Wednesday, August 3, 2022

"ईडनबरामा नेपाली विरताको सम्मान"




 "ईडनबरामा नेपाली विरताको सम्मान"

-कमल थापा

केही दिनदेखि बेलायत भ्रमणमा रहेको छु। यसैबिच हिजो स्कटल्याण्डको राजधानी ईडनबरा स्थित प्रख्यात “ईडनबरा क्यासल” हेर्ने अवसर प्राप्त भयो। उक्त क्यासल भित्र रहेका विभिन्न ऐतिहासिक सामाग्रि र स्तम्भहरु मध्य एक महत्वपूर्ण आकर्षण ‘युद्ध संग्रहालय’ पनि रहेछ। 

ब्रिटिश साम्राज्यसँग सन् १८१४ देखि १८१६ सम्म नेपालले युद्ध लडेको कारण उक्त युद्ध संग्रहालयमा नेपाल वारे केही सामग्री छन् कि भन्ने उत्सुकताको कारण म स्वभाविकरुपले संग्रहालय तर्फ आकर्षित भएँ। 

हामी नेपालीको निम्ति अंग्रेजसँगको सो युद्धको ऐतिहासिक महत्व रहेको छ । सो युद्ध नेपाली ईतिहासको अविस्मरणीय घटना हो । यही युद्धको परिणामस्वरुप नेपालले करिव एकतिहाइ आफ्नो भूभाग गुमाउनु परेको तितो सत्य स्वाभिमानी नेपालीको मनमस्तिष्कमा अंकित रहने गरेको छ ।

राष्ट्रनिर्माता श्री ५ पृथ्विनारायण शाहको नेतृत्वमा शुरु भएको नेपाल एकिकरण अभियान फैलिँदै जाँदा कालान्तरमा नेपालको पश्चिम सिमाना  हालको भारतीय भूमी कुमाउ, गढवाल सहित सतलज नदीसम्म पुगेको थियो। सन् १८०९ सम्ममा नेपालको सिमा पूर्वमा टिस्टा र पश्चिममा सतलज सम्म फैलिएको थियो। पश्चिम तर्फको एकिकरण अभियानको नेतृत्व अमरसिंह थापाले गरेका थिए । 

तिव्र गतिमा नेपाल राज्यको विस्तार हुँदै गएको देखेपछि तत्कालीन ब्रिटिश साम्राज्यले सन् १८१४ मा बुटवल स्युराजको सानो भूभागको सामान्य विवादलाई वहाना बनाएर नेपालसँग युद्ध शुरू गरेको थियो। ‌मुलुकको सार्वभौमिकता र स्वतन्त्रता रक्षाका निम्ति अंग्रेजले थोपरेको युद्ध लड्नु वाहेक नेपालसँग अर्को विकल्प थिएन। करिव दुई वर्ष लामो युद्धकालमा नेपालले ब्रिटिश साम्राज्यसँग डटेर सामना गर्‍यो।

नेपाली फौजको तुलनामा अंग्रेजी फौज संख्यामा पनि धेरै बढी र आधुनिक हातहतियारले समेत सुसज्जित रहेको थियो। तर, नेपाली पक्षको रणकौशल तुलनात्मकरुपले उच्च स्तरको रहेको तथ्यलाई त्यसबेला शत्रुपक्षले पनि उदाहरणीय ठानेको पाइन्छ । सन् १८१४ मा शुरुभएको युद्ध १८१५ मार्चदेखि चरमोत्कर्षमा पुगेको थियो । उक्त घमासान युद्धको क्रममा नेपालको पश्चिमी सिमा क्षेत्रमा १८१५ अप्रिलमा नेपाली सेनाका एक बहादुर सेनापति हस्तिदल शाहीले वीरगति प्राप्त गरे । त्यस लगत्तै मलाउँको किल्लाको रक्षाका निम्ति तैनाथ त्रिहत्तर वर्षका सरदार भक्ती थापाले अद्वितीय साहस र विरता प्रदर्शन गर्दै सहादत प्राप्त गरे । भक्ति थापा  देउथलको युद्धमा लड्दा लड्दै छातीमा गोलीलागी दिवंगत भएका थिए ।

यिनै भक्ति थापा संलग्न युद्धको सन्दर्भलाई उल्लेख गर्दै अंग्रेजी सेनाका कमाण्डर डेभिड अक्टरलोनीले नेपाली सेनाको विरता र साहसको मुक्तकण्ठले प्रशंसा गरेको विषय ईडनबरा स्थित “युद्ध संग्राहलय”मा उल्लेख रहेको पाँउदा मन रोमांचित भयो । बहादुर नेपाली पुर्खाहरु प्रतिको सम्मानले मन प्रफुल्लित भयो । उक्त संग्राहलयमा नेपाली विरताको प्रशंसासहित गोर्खाली विरताको प्रतिक खुकुरी पनि सँगै राखिएको थियो ।

अक्टोरलोनी रणकौशलमा पारङ्गत एक विर अंग्रेजी योद्धा थिए। आफ्नो विजय पश्चात उनले नेपाली सेनाको साहस, विरता र युद्ध कौशलको खुलेर प्रशंसा गरे। भक्ति थापा नेतृत्वको फौजले देखाएको रणकौशलको उनले मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, विर गोर्खालीहरुलाई अंग्रेजी सेनामा सामेल गराउन पाए भारतमा एकछत्र राज गरिरहेको “ईष्ट ईण्डिया कम्पनी”  लाई बल पुग्नुका साथै विश्वमा ब्रिटिश साम्राज्यको अकण्टक राज्य कायम हुने सोचाई समेत बनाए। फलस्वरूप युद्ध बन्दी बनाईएका गोर्खालीहरुलाई आफ्नो सेनामा प्रवेश गर्न उनले अभिप्रेरित गरे। साथै, भविष्यमा स्थायीरुपमा ब्रिटिश साम्राज्यको सेनामा गोर्खा भर्ती गर्न आफ्नो सरकारलाई सुझाव समेत दिए। अक्टोरलोनीले पछि बेलायती सेनामा महारथी दर्जा पनि प्राप्त गरे।

 उनै अक्टोरलोनीको सुझावलाई कार्यान्वयन गर्दै त्यसबेलाको “ईष्ट ईण्डिया कम्पनी” र पछि गएर ब्रिटिश सेनामा नेपाली नागरिकहरु भर्ना हुने परम्परा शुरु भएको हो। अनेकौ आरोह अवरोह र विवादका वावजुद दुई सय वर्ष भन्दा लामो समयदेखि यो परम्परा अविच्छिन्नरुपमा अहिले पनि जारी रहेको छ। करिव चार हजारको संख्यामा हाल पनि नेपाली युवकहरुले ब्रिटिश सेनामा काम गरिरहेका छन् । सुगौली सन्धि सँगै कायम भएको नेपाल र संयुक्त अधिराज्य विचको दौत्य सम्बन्धले पनि दुईसय वर्ष पुरा गरेको छ।

यसप्रकार संयुक्त अधिराज्यको स्वतन्त्रता र अखण्डताको रक्षाका निम्ति नेपाली नागरिकहरुले रगत पसिना बगाउने र ज्यान नै समेत गुमाउने गरि भैरहेको कार्य प्रति कतिपय जागरुक नेपालीहरूमा असंतोष र आक्रोश रहँदै आएको छ। कतिपयले आफ्नो देशका युवाहरुलाई ‘भाडाका सिपाही’को रुपमा पठाउने यो परम्पराको कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको बेईज्जत भएको समेत ठानेका छन्। निश्चय पनि यो राष्ट्रिय वहसको गंभीर विषय हो। 

पहिलो विश्वयुद्धमा नव्वे हजार र दोस्रो विश्वयुद्धमा एकलाख बिस हजार नेपालीहरु बेलायती सेनाको तर्फबाट सहभागी भएका थिए। नेपाल आफै दुवै विश्वयुद्धमा संलग्न थिएन, तर ति दुई युद्धमा गरेर चालिस हजार भन्दा बढी नेपालीले जीवन आहुति दिए। हजारौ घाईते र अपाङ्ग भए। 

यसरी संयुक्त अधिराज्यको निम्ति नेपाली नागरिकहरुले पुर्‍याएको योगदानको बदलामा ब्रिटिश सेनामा कार्यरत सैनिकहरुले अझै पनि पूर्ण न्यायोचित व्यवहार पाएका छैनन्। धेरै लामो समयसम्म एकै प्रकारको कामका वावजुद बेलायती र नेपालीका विचमा तलव, भत्ता र सुविधामा विभेद कायम थियो। हाल धेरै सुधार भएता पनि अझै बेलायती सेनामा कार्यरत नेपालीहरु आफ्नो न्यायोचित समान हक र अधिकारका निम्ति संघर्षरत रहेका छन्।

अर्कोतर्फ नेपालसँगको सम्बन्धलाई बेलायतले कुनै विशेष महत्व र प्राथमिकता दिएको पाईंदैन।सम्बन्ध नितान्त औपचारिकतामा सिमित रहेको छ । विगतमा भौतिक पुर्वधारको क्षेत्रमा केही योगदान रहेता पनि अहिले आएर नेपालको आर्थिक विकासमा संयुक्त अधिराज्यको भुमिका नगण्य रहेको छ। नेपाल र संयुक्त अधिराज्य बिचको व्यापारको आयातन पनि साह्रै सानो छ ।

त्यति मात्र होइन, बेलायतीहरुले नेपाल प्रवेशको निम्ति विमानस्थलमा नै ‘भिसा अर्थात प्रवेशाज्ञा’ पाउन सक्छन्,तर बेलायत भ्रमण गर्न चाहने नेपालीहरुले त्यस्तो सुविधाको कुरा त परै जाओस् काठमाडौँबाट ‘प्रवेशाज्ञा’ पाउन पनि सक्दैनन्। ‘प्रवेशाज्ञा’को लागि नेपालीको राहदानी दिल्ली वा टर्की पठाईन्छ। लामो समयको प्रतिक्षा पछि मात्र ‘भिसा’ पाउने वा नपाउने ठेगान लाग्छ। 

अक्टोरलोनीले नेपालीहरु प्रति देखाएको सम्मान तथा नेपाली युवाहरुले बेलायती महारानीको सेवा र संयुक्त अधिराज्यको सार्वाभौमिकताको रक्षाको निम्ति गरेको योगदान अहिले ग्लानि र उपहासमा परिणत भएजस्तो देखिन्छ। ईडनबराको संग्रहालय भ्रमणको बेला मलाई यस्तै अनुभूति भयो। 

नेपाल र संयुक्त अधिराज्यका बिचको सम्बन्धलाई सदृढ तुल्याउन तथा समयानुकुल नयाँ उचाईमा पुराउन दुवै देशका सरकार तथा निजि क्षेत्रले समेत विशेष ध्यान दिनु आबश्यक छ ।

२०७९ साउन १९
३ अगष्ट २०२२
न्युक्यासल, बेलायत

1 comment:

Anonymous said...

Great analysis ,Thank you Leader Thapa.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵