार्यको भत्सर्ना गरेका थिए । त्यसवखत धर्मनिरपेक्षताको विरोध तथा हिन्दुराष्ट्रको पक्षमा संगठितरुपमा आवाज उठाउने र सडकमा संघर्ष गर्ने पहिलो र एकमात्र राजनीतिक दल राप्रपा नेपाल थियो ।

हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउन थाले पछि विभिन्न कोण र शक्ति केन्द्रहरुबाट राप्रपा नेपाल विरुद्ध पनि आक्रमण हुन थाल्यो । धर्मको आधारमा राजनीति गर्न खोजेको, समाजमा धार्मिक भावना भडकाएर अस्थिरता सिर्जना गर्न खोजेको तथा राजसंस्थाको पक्षमा जनमत तयार गर्न हिन्दुराष्ट्रको आवरण बोकेको जस्ता आरोपहरु व्यापकरुपमा लगाईयो ।

गत पन्ध्र बर्षको राजनीतिक अभ्यास पछि भने ति आरोपहरुको वजन र महत्व क्रमशः घट्दै गएको छ । धर्मनिरपेक्षता कायम गर्नुको अन्तर्निहित उदेश्य तथा त्यसका पछाडीका शक्तिहरु को थिए र के नियत थियो भन्ने वारे विस्तारै सर्वसाधारण जनताले समेत बुझ्न थालेका छन् । हिन्दुराष्ट्रको पहिचान समाप्त पारेर धर्मनिरपेक्षता कायम गर्नुको उदेश्य धार्मिक स्वतन्त्रता र समानता कायम गर्नु होईन, बरु धर्मनिरपेक्षताको आडमा उग्रवामपंथी शक्तिको वर्चस्व स्थापित गर्नु र धर्मपरिवर्तन गराएर नेपालको पहिचान कमजोर बनाउनु रहेछ भन्ने अब जनतालाई स्पष्ट भएको छ ।

राप्रपा नेपालले हिन्दुराष्ट्रको एजेण्डा बोकेर धर्मको आधारमा राजनीति गर्न खोजेको छ भन्ने आरोप भ्रममुलक त छँदैछ, त्यसमा राप्रपा नेपालको सिद्धान्तवारे ज्ञानको अभाव समेत देख्न सकिन्छ । राप्रपा नेपालले हिन्दुराष्ट्रको पक्षमा आवाज उठाएर धर्मको आधारमा देशको शासनव्यवस्था संचालन हुनुपर्छ भन्ने माग गरेको होईन । त्यसैगरी राज्यले हिन्दु धर्मलाई बिशेष संरक्षण र सुविधा दिनुपर्छ भन्ने माग गरेको पनि होईन । राप्रपा नेपाल धार्मिक राज्य (Theocratic State) को पक्षपाती होईन । राप्रपा नेपाल सर्वधर्म समभाव तथा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पक्षमा रहेको छ । राप्रपा नेपाल सबै धर्मका बिच सद्भाव र सहकार्यको पक्षधर हो ।

बुझ्नु जरुरी छ कि संविधानमा हिन्दुराष्ट्रको प्रवधान लेखिनु पुर्व पनि सदियौँदेखि नेपाल सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र रहँदै आएको छ । संविधानमा हिन्दु शब्दको प्रयोग वा हिन्दुराष्ट्र लेख्ने कामको प्रारम्भ २०१५ मा बनेको संविधान देखि भएको हो । त्यस पछि २०१९ सालमा बनेको पंचायती संविधान र पहिलो जनआन्दोलन पछि स्वयं आन्दोलनकारी शक्तिले बनाएको २०४७ सालको संविधानले त्यो व्यवस्थालाई निरन्तरता दिने काम गरे ।

नेपाल अधिराज्यको संविधान २०४७ मा भएको तत्सम्बन्धि व्यवस्थालाई असंवैधानिकरुपमा हटाउने काम २०६३ जेठ ४ को घोषणाबाट भएको हो । २०४७ सालको संविधानलाई विस्थापित गरी बनाईएको नेपालको अन्तरिम संविधान २०६३ मा पहिलोपटक “धर्मनिरपेक्षता”लाई संविधानको अंग बनाईयो । पछि सो व्यवस्था नेपालको संविधान २०७२ मा समेत कायम गरियो । यी सबै कार्यहरु कार्यान्वयन गर्दा प्रत्यक्ष वा परोक्षरूपले जनताको अभिमत बुझ्ने काम भएको छैन । बरु संविधानसभाबाट संविधान निर्माण हुनु अघि जनताको सुझाव लिने क्रममा करिव नव्वे प्रतिशत जनताले धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र कायम गर्न दिएको सुझावलाई संविधान निर्माताहरुले रद्दिको टोकरीमा फालिदिएका थिए ।

हिन्दुराष्ट्र हटाउने काम धार्मिक साँस्कृतिक क्षेत्रको अगुवाई वा आग्रहमा भएको पनि होईन । यो कार्य नितान्त राजनीतिक दलहरुबाट भएको हो । राजनीतिक दलहरुले गरेको यो फोहरलाई सफा गर्ने दायित्व पनि राजनीतिक दलहरु कै हो । राप्रपा नेपालले यही जिम्मेवारी निर्वाह गर्न खोजेको हो । राप्रपा नेपालको यो जिम्मेवारीवोधलाई धर्मको आधारमा राजनीति गरेको भन्ने आरोप लगाउनु सर्वथा अतिशयोक्तिपूर्ण छ ।

सनातन धर्म केवल संकिर्ण अर्थमा बुझिने धार्मिक कृत्य वा पुजा, आराधना र उपासनाको विषय मात्र होईन भन्ने पनि ज्ञान हुनु जरुरी छ । संसारमा हामी नेपाली भनेर चिनिन्छौं । नेपाली भन्ने हाम्रो पहिचान छ । आखिर यो पहिचानको आधार के हो ? पहिचान विना न व्यक्ति जिवन्त रहन्छ सक्दछ, न समाज वा राष्ट्र जिवन्त रहन सक्दछ । गोपाल बंश देखि हुँदै किराँत, लिछिच्वी, मल्ल र शाह बंशको कालमा नेपाली समाजको आफ्नो साझा र विशिष्ट संस्कृति एवं पहिचान बनेको छ । यो पहिचान एक दिनमा बनेको होइन । हजारौं बर्षको हाम्रो धर्म, रितिथिती, परम्परा र आस्थाको आधारमा संसारमा अन्त कहीं नभएको हामी नेपालीको एउटा मौलिक र विशिष्ट संस्कृति एवं पहिचान बनेको छ ।

संसारमा हिन्दु धर्म प्रति आस्था राख्नेहरुको पनि ठूलो संख्या छ । यसैगरी बुद्ध धर्ममा आस्था राख्नेहरुको पनि ठूलो संख्या छ । तर नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ हिन्दु र बुद्ध धर्म मान्नेहरुका बीचको लामो सांस्कृतिक सहकार्य वा संयोजनबाट एउटा विशिष्ट नेपाली संस्कृति र पहिचानको निर्माण भएको छ । यो पहिचान निर्माणमा किराँत धर्माबलम्बी एवं प्रकृतिपुजकहरुको पनि योगदान रहेको छ । यो पहिचान विशिष्ट र मौलिक छ । सनातन धर्मको मुलश्रोतबाट निसृत कर्म, आस्था र मान्यताको समष्टि हो नेपाली पहिचानको आधार । यहि पहिचानको रक्षार्थ नै हामीले सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापनाको आवाज उठाएका हौं ।

नेपालमा हामी १०० भन्दा बढी जातजातीका छौं, धेरै ठूलो संख्यामा विभिन्न भाषाभाषीहरु छन् । हामी कोही हिमालमा बस्छौं, कोही पहाड, कोही तराई मधेशमा बस्छौं । जुनसुकै जातीको भए पनि, जुनसुकै भाषा बोल्ने भए पनि जुनसुकै ठाउँमा बसोबास गर्ने भएपनि हामी सबै नेपालीहरुको साझा भगवान छन् । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा अंकमाल गरेर भगवान पशुपतीनाथको दर्शन गर्दछौ, हलेशी महादेवको मन्दिरमा जान्छौं । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा हातेमालो गरेर भगवान बुद्धको पुजा आराधान गर्न लुम्बिनी जान्छौ । चाहे टोपी लगाउने होस्, चाहे धोती, हामी सबैलाई एकताको सुत्रमा गास्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको छ । चाहे मैथीली भाषा बोल्ने होस्, चाहे नेवार वा तामाङ अथवा खस भाषा बोल्ने होस् हामी सबैलाई एकताको सुत्रमा आवद्ध गर्ने काम यही सनातन धर्म र संस्कृतिले गरेको छ । विविधतामा एकता नेपालीको राष्ट्रिय संस्कार हो । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पक्षमा आवाज उठाएका हौं ।

यसैगरी आदीकाल देखी जब नेपाल राज्यको सिर्जना भयो त्यस बेला देखी हाम्रो समाज, हाम्रो परिवार र हाम्रो राज्यव्यवस्था संचालनको आधारस्तम्भकोरुपमा यही सनातन धर्म, संस्कृति, परम्परा, मूल्य र मान्यता रहि आएको छ । वैदिक सभ्यता हाम्रो अस्तित्वको मुलश्रोत हो । वैदिक दर्शन हाम्रो पहिचानको मुलस्तम्भ हो ।

दुर्भाग्य बस ०६२/६३ को राजनैतिक परिवर्तन सँगै नेपाली जनताको प्रत्यक्ष अभिमत विनानै, नेपालको हिन्दुराष्ट्रको पहिचानलाई समाप्त पार्ने काम गरियो । नेपाली जनताले सुन्दै नसुनेको, कहिं कतै आवाज नउठेको धर्मनिरपेक्षताको मान्यता लाद्ने काम गरियो । धर्मनिरपेक्षताको आडमा अहिले योजनाबद्ध र संगठीतरुपले धर्मपरिवर्तन गराउने कार्य भैरहेकोछ । लोभलालच, भ्रम र दवावको आधारमा गत पन्ध्र बर्षको अवधिमा मात्रै दशौं लाख धर्मपरिवर्तन गराइएको छ ।

धर्म परिवर्तनको निशानामा सवै भन्दा बढी आदीबासी, जनजाती र दलित समुदायका व्यक्तिहरु परेका छन् । केबल हिन्दुहरु मात्र होइन बुद्धिष्ट र किराँतीहरुको पनि ठूलो संख्यामा धर्मपरिवर्तन गराइएको छ । यही गतिमा धर्मपरिवर्तन हुँदै जाने हो भने नेपालको राष्ट्रिय पहिचान, नेपालको राष्ट्रीय एकता र नेपालको राष्ट्रीय अस्तित्वको आधारको रुपमा रहेको सनातन धर्म अर्थात हिन्दु र बौद्ध धर्मावलम्बीहरु नै नेपालमा अल्पमतमा पर्न सक्ने खतरा छ । २००७ सालमा नगण्य संख्यामा रहेका ईसाईहरु अहिले नै नेपालको तेस्रो ठूलो धार्मिक सम्प्रदाय किराँतीहरु भन्दा धेरै बढि संख्यामा पुगिसकेका छन् । हामी कुनै धर्म वा आस्थाका विरोधी होईनौ, तर धर्म परिवर्तनको यो डढेलोलाई नरोक्ने हो भने नेपालमा सदियौं देखी कायम रहँदै आएको सामाजिक सद्भाव र एकता खलबलिएर नेपाल धार्मिक द्वन्द्धको दलदलमा फस्न सक्ने टड्कारो खतरा रहेको छ ।

नेपालका उग्रवामपन्थी शक्तिले आफ्नो राजनैतिक अभिष्ट र स्वार्थ पुरा गर्न तथा केही पश्चीमा मुलुकहरुले नेपालमा धार्मिक सांस्कृतिक प्रभाव कायम गर्नका निमित्त गरिएको संयुक्त षडयन्त्र वा प्रयासको परिणामस्वरुप सनातन धर्म संस्कृति माथि अहिले आक्रमण भैरहेको हो । यो धार्मिक सांस्कृतिक आक्रमणले हाम्रो पहिचान, हाम्रो एकताको आधार र हाम्रो राष्ट्रीय अस्तीत्वको मुहानलाई खल्वलाईदिएको मात्र होइन र धर्मपरिवर्तन सँगै आएका विकृति र विसंगतीहरुले राजनैतिक, सामाजिक, आर्थिक क्षेत्रमा समेत नेपाललाई नराम्रो सँग क्षतविक्षत तुल्याएको छ । नेपालको राजनैतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा हाल तिव्रगतिले बढदै गैरहेको विकृति, विसंगती, व्यभिचार, भ्रष्टाचार, अनैतिकता र संकटको मुख्य कारण मध्य धार्मिक सांस्कृतिक क्षेत्रमा देखिएको विचलन र स्खलन पनि एक हो ।

यसरी भैरहेको धार्मिक साँस्कृतिक अतिक्रमणले नेपालको हिन्दुराष्ट्रको पहिचान कमजोर पारेको मात्र होइन, अन्ततः यसले नेपालको अस्तित्वलाई नै आघात पुर्याउने अवश्यंभावि छ ।

त्यसर्थ, नेपालको राष्ट्रिय एकता, पहिचान र अस्तित्वको आधारलाई फेरी सशक्त तुल्याउनको निमित्त राप्रपा नेपालले हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने दृढ संकल्प गरेको हो ।

यो पनि स्पष्ट हुनु आबश्यक छ कि केवल संविधानमा “हिन्दुराष्ट्र” भन्ने दुई शब्द लेखाउन मात्र राप्रपा नेपालले हिन्दुराष्ट्र पुनःस्थापनाको विषय उठाएको होईन । निश्चय पनि संविधानमा हिन्दुराष्ट्र कायम गर्ने हाम्रो संकल्प हो , हाम्रो लक्ष्य हो । तर, राप्रपा नेपाल त्यो पार्टी हो जसले नेपालको सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरणको आधार परम्परादेखि नेपालमा चलिआएको सनातन एवं वैदिक दर्शन, मूल्य र मान्यता हो र भविष्यमा पनि कायम हुनुपर्दछ भन्ने विचारलाई आत्मसात गर्दछ । जसरी केही पार्टीहरु मार्क्सवाद, साम्यवाद, समाजवाद, पुंजिवादलाई आफ्नो आदर्श वा बैचारिक दर्शनको रुपमा लिन्छन्, त्यसैगरी राप्रपा नेपालले राष्ट्रियता, लोकतन्त्र, आर्थिक उदारवाद र वैदिक दर्शनकको वृहत चिन्तनमा आधारित “सम्बर्द्धनवाद”लाई राष्ट्रिनिर्माणको वैकल्पिक मार्गचित्र र आफ्नो पार्टीको वैचारिक दर्शनको रुपमा आत्मसात गरेको छ ।

कतिपयले प्रश्न गर्छन, एउटा राजनैतिक दलको रुपमा रहेको राप्रपा नेपलले यो धार्मिक विषलाई किन उठाएको छ । तर, बुझ्नु जरुरी छ कि नेपालको हिन्दु राष्ट्रको पहिचान केबल धार्मिक विषय मात्र होइन, यो पुजा आराधान गर्न पाउने हक र अधिकारको विषय मात्र होइन । यो हाम्रो पहिचान, एकता, संस्कृति र राष्ट्रिय अस्तित्वसंग गांसएिको विषय हो । नेपाल विश्वका महान धर्म र संस्कृतिहरुको उदगमस्थल हो । सनातन धर्म संस्कृति र परम्पराको आलोकमा आयुर्वेद, ब्रम्हाण्ड विज्ञान, ज्योतिष शास्त्र, योग जस्ता मान्यता र अभ्यासहरु प्रादुर्भाव भएको हो । सनातन धर्म विश्वको सबैभन्दा प्राचिन, समृद्ध र गौरवशाली मान्यता हो । यो मान्यताको भावभुमी नेपाल हो । समय काल अनुसार परिमार्जन गर्दै यो मान्यताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । यही कर्तव्यको निर्वाहका निम्ति निहित राप्रपा नेपालले सर्वधर्म र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको पक्षमा आवाज उठाएको हो । राजनीतिक स्वार्थ वा चुनावमा अल्पसंख्यको संगठित भोट पाईन्छ भन्ने लोभमा पहिचान, एकता र राष्ट्रियतासँग गाँसिएको विषयमा मौन रहनु वेईमानी मात्र होईन राष्ट्र प्रतिको गद्दारी पनि हो ।

हामी नेपालमा हिन्दुराष्ट्रको संवैधानिक पुनर्स्थापना मात्र होइन, नेपालको आर्थिक विकास र समृद्धि तथा व्यक्ति, परिवार, समाज र राज्य संचालनको धरातल र आदर्श समेत “सम्बर्द्धनवाद” हुनुपर्दछ भन्ने बिश्वास गर्दछौँ ।