Tuesday, August 2, 2022

सनातन हिन्दुराष्ट्र किन ?

 सनातन हिन्दुराष्ट्र किन ?

- कमल थापा

२०६३ सालको राजनीतिक परिवर्तनको पहिलो प्रहार नेपालको हिन्दुराष्ट्रको पहिचान माथि भएको थियो । माओवादीको दश बर्षे (२०५२-२०६२) सशस्त्र हिसांत्मक द्वन्दकालमा सनातन धर्म संस्कृति र परम्परा विरुद्ध गतिविधि भएता पनि हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने विषय सशक्तरुपमा उठेको थिएन । २०६२ चैत र २०६३ बैशाखमा भएको उन्नाईस दिने जनआन्दोलनको दौरानमा समेत हिन्दुराष्ट्र बिरुद्ध कहिँ कतै आवाज उठेको थिएन ।

तर, सात राजनीतिक दल र माओवादीको संयुक्त आन्दोलन पश्चात राजासँगको सम्झौता अनुरुप पुनःर्स्थापित प्रतिनिधिसभाले २०६३ साल जेठ ४ गते जारी गरेको विवादास्पद घोषणा मार्फत नेपाल अधिराज्यको संविधानमा भएको व्यवस्थालाई उल्टाउँदै धर्मनिरपेक्षता लाद्ने काम गरियो । यो कार्य जनताको अभिमत विपरित थियो । संविधानको भावना र प्रक्रियाको ठाडो उल्लंघन थियो ।

आफ्नो निहित राजनीतिक अभिष्ट र स्वार्थ परिपूर्ति गर्न चाहने नेपालका उग्रवामपंथी शक्ति तथा नेपालमा धार्मिक साँस्कृतिक प्रभाव विस्तार गर्न चाहने केही पश्चीमा राष्ट्रहरुको संयुक्त षडयन्त्रको परिणामस्वरुप हिन्दुराष्ट्र समाप्त पारी “धर्मनिरपेक्षता” कायम गरिएको हो । यस कार्यमा नेपाली कंग्रेस लाचार साक्षी र सहकर्मी हुन पुगेको थियो ।

त्यस वखत आन्दोलनको रापताप र अन्यौलपूर्ण घडिमा यस कार्यको ठूलो विरोध र प्रतिवाद हुन सकेन । केही सामाजिक अभियन्ता र धार्मिक व्यक्तित्वहरुले झिनो स्वरमा यस कार्यको भत्सर्ना गरेका थिए । त्यसवखत धर्मनिरपेक्षताको विरोध तथा हिन्दुराष्ट्रको पक्षमा संगठितरुपमा आवाज उठाउने र सडकमा संघर्ष गर्ने पहिलो र एकमात्र राजनीतिक दल राप्रपा नेपाल थियो ।

हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउन थाले पछि विभिन्न कोण र शक्ति केन्द्रहरुबाट राप्रपा नेपाल विरुद्ध पनि आक्रमण हुन थाल्यो । धर्मको आधारमा राजनीति गर्न खोजेको, समाजमा धार्मिक भावना भडकाएर अस्थिरता सिर्जना गर्न खोजेको तथा राजसंस्थाको पक्षमा जनमत तयार गर्न हिन्दुराष्ट्रको आवरण बोकेको जस्ता आरोपहरु व्यापकरुपमा लगाईयो ।

गत पन्ध्र बर्षको राजनीतिक अभ्यास पछि भने ति आरोपहरुको वजन र महत्व क्रमशः घट्दै गएको छ । धर्मनिरपेक्षता कायम गर्नुको अन्तर्निहित उदेश्य तथा त्यसका पछाडीका शक्तिहरु को थिए र के नियत थियो भन्ने वारे विस्तारै सर्वसाधारण जनताले समेत बुझ्न थालेका छन् । हिन्दुराष्ट्रको पहिचान समाप्त पारेर धर्मनिरपेक्षता कायम गर्नुको उदेश्य धार्मिक स्वतन्त्रता र समानता कायम गर्नु होईन, बरु धर्मनिरपेक्षताको आडमा उग्रवामपंथी शक्तिको वर्चस्व स्थापित गर्नु र धर्मपरिवर्तन गराएर नेपालको पहिचान कमजोर बनाउनु रहेछ भन्ने अब जनतालाई स्पष्ट भएको छ ।

राप्रपा नेपालले हिन्दुराष्ट्रको एजेण्डा बोकेर धर्मको आधारमा राजनीति गर्न खोजेको छ भन्ने आरोप भ्रममुलक त छँदैछ, त्यसमा राप्रपा नेपालको सिद्धान्तवारे ज्ञानको अभाव समेत देख्न सकिन्छ । राप्रपा नेपालले हिन्दुराष्ट्रको पक्षमा आवाज उठाएर धर्मको आधारमा देशको शासनव्यवस्था संचालन हुनुपर्छ भन्ने माग गरेको होईन । त्यसैगरी राज्यले हिन्दु धर्मलाई बिशेष संरक्षण र सुविधा दिनुपर्छ भन्ने माग गरेको पनि होईन । राप्रपा नेपाल धार्मिक राज्य (Theocratic State) को पक्षपाती होईन । राप्रपा नेपाल सर्वधर्म समभाव तथा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पक्षमा रहेको छ । राप्रपा नेपाल सबै धर्मका बिच सद्भाव र सहकार्यको पक्षधर हो ।

बुझ्नु जरुरी छ कि संविधानमा हिन्दुराष्ट्रको प्रवधान लेखिनु पुर्व पनि सदियौँदेखि नेपाल सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र रहँदै आएको छ । संविधानमा हिन्दु शब्दको प्रयोग वा हिन्दुराष्ट्र लेख्ने कामको प्रारम्भ २०१५ मा बनेको संविधान देखि भएको हो । त्यस पछि २०१९ सालमा बनेको पंचायती संविधान र पहिलो जनआन्दोलन पछि स्वयं आन्दोलनकारी शक्तिले बनाएको २०४७ सालको संविधानले त्यो व्यवस्थालाई निरन्तरता दिने काम गरे ।

नेपाल अधिराज्यको संविधान २०४७ मा भएको तत्सम्बन्धि व्यवस्थालाई असंवैधानिकरुपमा हटाउने काम २०६३ जेठ ४ को घोषणाबाट भएको हो । २०४७ सालको संविधानलाई विस्थापित गरी बनाईएको नेपालको अन्तरिम संविधान २०६३ मा पहिलोपटक “धर्मनिरपेक्षता”लाई संविधानको अंग बनाईयो । पछि सो व्यवस्था नेपालको संविधान २०७२ मा समेत कायम गरियो । यी सबै कार्यहरु कार्यान्वयन गर्दा प्रत्यक्ष वा परोक्षरूपले जनताको अभिमत बुझ्ने काम भएको छैन । बरु संविधानसभाबाट संविधान निर्माण हुनु अघि जनताको सुझाव लिने क्रममा करिव नव्वे प्रतिशत जनताले धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र कायम गर्न दिएको सुझावलाई संविधान निर्माताहरुले रद्दिको टोकरीमा फालिदिएका थिए ।

हिन्दुराष्ट्र हटाउने काम धार्मिक साँस्कृतिक क्षेत्रको अगुवाई वा आग्रहमा भएको पनि होईन । यो कार्य नितान्त राजनीतिक दलहरुबाट भएको हो । राजनीतिक दलहरुले गरेको यो फोहरलाई सफा गर्ने दायित्व पनि राजनीतिक दलहरु कै हो । राप्रपा नेपालले यही जिम्मेवारी निर्वाह गर्न खोजेको हो । राप्रपा नेपालको यो जिम्मेवारीवोधलाई धर्मको आधारमा राजनीति गरेको भन्ने आरोप लगाउनु सर्वथा अतिशयोक्तिपूर्ण छ ।

सनातन धर्म केवल संकिर्ण अर्थमा बुझिने धार्मिक कृत्य वा पुजा, आराधना र उपासनाको विषय मात्र होईन भन्ने पनि ज्ञान हुनु जरुरी छ । संसारमा हामी नेपाली भनेर चिनिन्छौं । नेपाली भन्ने हाम्रो पहिचान छ । आखिर यो पहिचानको आधार के हो ? पहिचान विना न व्यक्ति जिवन्त रहन्छ सक्दछ, न समाज वा राष्ट्र जिवन्त रहन सक्दछ । गोपाल बंश देखि हुँदै किराँत, लिछिच्वी, मल्ल र शाह बंशको कालमा नेपाली समाजको आफ्नो साझा र विशिष्ट संस्कृति एवं पहिचान बनेको छ । यो पहिचान एक दिनमा बनेको होइन । हजारौं बर्षको हाम्रो धर्म, रितिथिती, परम्परा र आस्थाको आधारमा संसारमा अन्त कहीं नभएको हामी नेपालीको एउटा मौलिक र विशिष्ट संस्कृति एवं पहिचान बनेको छ ।

संसारमा हिन्दु धर्म प्रति आस्था राख्नेहरुको पनि ठूलो संख्या छ । यसैगरी बुद्ध धर्ममा आस्था राख्नेहरुको पनि ठूलो संख्या छ । तर नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ हिन्दु र बुद्ध धर्म मान्नेहरुका बीचको लामो सांस्कृतिक सहकार्य वा संयोजनबाट एउटा विशिष्ट नेपाली संस्कृति र पहिचानको निर्माण भएको छ । यो पहिचान निर्माणमा किराँत धर्माबलम्बी एवं प्रकृतिपुजकहरुको पनि योगदान रहेको छ । यो पहिचान विशिष्ट र मौलिक छ । सनातन धर्मको मुलश्रोतबाट निसृत कर्म, आस्था र मान्यताको समष्टि हो नेपाली पहिचानको आधार । यहि पहिचानको रक्षार्थ नै हामीले सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापनाको आवाज उठाएका हौं ।

नेपालमा हामी १०० भन्दा बढी जातजातीका छौं, धेरै ठूलो संख्यामा विभिन्न भाषाभाषीहरु छन् । हामी कोही हिमालमा बस्छौं, कोही पहाड, कोही तराई मधेशमा बस्छौं । जुनसुकै जातीको भए पनि, जुनसुकै भाषा बोल्ने भए पनि जुनसुकै ठाउँमा बसोबास गर्ने भएपनि हामी सबै नेपालीहरुको साझा भगवान छन् । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा अंकमाल गरेर भगवान पशुपतीनाथको दर्शन गर्दछौ, हलेशी महादेवको मन्दिरमा जान्छौं । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा हातेमालो गरेर भगवान बुद्धको पुजा आराधान गर्न लुम्बिनी जान्छौ । चाहे टोपी लगाउने होस्, चाहे धोती, हामी सबैलाई एकताको सुत्रमा गास्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको छ । चाहे मैथीली भाषा बोल्ने होस्, चाहे नेवार वा तामाङ अथवा खस भाषा बोल्ने होस् हामी सबैलाई एकताको सुत्रमा आवद्ध गर्ने काम यही सनातन धर्म र संस्कृतिले गरेको छ । विविधतामा एकता नेपालीको राष्ट्रिय संस्कार हो । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पक्षमा आवाज उठाएका हौं ।

यसैगरी आदीकाल देखी जब नेपाल राज्यको सिर्जना भयो त्यस बेला देखी हाम्रो समाज, हाम्रो परिवार र हाम्रो राज्यव्यवस्था संचालनको आधारस्तम्भकोरुपमा यही सनातन धर्म, संस्कृति, परम्परा, मूल्य र मान्यता रहि आएको छ । वैदिक सभ्यता हाम्रो अस्तित्वको मुलश्रोत हो । वैदिक दर्शन हाम्रो पहिचानको मुलस्तम्भ हो ।

दुर्भाग्य बस ०६२/६३ को राजनैतिक परिवर्तन सँगै नेपाली जनताको प्रत्यक्ष अभिमत विनानै, नेपालको हिन्दुराष्ट्रको पहिचानलाई समाप्त पार्ने काम गरियो । नेपाली जनताले सुन्दै नसुनेको, कहिं कतै आवाज नउठेको धर्मनिरपेक्षताको मान्यता लाद्ने काम गरियो । धर्मनिरपेक्षताको आडमा अहिले योजनाबद्ध र संगठीतरुपले धर्मपरिवर्तन गराउने कार्य भैरहेकोछ । लोभलालच, भ्रम र दवावको आधारमा गत पन्ध्र बर्षको अवधिमा मात्रै दशौं लाख धर्मपरिवर्तन गराइएको छ ।

धर्म परिवर्तनको निशानामा सवै भन्दा बढी आदीबासी, जनजाती र दलित समुदायका व्यक्तिहरु परेका छन् । केबल हिन्दुहरु मात्र होइन बुद्धिष्ट र किराँतीहरुको पनि ठूलो संख्यामा धर्मपरिवर्तन गराइएको छ । यही गतिमा धर्मपरिवर्तन हुँदै जाने हो भने नेपालको राष्ट्रिय पहिचान, नेपालको राष्ट्रीय एकता र नेपालको राष्ट्रीय अस्तित्वको आधारको रुपमा रहेको सनातन धर्म अर्थात हिन्दु र बौद्ध धर्मावलम्बीहरु नै नेपालमा अल्पमतमा पर्न सक्ने खतरा छ । २००७ सालमा नगण्य संख्यामा रहेका ईसाईहरु अहिले नै नेपालको तेस्रो ठूलो धार्मिक सम्प्रदाय किराँतीहरु भन्दा धेरै बढि संख्यामा पुगिसकेका छन् । हामी कुनै धर्म वा आस्थाका विरोधी होईनौ, तर धर्म परिवर्तनको यो डढेलोलाई नरोक्ने हो भने नेपालमा सदियौं देखी कायम रहँदै आएको सामाजिक सद्भाव र एकता खलबलिएर नेपाल धार्मिक द्वन्द्धको दलदलमा फस्न सक्ने टड्कारो खतरा रहेको छ ।

नेपालका उग्रवामपन्थी शक्तिले आफ्नो राजनैतिक अभिष्ट र स्वार्थ पुरा गर्न तथा केही पश्चीमा मुलुकहरुले नेपालमा धार्मिक सांस्कृतिक प्रभाव कायम गर्नका निमित्त गरिएको संयुक्त षडयन्त्र वा प्रयासको परिणामस्वरुप सनातन धर्म संस्कृति माथि अहिले आक्रमण भैरहेको हो । यो धार्मिक सांस्कृतिक आक्रमणले हाम्रो पहिचान, हाम्रो एकताको आधार र हाम्रो राष्ट्रीय अस्तीत्वको मुहानलाई खल्वलाईदिएको मात्र होइन र धर्मपरिवर्तन सँगै आएका विकृति र विसंगतीहरुले राजनैतिक, सामाजिक, आर्थिक क्षेत्रमा समेत नेपाललाई नराम्रो सँग क्षतविक्षत तुल्याएको छ । नेपालको राजनैतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा हाल तिव्रगतिले बढदै गैरहेको विकृति, विसंगती, व्यभिचार, भ्रष्टाचार, अनैतिकता र संकटको मुख्य कारण मध्य धार्मिक सांस्कृतिक क्षेत्रमा देखिएको विचलन र स्खलन पनि एक हो ।

यसरी भैरहेको धार्मिक साँस्कृतिक अतिक्रमणले नेपालको हिन्दुराष्ट्रको पहिचान कमजोर पारेको मात्र होइन, अन्ततः यसले नेपालको अस्तित्वलाई नै आघात पुर्याउने अवश्यंभावि छ ।

त्यसर्थ, नेपालको राष्ट्रिय एकता, पहिचान र अस्तित्वको आधारलाई फेरी सशक्त तुल्याउनको निमित्त राप्रपा नेपालले हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने दृढ संकल्प गरेको हो ।

यो पनि स्पष्ट हुनु आबश्यक छ कि केवल संविधानमा “हिन्दुराष्ट्र” भन्ने दुई शब्द लेखाउन मात्र राप्रपा नेपालले हिन्दुराष्ट्र पुनःस्थापनाको विषय उठाएको होईन । निश्चय पनि संविधानमा हिन्दुराष्ट्र कायम गर्ने हाम्रो संकल्प हो , हाम्रो लक्ष्य हो । तर, राप्रपा नेपाल त्यो पार्टी हो जसले नेपालको सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरणको आधार परम्परादेखि नेपालमा चलिआएको सनातन एवं वैदिक दर्शन, मूल्य र मान्यता हो र भविष्यमा पनि कायम हुनुपर्दछ भन्ने विचारलाई आत्मसात गर्दछ । जसरी केही पार्टीहरु मार्क्सवाद, साम्यवाद, समाजवाद, पुंजिवादलाई आफ्नो आदर्श वा बैचारिक दर्शनको रुपमा लिन्छन्, त्यसैगरी राप्रपा नेपालले राष्ट्रियता, लोकतन्त्र, आर्थिक उदारवाद र वैदिक दर्शनकको वृहत चिन्तनमा आधारित “सम्बर्द्धनवाद”लाई राष्ट्रिनिर्माणको वैकल्पिक मार्गचित्र र आफ्नो पार्टीको वैचारिक दर्शनको रुपमा आत्मसात गरेको छ ।

कतिपयले प्रश्न गर्छन, एउटा राजनैतिक दलको रुपमा रहेको राप्रपा नेपलले यो धार्मिक विषलाई किन उठाएको छ । तर, बुझ्नु जरुरी छ कि नेपालको हिन्दु राष्ट्रको पहिचान केबल धार्मिक विषय मात्र होइन, यो पुजा आराधान गर्न पाउने हक र अधिकारको विषय मात्र होइन । यो हाम्रो पहिचान, एकता, संस्कृति र राष्ट्रिय अस्तित्वसंग गांसएिको विषय हो । नेपाल विश्वका महान धर्म र संस्कृतिहरुको उदगमस्थल हो । सनातन धर्म संस्कृति र परम्पराको आलोकमा आयुर्वेद, ब्रम्हाण्ड विज्ञान, ज्योतिष शास्त्र, योग जस्ता मान्यता र अभ्यासहरु प्रादुर्भाव भएको हो । सनातन धर्म विश्वको सबैभन्दा प्राचिन, समृद्ध र गौरवशाली मान्यता हो । यो मान्यताको भावभुमी नेपाल हो । समय काल अनुसार परिमार्जन गर्दै यो मान्यताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । यही कर्तव्यको निर्वाहका निम्ति निहित राप्रपा नेपालले सर्वधर्म र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको पक्षमा आवाज उठाएको हो । राजनीतिक स्वार्थ वा चुनावमा अल्पसंख्यको संगठित भोट पाईन्छ भन्ने लोभमा पहिचान, एकता र राष्ट्रियतासँग गाँसिएको विषयमा मौन रहनु वेईमानी मात्र होईन राष्ट्र प्रतिको गद्दारी पनि हो ।

हामी नेपालमा हिन्दुराष्ट्रको संवैधानिक पुनर्स्थापना मात्र होइन, नेपालको आर्थिक विकास र समृद्धि तथा व्यक्ति, परिवार, समाज र राज्य संचालनको धरातल र आदर्श समेत “सम्बर्द्धनवाद” हुनुपर्दछ भन्ने बिश्वास गर्दछौँ ।


No comments: