Wednesday, April 15, 2026

महेन्द्र राजमार्ग निर्माणमा विदेशी सहायता आउनुपूर्वको कथा

महेन्द्र राजमार्ग निर्माणमा विदेशी सहायता आउनुपूर्वको कथा


२०६५ सालमा गणतन्त्र घोषणा भएपछि राजाहरूको नाममा रहेका राजमार्ग, संस्था र भवनहरूसँग जोडिएका नामहरू हटाउने पुर्वाग्रही निर्णय सरकारले गरेको थियो । गत २०८२ फागुन २१ को निर्वाचन पछि गठन भएको बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले त्यस्ता पुर्वाग्रही निर्णयहरू सच्याउने प्रशंसनीय अठोट गरेको छ । यसैक्रमा सरकारद्वारा हालै सार्वजनिक गरिएको शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा पूर्व–पश्चिम लोकमार्गको नाम पुरानै ‘महेन्द्र राजमार्ग’ कायम गर्ने प्रस्ताव गरिएको छ । यो विषय अहिले सर्वाधिक चर्चामा रहेको छ ।

यसै बिच महेन्द्र राजमार्ग निर्माणमा विदेशी सहायता आउनुपूर्वको कथा समेटिएको सन्दर्भ मेरो बुबाको सम्झनामा मैले लेखेको 'एक पटकको सैनिक, जीवनभरको सैनिक' पुस्तकमा उल्लेखित प्रसङ्ग पनि यस विषयमा रुचि राख्नेहरूका लागि उपयोगी हुन सक्छ भन्ने ठानि उक्त पुस्तकको सान्दर्भिक अंश यहाँ प्रस्तुत गरेको छु । सन्दर्भ यस्तो छ-

वि.सं. २०१८ सालमा ओखलढुङ्गामा वडाहाकिमको जिम्मेवारी पूरा गरी गृह मन्त्रालयमा हाजिर भएको केही समयपछि राजा महेन्द्रबाट मेरो बुबा कर्णेल छत्रबहादुर थापालाई दर्शनभेटका निम्ति दरबारमा बोलाइयो। ओखलढुङ्गामा बुबाबाट भएको कामको राजाबाट उच्च प्रशंसा भयो। साथै, देश विकासका निम्ति भौतिक पूर्वाधार र त्यसमा पनि यातायातको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै राजाले मेची-महाकाली जोड्ने राजमार्ग निर्माण गर्ने आफ्नो योजना बताए। त्यसबेलासम्म उक्त राजमार्ग निर्माणका निम्ति वैदेशिक सहायता जुटिसकेको थिएन। राजा महेन्द्रले उक्त बाटोको महत्त्वलाई विचार गरेर नेपाली श्रम र लगानीबाट निर्माण कार्य तत्काल सुरु गर्ने सोच बनाएका थिए। तदनुरूप मेचीदेखि महाकालीसम्मको भागलाई दुई खण्डमा विभाजित गरी तत्कालै निर्माण कार्य सुरु गर्ने तथा मेचीदेखि नारायणी नदीपारि गैँडाकोटसम्मको पूर्वी सेक्टरको ओभरअल कमान्डरका रूपमा बुबालाई नियुक्त गरेको राजाबाट जानकारी दिइयो। गैँडाकोटदेखि महाकालीसम्मको पश्चिम सेक्टरको जिम्मेवारी जर्नेल बलदेव शमशेर राणालाई दिइएको थियो। यति महत्त्वपूर्ण कार्यका निम्ति राजाबाट विश्वास प्राप्त भएकोमा स्वभावतः बुबा अत्यन्त गौरवान्वित हुनुभयो। राजामा श्रद्धापूर्वक कृतज्ञता व्यक्त गरी आफ्नो नयाँ जिम्मेवारीलाई कसरी सफल तुल्याउने भन्ने सोच्दै बुबा घर फर्कनुभयो। उहाँको मनमस्तिष्कमा राजा महेन्द्रको राष्ट्र निर्माणको उत्कट चाहनाका लहर पनि घुम्दैफिर्दै देखा परे। पूर्व-पश्चिम राजमार्गको पूर्वी सेक्टर निर्माणको जिम्मेवारी पाएसँगै सुरु भयो बुबाको जीवनको अर्को नयाँ अध्याय। यस आयोजनाको शिलान्यास स्वयं राजा महेन्द्रबाट मेची अञ्चल, झापा जिल्लाको चन्द्रगढीमा हुने तय भयो। त्यस बखत विराटनगरमा हवाईजहाज चल्न सुरु भइसकेको थियो। त्यसर्थ चन्द्रगढी पुग्न हवाईजहाज वा हेलिकोप्टरबाट जाने सुविधा बुबालाई थियो। तर, बुबाले मोटरबाटै त्यसतर्फ जाने निधो गर्नुभयो। कतिपयका लागि यो हास्यास्पद सोचाई थियो। त्यसबेलासम्म नेपालकै बाटो भएर विराटनगर वा झापासम्म कसैले मोटर चलाएको थिएन। किनभने काठमाडौँबाट तराई जोड्ने एकमात्र मोटर बाटो त्रिभुवन राजपथ थियो, जुन वीरगन्ज पुगेर टुङ्गिन्थ्यो। हेटौँडा वा वीरगन्जबाट पूर्व-पश्चिम जाने मोटर बाटो बनेकै थिएन। स्थानीय स्तरमा केही कच्ची बाटाहरू भने थिए। एकपटक अठोट गरिसकेपछि पछि हट्ने बुबाको स्वभाव थिएन। फलस्वरूप एक बिहान शुभ साइत हेरेर चन्द्रगढीतर्फ बुबाको यात्रा सुरु भयो। बुबालाई सरकारले त्यसबेला सर्वाधिक चल्तीमा रहेको साथै, अत्यन्त बलियो मानिने रसियन जिप दिएको थियो। सौभाग्यवश, त्यो यात्रामा मैले पनि सहभागी हुने मौका पाएँ। हेटौँडासम्मको पहिलो दिनको यात्रा सामान्य रह्यो। त्यसपछिका यात्राहरू भने साहसिक, रोमाञ्चक र अविस्मरणीय रहे। म त्यस बखत नौ वर्षको थिएँ। त्यो यात्राको सम्झना अहिले पनि मेरो मानसपटलमा ताजा नै रहेको छ। हेटौँडा-वीरगन्ज खण्डको आधाभार भन्ने स्थानबाट हाम्रो यात्रा पूर्वतर्फ मोडिएको थियो। आधाभारबाट बागमती नदी छिचोल्न त्यस बखतको डरलाग्दो घना चारकोसे झाडी पार गर्दै जानुपर्थ्यो। जङ्गलमा बाघ, भालु र जङ्गली हात्तीहरू जस्ता जनावरहरू आक्कलझुक्कल देखिन्थे। नेपाली आफैँले पूर्व-पश्चिम राजमार्ग निर्माण गर्ने प्रारम्भिक सोचअनुरूप यो राजमार्ग निर्माणमा भूपू सैनिकहरूलाई प्रयोग गर्ने राजा महेन्द्रको चाहना थियो। फलस्वरूप भूपू सैनिकहरू समावेश गरी निर्माण टोलीहरू बनाइएका थिए। यसै क्रममा केही समय अगाडि आधाभारमा खडा गरिएको क्याम्पमा रहेको टोलीले झाडीहरू सफा गरेर बागमतीसम्मको धुले ट्य्राक खोल्ने काम गरिसकेको हुँदा त्यो असजिलो खण्डको यात्रा केही कठिनाइ भोग्दै पार गरियो। त्यसपछि मलङ्गवा, जनकपुर हुँदै हामी जलेश्वर पुग्यौँ। त्यसबेला जलेश्वर जनकपुर अञ्चलको सदरमुकाम थियो र त्यहाँको अञ्चलाधीश दिलबहादुर श्रेष्ठ हुनुहुन्थ्यो। सुनसरीका लोकप्रिय नेता दिलबहादुर श्रेष्ठ स्वतन्त्र उम्मेदवारका रूपमा २०१५ सालको आम चुनावमा वीपी कोइरालाका विरुद्ध खडा हुनुभएको थियो। राजा महेन्द्रको कदमलाई साथ दिएपश्चात् उहाँ अञ्चलाधीश हुँदै पछि पटक-पटक मन्त्री समेत हुनुभएको थियो। दिलबहादुर श्रेष्ठको आतिथ्य ग्रहण गरेर हाम्रो यात्रा पूर्वतर्फ जारी रह्यो। जलेश्वरपछिको मुकाम सिराहा थियो। सिराहासम्म पुग्न ठाउँ-ठाउँमा कच्ची बाटाहरू भएकाले त्यति कठिन भएन। कतिपय स्थानमा बयलगाडा मात्र चल्ने अप्ठ्यारा बाटाहरू थिए। केही ठाउँमा खेतका आलीहरू काटेर बाटो खोल्दै हिँड्नुपर्ने हुन्थ्यो। हाम्रो भ्रमण टोलीमा आधा दर्जन भूपू सैनिक कामदारहरू पनि समावेश भएको हुँदा यदाकदा झाडी पन्छाउनुपर्दा वा अस्थायी बाटो खन्नुपर्दा उनीहरू झटपट गाडीबाट उत्रिएर फुर्तिसाथ आफ्नो काम सम्पन्न गर्थे। सिराहामा हामी त्यहाँका नाम चलेका जमिन्दार ईमबहादुर पाण्डेको पाहुना भयौँ। उनी हाम्रो नाता पनि पर्थे। पाण्डे परिवारको आत्मीय आतिथ्यपश्चात् पूर्वतर्फको यात्रा जारी रह्यो। राजविराज हुँदै हनुमाननगर पुगियो, त्यसको केही समयपछि हाम्रो आँखाअगाडि लमतन्न फैलिएर बगिरहेको विशाल सप्तकोसी नदी देखियो। त्यसबेलासम्म कोसी नदीमा पुल बनिसकेको थिएन। नदी वारपार गर्न विभिन्न साइजका ढुङ्गाहरू नदी किनारमा लाम लागेर बसेका थिए। मेरो बाल आँखाले सिङ्गो सप्तकोसी कथामा सुनेको सागर जस्तै विशाल र शान्त देखिरहेको थियो। पानी धमिलो थियो। त्यति ठूलो जलभण्डार मैले कहिल्यै देखेको थिइनँ। उत्तर र दक्षिण फैलिएको कोसीको पूर्वी किनार मेरो आँखाले छिचोल्न सकिरहेको थिएन। यत्रो विशाल नदी कसरी तर्ने होला, बिचमा खसियो भने के होला, पानीमा गाडी कसरी पार लगाउने होला! यस्ता बालजन्य कौतूहलता एकैपटक मेरो मानसपटलमा खेलिरहेका थिए। केही बेरमा दुई ठुला साइजका ढुङ्गाहरू बलियोसँग बाँधेर सानो चौर जत्रै प्लेटफर्म बनाइयो। सो प्लेटफर्ममाथि ड्राइभरले सतर्कतापूर्वक हाम्रो जिपलाई चढाए। बुबाका निम्ति ढुङ्गामा एउटा कुर्सीको व्यवस्था गरियो, अरू भ्रमण टोलीका सदस्यहरू आ-आफ्ना ढङ्गले बसे। म र ड्राइभर भने जिपभित्रै बस्यौँ। पानीमाथि ढुङ्गा, ढुङ्गामाथि गाडी, गाडीभित्र हामी; मेरो लागि एक रोमाञ्चक र अविस्मरणीय यात्रा थियो त्यो। नदीको प्रवाहलाई पछ्याउँदै सुस्त गतिमा ढुङ्गा अघि बढ्यो। सायद आधा घण्टामा कोसी नदी तरेर पारि पुगियो। कोसी तरेर हामी सोझै विराटनगरस्थित अञ्चलाधीश निवास पुग्यौँ। त्यसबेला दामोदर शमशेर राणा कोसी अञ्चलाधीश हुनुहुन्थ्यो। अग्लो र खाइलाग्दो ज्यान भएका दामोदर शमशेरको व्यक्तित्व आकर्षक थियो। पढेलेखेका र खानदानी परिवारका दामोदर शमशेरको बोल्ने शैली, विचार, पोसाक र हाउभाउबाट म तुरुन्तै प्रभावित भएँ। दामोदर शमशेर विभिन्न अञ्चलहरूमा अञ्चलाधीश हुँदै पछि मन्त्री पनि हुनुभयो। कट्टर राजभक्त उहाँ पञ्चायतकालका एक सशक्त हस्ती हुनुहुन्थ्यो। विराटनगरपछिको हाम्रो यात्राको अन्तिम मुकाम चन्द्रगढी थियो। चन्द्रगढी पुग्नुपूर्व झापाको कन्काई नदीमा हाम्रो जिप फस्यो। अनेकौँ प्रयास गर्दा पनि गाडी निकाल्न सकिएन। अन्ततः बुबाले स्थानीय जनतासँग सहायता माग्नुभयो। स्थानीयवासीले गाउँमा रहेको हात्ती मगाए। हात्तीको खुट्टामा बाँधिएको डोरीले गाडी तानेर कन्काई नदी पार गरियो। त्यसपछि सोही साँझ हामी चन्द्रगढीस्थित नेपाली सेनाको ब्यारेकमा बास बस्न पुग्यौँ। चन्द्रगढी पुग्नेबित्तिकै बुबा स्थानीय अधिकारीहरूसँग राजाको सवारी र शिलान्यास समारोहको तयारीमा खटिनुभयो। कुनै पनि काम चुस्त-दुरुस्त हुनुपर्छ, हचुवा र झारा टार्ने हुनुहुन्न भन्ने बुबाको मान्यता थियो। त्यसमा पनि राजा सहभागी हुने कार्यक्रममा बुबा कुनै कसर छोड्न तयार हुनुहुन्नथ्यो। निर्धारित दिन र समय अगावै सबै तयारी पूरा भए। अब प्रतीक्षा थियो राजाको आगमनको। शिलान्यास हुने दिन बिहानको आकाश त्यति सफा थिएन। बादलले ढाकिएको हुँदा राजाको हेलिकोप्टर नआउने हो कि भन्ने चिन्ता बुबा र अन्य आयोजकहरूमा थियो। तर, बिस्तारै आकाश खुल्दै गयो अनि तोकिएको समयमा नै राजाको हेलिकोप्टर पश्चिम आकाशमा देखियो। समारोह हेर्न आएका जनतामा उत्सुकता बढ्दै गयो, आयोजकको अनुहारमा चमक देखिन थाल्यो। राजाको हेलिकोप्टर केही बेर आकाशमा चक्कर लगाएर हेलिप्याडमा अडियो। पञ्चकन्याबाट स्वागत भएपछि औपचारिक समारोह सुरु भयो। पहिले नै ताछतुछ पारेर तयार गरिएको जमिनमा राजा महेन्द्रले चाँदीको पिकले केही खने, अनि चाँदीकै साबेलले माटो उठाएर चाँदीकै कराईमा राखेर पूर्व-पश्चिम राजमार्ग निर्माणको औपचारिक शुभारम्भ भयो। तत्कालीन श्री ५ को सरकारले २०१९ बैशाख १ गते पूर्व-पश्चिम राजमार्गलाई 'महेन्द्र राजमार्ग' नामकरण गर्‍यो।


No comments: