Sunday, April 12, 2026

प्रजातन्त्र निःशुल्क पाइने दिवाभोजन होइन

प्रजातन्त्र निःशुल्क पाइने दिवाभोजन होइन


२०३२ सालतिरको कुरा हो । म त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको दोस्रो वर्षमा अध्ययनरत थिएँ । तिनताका नयाँ सडकमा रहेको ‘अमेरिकन लाइब्रेरी’ ले विद्वान् प्राध्यापकहरु बोलाएर विभिन्न समसामयिक विषयमा प्रवचन कार्यक्रम आयोजना गर्ने गथ्र्यो । अवसर मिल्दा म त्यस्ता प्रवचन सुन्न जाने गर्थें । यस्तै एक प्रवचन कार्यक्रममा एक जना अमेरिकी प्राध्यापकले प्रजातन्त्रको विश्वव्यापी अभ्याससम्बन्धी व्याख्यानमा ‘प्रजातन्त्र निःशुल्क पाइने दिवाभोजन होइन’ भन्ने भनाइ मेरो मनमस्तिष्कमा अहिले पनि जरा गाडेर बसेको छ ।

‘प्रजातन्त्र निःशुल्क पाइने दिवाभोजन होइन’, यो लोकप्रिय उक्ति पहिलो पटक कसले प्रयोग ग¥यो भन्ने यकिन छैन । उन्नाइसौं शताब्दीका प्रसिद्ध उद्योगपति तथा समाजसेवी जोन रस्किनले यो भनाइ प्रयोग गरेपछि भने यसको निकै चर्चा हुन थाल्यो । नोबेल पुरस्कार विजेता मिल्टन फ्राइडम्यानले पनि आर्थिक विषयसँग जोडेर यो उक्ति प्रयोगमा ल्याएका थिए । हिजोआज प्रजातन्त्रको अभ्यासमा देखिएका असहज परिस्थितिको व्याख्या र विश्लेषण गर्दा यो भनाइ उद्धरण गर्ने चलन चलेको छ ।

साधारणतः कुनै पनि वस्तु, सेवा वा विचार सित्तैँमा पाइँदैन । त्यसका लागि केही मूल्य चुकाउनुपर्ने हुन्छ । भगवान्को आशीर्वाद पाउन पनि भक्ति वा कर्म गर्नु अनिवार्य रहन्छ । अमेरिकामा एकताका कतिपय रेस्टुराँ मालिकहरुले आना पेय पदार्थको बिक्री बढाउन ‘लन्च’ निःशुल्क दिने गर्थे । निश्चित मूल्यको पेय पदार्थ खरिद गरेमा खानाको पैसा तिर्नु पर्दैनथ्यो । पेय पदार्थको बिक्रीबाट प्राप्त आयबाट खानाको पैसा असुल हुन्थ्यो । त्यसैले ‘लन्च’ निःशुल्क भनिए तापनि घुमाउरो पाराले पेय पदार्थबाट व्यापारीले आफ्नोे पैसा उठाइहाल्थे ।

वर्तमान विश्व राजनीतिमा प्रजातन्त्रलाई तुलनात्मक रुपले उत्कृष्ट शासन प्रणाली मानिन्छ । कतिपयले प्रजातान्त्रिक मान्यतालाई विश्वविजेता विचार पनि भन्ने गर्छन् । तर, प्रजातन्त्र सजिलै सफल हुँदैन, यसको प्रतिफल सहजै प्राप्त हुँदैन । त्यसका निम्ति न्यूनतम मूल्य चुकाउनुपर्छ भन्ने धारणा उपरोक्त उक्तिको आशय हो ।

विद्वान् विश्लेषक फ्रान्सिस फुकुयामाले सन् १९८९ मा एक चर्चित निबन्ध ‘दि एन्ड अफ हिस्ट्री’ लेखे । त्यसमा उनले प्रजातन्त्रको विजयलाई मानवजातिको वैचारिक विकासक्रमको चरमोत्कर्षका रुपमा व्याख्या गरेका छन् । पछि उनले यही शीर्षकमा एक पुस्तक नै लेखेका छन् । उनको विचारमा ‘पश्चिमा उदारवादी प्रजातन्त्रको विश्वव्यापीकरण मानवनिर्मित प्रणालीको अन्तिम रुप हो’ ।

नोबेल पुरस्कार विजेता अर्का विद्वान् अमत्र्य सेनका शब्दमा ‘प्रजातन्त्रको विश्वव्यापी मान्यता बिसौं शताब्दीको सर्वाधिक उल्लेखनीय उपलब्धि’ हो । सेनले उपरोक्त विचार सन् १९९७ मा व्यक्त गरेका हुन् । फुकुयामा र सेनजस्तै थुप्रै विचारकहरुले त्यस अवधिमा प्रजातन्त्रको महङ्खवबारे लेखेका छन् । उनीहरुका ती विचारहरु शीतयुद्धको अन्त्य र सोभियत सङ्घ विघटनको पृष्ठभूमिमा व्यक्त भएका हुन् ।

यहाँनेर प्रजातन्त्रको परिभाषा, स्रोत र विश्वव्यापी अभ्यासबारे संक्षिप्त चर्चा गर्नु प्रासङ्गिक हुनेछ । त्यस प्रयोजनका निम्ति प्रजातन्त्रको परिभाषा र क्षेत्रबारे पनि संक्षिप्त विश्लेषण गर्नु उपयोगी होला । ‘प्रजा’ र ‘तन्त्र’ दुई शब्द मिलेर ‘प्रजातन्त्र’ बनेको छ । त्यसैले सम्भवतः ‘जनताको शासन’ भन्ने मान्यता नै प्रजातन्त्रको सटीक र सरल परिभाषा हो । जनताको शासनको मान्यता र अभ्यासले इतिहासका विभिन्न कालखण्ड पार गर्दै वर्तमान अवस्थामा आइपुगेको छ । जनताले शान्तिपूर्ण विधि र प्रक्रियाबमोजिम सरकार बनाउने र आवश्यकताअनुरुप परिवर्तन गर्न सक्ने व्यवस्था प्रजातन्त्र हो ।

वर्तमान युगमा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कनले सन् १८६३ मा गेटिसबर्गमा दिएको भाषणमा उल्लिखित ‘जनताका निम्ति जनताद्वारा जनताको शासन’ भन्ने विचार प्रजातन्त्र बुझ्ने सबैभन्दा उपयुक्त परिभाषा मानिन्छ ।

प्रजातान्त्रिक विचार र व्यवस्थाको उद्भव कहाँबाट, कसरी भयो भन्नेबारे लामो बहस गर्न सकिन्छ । यस सम्बन्धमा विद्वान्हरुका फरकफरक मत पाइन्छन् । प्रचलित मान्यताअनुसार इ.पू. ५०७ मा एथेन्सका प्रसिद्ध विचारक तथा नेता क्लेइस्थेनसले पहिलो पटक ‘प्रजातन्त्र’ शब्द प्रयोग गरेको मानिन्छ । उनले आपूmले प्रयोगमा ल्याएको व्यवस्थाको नामकरण ‘डेमोक्रेसिया’ गरेका थिए । एथेन्स र अट्टिकाजस्ता ग्रिक ‘सिटी स्टेट’ मा करिब दुई शताब्दी प्रचलनमा रहेको यो व्यवस्था प्रत्यक्ष प्रजातन्त्रको पहिलो प्रयोग थियो । कतिपयले क्लेइस्थेनसलाई प्रजातन्त्रका जन्मदाता पनि भन्छन् । ग्रिक ‘सिटी स्टेट’ को प्रत्यक्ष शासन प्रणालीलाई आधुनिक प्रजातन्त्रको प्रारम्भिक अभ्यास भनिन्छ । यद्यपि कतिपय पछिल्ला अध्ययन–अनुसन्धानले एथेन्सभन्दा अघि पनि इजिप्ट र त्यस क्षेत्रको ‘मेसोपोटामियाली’ सभ्यताकालमा प्रत्यक्ष जनशासनको अभ्यास भएको देखाएका छन् । आधुनिक प्रजातन्त्र र राज्यव्यवस्थाको सिद्धान्त एवं दर्शनको विकासक्रममा ग्रिक विद्वान्हरु सोक्रेटस (इ.पू. ४७०–३९९), प्लेटो (इ.पू. ४२७–३४८) र अरिस्टोटल (इ.पू. ३८४–३२२) को भूमिका महङ्खवपूर्ण रहेको छ ।

यसै गरी शासन व्यवस्थामा जनसहभागिता कायम गर्ने सन्दर्भमा पूर्वीय दर्शन र प्राचीन वैदिक सभ्यतालाई प्रजातन्त्रको मूल स्रोत मान्नु अत्युक्ति हुने छैन । त्रेता युगमा अयोध्याका राजा रामले स्थापित गरेको शासन व्यवस्थालाई पूर्वीय संस्कृतिमा सर्वोत्कृष्ट जनसहभागितामूलक शासन मानिन्छ । त्यही कारण पनि आदर्श राज्यप्रणालीको बयान गर्नुपर्दा ‘रामराज्य’ को उदाहरण दिने चलन अद्यापि कायम छ ।

वैदिक कालदेखि नै दक्षिण एसियाका विभिन्न राज्यहरुमा प्रजातान्त्रिक शासनको अभ्यास हुँदै आएको इतिहासबाट प्रमाणित हुन्छ । करिब पाँच हजार वर्षअघि वेदव्यासद्वारा सङ्कलित ‘ऋग्वेद’ मा जनताको शासन प्रणालीका सिद्धान्तहरु समेटिएको पाइन्छ । ‘ऋग्वेद’ मा चालिस पटक ‘जनतन्त्र’ उल्लेख भएको पाइन्छ । यस आधारमा वैदिक कालको शासनप्रणालीमा ‘सभा’, ‘समिति’, ‘राजा’, ‘प्रजा’ जस्ता संस्थाहरुको प्रयोग र अभ्यास भएको थियो । ती संस्थाहरुमा प्रजाले आफ्नो भावना र चाहनाहरु व्यक्त गर्ने र बहुमतको आधारमा निर्णय गर्ने परम्परा कायम थियो । प्रजातन्त्रको मेरूदण्ड मानिने ‘बहुलवाद’ वेदको देन हो । पाँच हजार वर्षअघिदेखि प्रचलित ‘एकं सत् विप्रा बहुधा वदन्ति’ को मान्यताले आधुनिक प्रजातन्त्र सुदृढ तुल्याउन समेत मद्दत गरेको छ ।

द्वापर युगको घटनामा आधारित महाभारत महाकाव्यको शान्तिपर्वमा सर्वसाधारण जनताको सभालाई ‘जनसदन’ उल्लेख गरिएको छ । भगवान् बुद्धको समयावधिमा लिच्छवि, वैशाली, मल्ल, मद्रक, कम्बोज आदि राज्यहरुमा जनतन्त्रको अभ्यास भएका उदाहरणहरु छन् । उल्लिखित प्रसङ्गबाट दक्षिण एसियामा प्राचीन कालदेखि नै प्रजातन्त्रका मूल्य र मान्यता प्रयोगमा थिए । दक्षिण एसियाली भूखण्डका निम्ति प्रजातन्त्र नवीनतम मान्यता होइन । यद्यपि विभिन्न कालखण्डमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्यमान्यता र त्यसको अभ्यासमा विकृति, विसङ्गति र अपभ्रंशहरु जोडिँदै आए । कालान्तरमा दक्षिण एसियाका अधिकांश राज्यहरु औपनिवेशिक पन्जामा पर्दै गए । लामो समय कायम रहेको औपनिवेशिक एवं निरङ्कुश शासन व्यवस्थामा प्राचीन र वैदिक सभ्यतामा आधारित प्रजातान्त्रिक मान्यताको व्यापक भ्रष्टीकरण हुँदै गयो । पूर्वीय दर्शन र वैदिक कालमा आधारित शासन व्यवस्थाका आदर्श र मान्यताहरु ओझेलमा पर्दै गए ।

अन्ततः प्रजातन्त्र भनेको पश्चिमबाट आएको आधुनिक शासन प्रणाली हो भन्ने सोचाइले बलियो जरा गाड्न पुग्यो । कालान्तरमा पश्चिमका विभिन्न मुलुकहरुमा भएका राजनीतिक उतारचढावले समेत आधुनिक प्रजातन्त्रको उत्थानमा ठूलो योगदान पु¥याएका छन् । इटाली, संयुक्त अधिराज्य, फ्रान्स र अमेरिकामा भएका क्रान्ति र परिवर्तन प्रजातान्त्रिक शासन व्यवस्थाको जग खडा गर्ने ऐतिहासिक क्रममा कोसेढुङ्गाका रुपमा रहेका छन् ।

('संवर्धनवाद' पुस्तकबाट साभार)




No comments: